
३ वैशाख, काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि बनेपा नगरपालिका एक साताका लागि अस्पताल र औषधिपसलबाहेकका सबै पसल र व्यवसायसमेत बन्द गरिएको छ ।
जेठ ४ गते राति १२ बजेदेखि जेठ १२ गतेसम्म राति १२ बजेसम्म नगरपालिकामा खाद्यान्न, तरकारी, दूध, फलफूलका पसल र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गर्न लागिएको नगरपालिका कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
नगरपालिकाले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ संक्रमण जोखिमका कारण बनेपा नगर क्षेत्रसमेत अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेकोले यस विषम परिस्थितिमा भाइरसको शृङ्खला तोडी संक्रमणलाई न्यूनिकरण गर्न मिति २०७८/०२/४ गते मंगलबार राति १२ बजेदेखि २०७८/०२/१२ गते बुधबार राति १२ बजेसम्म बनेपाल नगरपालिका क्षेत्रलाई पूर्ण रूपमा सिल गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
नगरपालिकाले जारी गरेको सूचना अनुसार घरबाहिर निस्कन पूर्णरुपमा रोक लगाइएको छ भने औषधि पसल, स्वास्थ्य संस्थाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।
यस्तै फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युतको सेवा दिने कार्यालय/संस्थाले न्यूनतम कर्मचारीमार्फत् स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सेवा दिन नगरपालिकाले आग्रह गरेको छ ।
यस्तै पत्रकारको हकमा सूचना विभागबाट जारी भएको पास भएको हुनु पर्ने र अन्य व्यक्तिको हकमा अत्यावश्यक भइ प्रशासन वा जनप्रतिनिधिहरुलाई जानकारी गराएर मात्रै निस्कन सूचनामा भनिएको छ ।
प्रतिक्रिया 4