Comments Add Comment

‘नयाँ भेरियन्टको भाइरस आक्रामक र घातक छ’

५ जेठ, काठमाडौं । नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि गरेको हो । परीक्षण गरिएको नमुनामध्ये ९० प्रतिशतमा भारतीय भेरियन्टको कोरोना भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । यो भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’पनि भनिएको हो ।

हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको जानकारहरू बताउँछन् । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

नयाँ भेरियन्टको कोरोना भाइरस के हो ? र यो कत्तिको घातक छ ? भन्ने विषयमा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीसँग अनलाइनखबरका सुदर्शन अर्यालले गरेको गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत गरिएको छ ।

नेपालमा देखिएको भनिएको नयाँ भेरियन्ट कस्तो हो ?

नेपालमा देखिएको नयाँ भेरियन्टको कोरोना भाइरस यसअघिको भाइरसभन्दा जटिल र घातक खालको छ । कुनैपनि महामारी निम्त्याउने भाइरस हरेक भेरियन्टमा परिवर्तन हुँदै आउँछ । कुनै एकदमै आक्रामक तरिकाले आएको हुन्छ भने कुनै हल्का तरिकाले आएको पाइन्छ । तर अहिले आएको नयाँ भाइरस अन्यको तुलनामा आक्रामक र बढी घातक मानिन्छ ।

यसको मूल भारतबाट भएकोले यसलाई ‘भारतीय भेरियन्ट’ नाम दिइएको हो । प्रसारको हिसाबले यो युके भेरियन्टभन्दा अझै तीब्र गतिमा प्रसार हुने खालको छ । यसले सबै वर्ग र उमेर समूहका व्यक्तिलाई असर गर्नेछ ।

भनिन्छ, बन्द कोठामा बसेको एउटा संक्रमितले सयौंजनासम्मलाई एकै मिनेटमा यो भाइरस सार्न सक्छ । अहिले विवाहको सिजनमा भोजभतेर गर्दा धेरैमा कोरोना फैलिएको समाचारहरु आइरहेको छ । यसरी कुनै संक्रमित भोजभतेरमा गएको खण्डमा उसले धेरैलाई यो भाइरस सार्न सक्ने देखिन्छ ।

यसले ६०/६५ वर्षका ज्येष्ठ नागरिकदेखि ३/४ वर्षका बच्चासम्म सबैलाई असर गर्ने गर्छ । अहिले धेरै ज्येष्ठ नागरिकहरुले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेकोले उनीहरुमा यसको असर कम पर्छ भन्ने विश्वास गर्न सकिन्छ ।

यो नयाँ भेरियन्टको भाइरस धेरैमा प्रसार हुने, संक्रमितमा धेरै लक्षण देखिने र यसले मान्छेलाई मृत्युको मुखसम्म लैजाने चरित्रको छ । जुन अघिल्ला भेरियन्टको तुलनामा बढी घातक मानिएको छ ।

अहिलेसम्म नेपालमा कोरोनाको कतिवटा भेरियन्ट भित्रिएको छ ?

अहिलेसम्म कोरोना भाइसरको कतिवटा भेरियन्ट नेपालमा भित्रियो ? भन्ने पत्ता लगाउने तागत हामीसँग अहिलेसम्म पनि छैन । जिन सिक्वेन्सिङ गर्ने भनेको कति महिना भयो हामी यताउता अल्झिएका छौं । नेपाल हेल्थ रिसर्च काउन्सिल आदिले काम गरिरहेको छ । तर त्यो पनि प्लानिङ लगायत तिर नै अल्झिरहेको छ ।

हामीले पहिलो जिन सिक्वेन्सिङ हङकङमा गरियो । हङकङमा जिन सिक्वेन्सिङ गर्न लैजाँदा हामीमाथि विभिन्न आरोप पनि आयो । त्यसमा मुद्दा पनि पर्‍यो । यो घटनाले हामीलाई फ्रस्टेसनसम्मको अवस्थामा पुर्‍यायो । शोध/अनुसन्धान गर्ने कुरामा त्यो घटनाले हतोत्साहित गराउने काम गर्‍यो । टेक्निकल पनि धेरै अपडेट हुनुपर्नेमा त्यो विवादका कारण सरोकारवालाहरुले पनि जाँगर चलाएनन् । यसको लागि टेक्निकल एक्सपर्ट, मेसिन र धेरै महँगो खालको किट समेत चाहिने भएकोले विश्व स्वास्थ्य संगठनको सहयोगमा यी स्याम्पलहरु पठाइएको थियो । अहिलेको स्याम्पल पनि काठमाडौंमात्रै नभएर देशका विभिन्न ठाउँबाट ल्याएको नमुना परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको हो । त्यसैले यो भेरियन्ट काठमाडौंबाहिर पनि रहेकोले यसबाट बच्ने उपाय मात्रै खोज्नुपर्छ ।

अहिले देखिएका संक्रमितमध्ये कति प्रतिशतमा यो नयाँ भाइरस देखिएको हो ?

अहिलेको यति थोरै (३५ वटा नमुना) परीक्षणमा आएको नतिजाको आधारमा समग्र विश्लेषण गर्नु त सम्भव हुँदैन । तर यही नमुनालाई आधार मान्दा ९० प्रतिशतमा भारतीय भेरियन्टको कोरोना भाइरस देखिएको छ ।

यो भाइरसका लागि हाल विकसित खोपले काम गर्छ कि गर्दैन ?

अहिले हामीले लगाएको खोप एस्टाजेनिकाले पनि काम गर्छ । त्यस्तै, कोभ्याक्सिनले पनि काम गर्छ । यी दुवै भ्याक्सिनले राम्रो काम गर्छ भन्ने रिपोर्टमा आएको छ ।

अनि भेरोसेलले ?

छ, भेरोसेलले पनि राम्रै काम गरिरा’को छ ।

यो भाइरसको विकासमा पुराना भाइरसहरु कत्तिको जिम्मेवार छ ?

भाइरस त्यही नै हो । जस्तै, रामबहादुर भनेको रामबहादुर नै हो । तर उसले के चेन्ज गर्‍यो भने औंठी लगायो, जुत्ता अर्काे फेर्‍यो भने जस्तै यो भाइरस पनि पुरानै भाइरस नै हो । मात्रै यसले स्वरुप बदलेको मात्रै हो । थप शक्तिशाली भएर आएको मात्रै हो ।

यो पनि पढ्नुहोस् 

नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment