
फोटो शेयरिङ एप इन्स्टाग्राम सुरुवातदेखि नै मोबाइल फोन केन्द्रित एपको रुपमा रहेको छ । यद्यपि फेसबुक स्वामित्वको यो सोसल मिडिया प्लाटफर्मले आफ्नो दायरा विस्तार गर्दै डेस्कटपमा समेत उपलब्ध हुने भएको छ ।
प्रविधि क्षेत्रका विभिन्न तथ्यहरु अग्रीम रुपमा सार्वजनिक गर्दै आएका Alessandro Paluzzi का अनुसार निकट भविष्यमै इन्स्टाग्राम प्रयोगकर्ताले डेस्कटपमा वेब पेजबाटै सामाग्रीहरु पोस्ट गर्न सक्नेछन् ।
लोकप्रिय फोटो तथा भिडियो शेयरिंग प्लाटफर्म इन्स्टाग्रामका प्रयोगकर्ताहरुका लागि यो डेस्कटपबाटै इन्स्टाग्राम चलाउन सकिने नयाँ फिचर निकै उपयोगी हुने अपेक्षा गरिएको छ । हालसम्म प्रयोगकर्ताले इन्स्टाग्रामको मोबाइल एप तथा मोबाइलको वेब भर्सनबाट मात्र आफ्नो फिडमा पोस्ट गर्न पाउँदछन् ।
अलेसान्द्रो पालुज्जीले गरेको ट्वीटमा राखेका तस्वीरहरुबाट पनि प्रष्ट हुन्छ कि डेस्कटप भर्सनमा इन्स्टाग्रामको पूर्ण इन्टरफेस रहनेछ र त्यसमा प्रयोगकर्ताले आफ्नो अकाउन्टको फिडमा नयाँ पोस्ट गर्न तथा इडिट गर्न सक्नेछन् ।
उक्त नयाँ इन्टरफेसमा फोटो तथा भिडियो drag-and-drop गर्ने, क्रप गर्ने, फिल्टर एप्लाई गर्ने तथा अरु प्रयोगकर्तालाई ट्याग गर्ने लगायतका फिचर पनि रहेका छन् । साथै नयाँ फिचर सहितको डेस्कटप भर्सनको डिजाइन भाषा पनि मोबाइल एप भर्सनकै जस्तो हुने देखिएको छ ।
यस विषयमा इन्स्टाग्राम तथा उसको मातृ कम्पनी फेसबुकले कुनै आधिकारिक टिप्पणी गरेको छैन तथापि यो वर्षको अन्त्य सम्ममा इन्स्टाग्रामको उक्त नयाँ फिचर सुरुवात हुने अपेक्षा गरिएको छ ।
एजेन्सी
प्रतिक्रिया 4