Comments Add Comment
कोभिड–१९ :

‘परीक्षण अझ सहज बनाऔं, घरभित्र पनि मास्क लगाऔं’

३ जेठ, काठमाडौं । पछिल्लो पाँच दिनसम्म घटेको कोरोना भाइरसको नयाँ संक्रमित संख्या सोमबार फेरि बढ्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी २२ हजार ८७ नमुना परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भयो ।

यसअघि २८ वैशाखमा २१ हजार ३१६ नमुना परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता दैनिक नयाँ संक्रमितको संख्या क्रमशः घटेर २ जेठमा ७ हजार ३६८ मा आइपुगेको थियो । यससँगै संक्रमण उत्कर्षमा पुगेर घट्न थालेको त होइन भन्ने चासो थियो । तर जनस्वास्थ्य विज्ञहरुले एक साताको तथ्यांक हेरेर महामारीको भविष्यवाणी गर्न नहुने सुझाएका छन् ।

सोमबारको तथ्यांकले यही भन्छ । परीक्षण बढेसँगै संक्रमितको संख्या पनि बढेको छ ।

अझै पनि खोकी, ज्वरोजस्ता लक्षण देखिएर पनि परीक्षण नगराउनेको संख्या धेरै रहेको अनुमान छ ।

सामान्य रुघाखोकी हो भनेर बस्ने वा परिवारका सबै सदस्यलाई लक्षण देखिँदा पनि किन परीक्षण गराउने ? भन्ने भावना पाइन्छ । परिवारका सबै सदस्यको पीसीआर टेष्ट गर्न ठूलै रकम खर्च हुने भएकाले पनि परीक्षण नगराउनेहरु छन् ।

संक्रामक रोग विशेषज्ञ डा. किरण पाण्डेका अनुसार संक्रमणको चेन ब्रेक गर्ने प्रभावकारी उपाय भनेको समुदायमा भएका संक्रमितहरुको पहिचान, आइसोलेट र कन्ट्याक्ट ट्रेसिङ नै हो । तर कन्ट्याक्ट ट्रेसिङ हुन छाडेको छ भन्दा फरक पर्दैन ।

सक्रिय संक्रमितको पहिचानका लागि पनि सरकारी संयन्त्रले अग्रसरता देखाएको छैन । अहिले पहिचान भएका बहुसंख्यक संक्रमित लक्षण देखिएर आफैं परीक्षण गराउनेहरु छन् ।

‘राज्य आफैं रोगी खोज्दै गयो भने आउट ब्रेक हुन नपाउँदै संक्रमण पत्ता लाग्छ । सम्भावित क्षतिलाई रोक्न सकिन्छ’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी भन्छन्, ‘संक्रमण फैलिसकेपछि मानवीय र अरु क्षति धेरै हुन्छ ।’

अहिले धेरै ठाउँमा संक्रमण फैलिसकेपछि मात्र थाहा भएकाले क्षति बढेको उनको विश्लेषण छ । अस्पतालमा गम्भीर विरामी आउन थालेपछि मात्र संक्रमण फैलिएको थाहा हुने भएकाले महामारी नियन्त्रण गर्न कठिन भएको उनले सुनाए ।

अझै पनि मासबेस टेष्ट गरेर समुदायमा भएको संक्रमित पहिचान गर्न सकिने विज्ञहरुको सुझाव छ । ‘काठमाडौं उपत्यका र ठूला वस्ती भएका क्षेत्रहरुमा सजिलोसँग नमुना संकलन गर्न सकिने र निःशुल्क परीक्षण हुने व्यवस्था मिलाउन उपयुक्त हुन्छ’ डा. पाण्डे भन्छन्, ‘यसमा स्थानीय सरकारहरुले पनि काम गर्न सक्छन् ।’

त्यसमा डा. मरासिनी थप्छन्, ‘निःशल्क गर्न नसके सरकारी ल्याबमा शुल्क त घटाउन सकिन्छ नि । जनताले तिरेको करबाट बनेको भवन हो, जनताले करबाटै किनेको उपकरण हो । ५०० रुपैयाँमा पीसीआर टेष्ट गर्न सकिन्न र ?’

यसो गर्दा समुदायमा भएका सक्रिय संक्रमितको पहिचान गर्न सहज मात्र हुने छैन, संक्रमणको फैलावट पनि रोक्न सकिने जनस्वास्थ्यविदहरु बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाअनुसार देशभर ५१ सरकारी र ३१ निजी गरी ८१ वटा ल्याब छन् । सबै ल्याबलाई पूर्ण क्षमतामा सञ्चालन गर्दा एकैदिनमा ७०÷८० हजार नमुना परीक्षण गर्न सम्भव देखिन्छ । तर संक्रमण दर झण्डै ५० प्रतिशत पुग्दा पनि दैनिक २०/२२ हजार मात्र नमुना परीक्षण भइरहेको छ ।

घरभित्र पनि मास्क लगाउने कि ?

चिकित्सकहरुका अनुसार पछिल्लो समय एउटै परिवारका धेरै सदस्यलाई संक्रमण भएको पाइएको छ । युके र भारतीय भेरियन्ट तीव्र गतिमा फैलिने भएकाले परिवारको एक सदस्यलाई संक्रमण भएपछि अरुलाई पनि सर्ने गरेको पाइएको छ ।

झन् अहिले लकडाउन भएका कारण अधिकांश मानिस घरमै छन् । परिवारको कुनै एउटा सदस्यलाई संक्रमण भयो भने अरुलाई पनि सर्न सम्भावना हुन्छ ।

टेकुस्थित शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन घरभित्र बस्दा पनि मास्क लगाउन उपयुक्त हुने बताउँछन् । उनका अनुसार कोठाहरुमा झ्याल÷भेन्टिलेटर खुला राख्नुपर्छ । खाना वा खाजा खाँदा अलग अलग बस्ने, परिवारकै सदस्यहरुबीच पनि दुरी कायम गर्ने प्रयास गर्नुपर्छ ।

एकभन्दा बढी व्यक्ति एउटै कोठामा बस्दा मास्क लगाउनु उपयुक्त हुने डा. पुनको सुझाव छ । ‘झट्ट सुन्दा अनौठो लाग्नसक्छ, तर पछिल्लो समय परिवारमा धेरै सदस्य संक्रमित भइरहेका छन् । त्यसैले घरमा पनि मास्क लगाउनु उपयुक्त हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment