Comments Add Comment

काभ्रे जिल्ला अदालतमा अनलाइन प्रविधिबाट मुद्दाको सुनुवाई

३ जेठ, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला अदालतले अनलाइनमार्फत मुद्दाको सुनुवाई सुरु गरेको छ । कोरोना भाइरस महामारीको समयमा अदालतमा मुद्दाका पक्ष र कानुन व्यवसायी आउनु नपर्ने गरी अनलाइनमार्फत नै मुद्दाको सुनुवाइ र बहस सुरु गरिएको श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए ।

अदालतले जुम आईडी सरकारी वकिल, कानुन व्यवसायी मुद्दाका पक्षहरुलाई उपलब्ध गराएर जुम मिटिङ मार्फत सुनुवाइ गरेको हो । वैशाख ३० गते पहिलो पटक भर्चुअल माध्यमबाट सुनुवाइ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाको म्याद थपको अनुमति प्रदान गरेको श्रेस्तेदार घिमिरेले बताए ।

वैशाख ३० गते नै अनलाइन बहसमार्फत प्रमुख जिल्ला न्यायाधीश सूर्यप्रसाद पराजुलीको इजलासले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा रोशी गाउँपालिका-११ का वीरबहादुर गोलेलाई ६ महिना कैद र २५ हजार जरिवानाको फैसला गरेको थियो ।

उक्त मुद्दामा अनलाइनमार्फत नै अभियुक्तको तर्फबाट कानुन व्यवसायी नवराज बडालले र सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता कपिल रोक्काले बहस गरेका थिए ।

कानुन व्यवसायी र सरकारी वकिललाई अनलाइन माध्यमबाटै मुद्दाको मिसिल उपलब्ध गराइदिने र उनीहरुले घरबाटै बहस गर्न सक्ने व्यवस्था गरिएको श्रेस्तेदार घिमिरेले बताए । ‘हामीले अनलाइनबाटै मिसिल पठाइदिन्छौं, अदालतको जुम आइडी दिन्छौं, कानुन व्यवसायीले घरबाटै बहस गर्न सक्नुहुन्छ’ उनले भने ।

वैशाख ३१ गते शरण दनुवारको जाहेरीमा नेपाल सरकार बादी रहेको मुद्दामा कान्छा दनुवारसहित ३ जना प्रतिवादी विरुद्ध दर्ता भएको ज्यान मार्ने उद्योग मुद्दाको थुनछेक बहस भएको थियो । जिल्ला न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासमा भएको बहसमा सरकारी वकिल सहायक जिल्ला न्यायाधिबक्ता कपिल रोक्का र निशुल्क कानुनी सहायता (प्रो–बोनो) सुरज तिमल्सिनाले अनलाइन बहस गरेका थिए ।

कोभिडको महामारीमा जिल्ला अदालतले म्याद थप, निषेधाज्ञा, बन्दी प्रत्यक्षीकरण, थुनछेकलगायतका निवेदनमा सुनुवाइ गरिरहेको छ । त्यस्तै कारगारामा रहेका १ वर्ष भन्दा कम सजाय तोकेका व्यक्तिहरुको मुद्दाको पनि सुनुवाइ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment