Comments Add Comment

चक्रवातका कारण भारतका विभिन्न राज्यमा हावाहुरी र भारी वर्षा

३ जेठ, काठमाडौं । अरब सागरमा देखिएको ‘ताउ ते’ चक्रवातको असर भारतका विभिन्न राज्यमा देखिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार महाराष्ट्र, गुजरात, केरला, कर्नाटक र गोवालगायत राज्यमा देखिएको छ । प्रभावित क्षेत्रमा तीव्र गतिको हावासहित भारी वर्षा पनि भइरहेको छ । भारतीय मौसम विभागले चक्रावातको कारण तटीय क्षेत्रमा ठूलो असर पुग्न सक्ने भन्दै अलर्ट जारी गरेको छ ।

भारतीय गृहमन्त्री अमित शाहले प्रभावित राज्यमा उद्धारको लागि भइरहेको तयारीको समीक्षा गरेका छन् । उनले अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितलाई ध्यानमा राख्दै बिजुली र मेडिकल अक्सिजनजस्ता अत्यावश्यक कुराहरु सञ्चित गरेर राख्न निर्देशन दिएका छन् ।

समाचारहरुमा बताइएअनुसार भारतको तल्लो तटीय क्षेत्रमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवातको कारण भारतको गुजरातमा कोरोनाविरुद्धको खोप अभियान पनि स्थगित भएको छ । केन्द्र सरकारको निर्देशनमा दुई दिनको लागि गुजरातमा कोरोना खोप कार्यक्रम स्थगित गरिएको हो ।

भारतको महाराष्ट्रस्थित मुम्बईमा पनि आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाको कारण मुम्बईको एयरपोर्ट र लिंक ब्रिज पनि बन्द गरिएको छ । यसैबीच भारतको जलसेनालाई उद्धार कार्यमा खटाइएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment