+
+
Shares

चितवन मेडिकल कलेजले भन्यो– थप बिरामीको उपचार गर्न गाह्रो भयो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते ११:१९

२ जेठ, चितवन । चितवन मेडिकल कलेजले कोरोना संक्रमित थप बिरामीको उपचार गर्न गाह्रो भएको जनाएको छ । कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले चितवन मेडिकल कलेजको अक्सिजन सिलिण्डरको कोटा जिल्ला प्रशासन कार्यालयले घटाएपछि बिरामीको उपचार गर्न समस्या भएको बताए ।

अहिले कलेजको आफ्नो उत्पादन दैनिक ३ सय सिलिण्डर र बाहिरी उद्योगबाट थप ३ सय सिलिण्डरको खपत हुँदै आएको छ । ‘हामीले चार सय सिलिण्डर दैनिक माग गरेका हौं, तर जम्मा २५० मात्रै दिने कुरा भएपछि पहिल्यै जानकारी गराउन राम्रो हुने भएकाले जानकारी गरायौं,’ कलेजका प्रवन्ध निर्देशक डा. न्यौपानेले भने, ‘हामीलाई कम्तीमा पनि ३५० देखि ४ सय सिलिण्डर दैनिक चाहिन्छ ।’

उनले एम्बुलेन्समा राख्ने जत्रो सानो सिलिण्डरबाट काम चलाइएको दुखेसो गरे । ‘जिल्लाका मात्रै हैन, जिल्ला बाहिरका पनि गम्भिर प्रकृतिका कोरोना संक्रमितको उपचार चितवन मेडिकल कलेजले गर्दै आएको छ, गम्भिर बिरामी भएपछि बढी अक्सिजनको खपत पनि हुन्छ,’ डा. न्यौपानेले भने, ‘अक्सिजनको सप्लाई नदिने हो भने, हामीले थप संक्रमितको उपचार गर्न असहज हुन्छ, अस्पतालले मात्रै सबै कुराको जोहो गर्न कसरी सक्छ ?’

अहिले चितवन मेडिकल कलेजमा १७७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । ती मध्ये १४३ जना कोभिड आइसियूमा, ३७ जना भेन्टिलेटरमा छन् ।

चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले भरतपुर अस्पतालले क्षमता बढाएको, जिल्लाका अन्य अस्पतालहरुलेसमेत कोभिडका बिरामीको उपचार थालेकाले व्यवस्थापन गर्न समस्या भएको बताए ।

‘जिल्लामा जम्मा ४ सय सिलिण्डर उत्पादन हुन्छ, सबै एकैठाउँमा दिँदा त मुस्किल हुने नै भयो,’ एसपी अधिकारीले भने, ‘सकभर म्यानेज गर्न खोजिरहेका छौं, जिल्लाभन्दा बाहिरका ६२ प्रतिशत बिरामी छन्, आफ्नो मात्रै जिल्लाको व्यवस्थापन गरेर हामीलाई सुख भएन ।’ उनले अक्सिजनको उपलब्धताको बैकल्पिक व्यवस्थापनका पक्षमा पनि छलफल भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?