+
+

नास्टले उत्पादन गरेको अक्सिजन सिलिन्डरको परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते २०:११

४ जेठ, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले उत्पादन गरेको अक्सिजन सिलिन्डरको पहिलो परीक्षण सफल भएको छ । नेपालमा नै पहिलो पटक उत्पादन गरिएको अक्सिजन सिलिन्डर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा परीक्षण गरिएको हो ।

कोरोना संक्रमण बढ्दै जाँदा अक्सिजन सिलिन्डरको चरम अभाव भइरहेकाले मंगलबार नयाँ सिलिन्डर उत्पादन गरी पहिलो पटक सफल परीक्षण गरिएको नास्टले जनाएको छ ।

नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको जानकारी दिए । उनले भने, ‘सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाँकी छ । केही दिनमा सिलिन्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावसायिक उत्पादन गर्न अनुमति दिनेछौं ।’

डा. ढकालले नेपालमा उत्पादित सिलिन्डरको न्यूनतम मूल्य करिब १५ हजार पर्ने र नाष्टको प्रविधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार रुपैयाँभन्दा कम मूल्य पर्ने बताए । परीक्षण अवलोकन गर्न नाष्टको मुख्यालय पुगेका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाल लगायतलाई धन्यवाद दिंदै उनले भने, ‘नेपालका वैज्ञानिकको मेहेनतको कारण स्वाब कलेक्सन भ्यान, स्यानिटाइजर, धुन मिल्ने मास्क निर्माण र अब सिलिन्डर तयार गरेर महत्वपूर्ण योगदान दिनुभयो । त्यसको लागि धन्यवाद ।’ उनले अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभाव पूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताए ।

सफल परीक्षण भएको सिलिन्डर वैज्ञानिक शंकर ढकालको समूहले तयार गरेको हो । उक्त सिलिन्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित रहनेछ । उत्पादित सिलिन्डरको अन्तिम परीक्षण गर्न बाँकी रहेको प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले बताए ।

नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले नास्टले कोभिड नियन्त्रणको लागि महत्वपूर्ण काम गरिरहेको दाबी गरे । ‘नाष्टले कोभिड नियन्त्रणका लागि स्वाब संकलन भ्यान, धुन मिल्ने मास्क र अहिले अक्सिजन सिलिन्डर उत्पादन जस्तो महत्वपूर्ण काम गरेको छ । आगामी दिनमा अझै गर्ने छौं,’ उनले भने ।

विज्ञान सचिव डा. सञ्जय शर्माले विज्ञान नवप्रवर्तक नीतिलाई कार्यन्वयनमा ल्याउन साथ प्रविधि क्षेत्रले ठूलो फड्को मार्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?