Comments Add Comment

मेरो सम्झनामा चेतन कार्की

जेठ दुई गते मेरा लागि नरमाइलो दिन भएर आयो । म सिसिएमसीको सचिवालय छाउनीमा छलफलमा व्यस्त थिएँ, त्यसै बेला मेरो फेसबुक म्यासेन्जरमा चिरञ्जीवी भाइको खबर आयो ‘चेतन कार्की अब रहेनन्’ । म स्तब्ध भएँ । हुन त केही दिन अगाडि आरुखर्क चनौटेको सुरज उपाध्यायले फेसबुकमा चेतन कार्की गम्भीर बिरामी हुनु भएको प्रसङ्ग उल्लेख गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । उनीसँग फोनमा चेतन कार्कीको स्वास्थ्यका सम्बन्धमा छलफल भयो । उहाँ गम्भीर बिरामी भएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना हुनु भएको रहेछ ।

जे हुनु थियो भैसकेको थियो । मलाई उहाँसँग बिताएका विभिन्न क्षणको सम्झना भयो । उहाँसँग सम्बन्ध जोडिनुमा मेरी आमाको भूमिका थियो । मैले घर फर्केर चेतन कार्कीसँगको विगतलाई सम्झी यो आलेख तयार गर्न कम्प्युटरको किबोर्ड समाएँँ ।

****

“जूनले पोल्ला हजुर ताराले पोल्दैन,
ढुङ्गा बरु बोल्ला हजुर मायालु बोल्दैन,
भन्थी सानीले,
जान्न म त हजुर खुर्सानी बारीमा,
हिलो लाग्छ हजुर नाइलनको सारीमा,
भन्थी सानीले”

यो गीत रेडियो नेपालमा बज्न थालेपछि आमाले भन्ने गर्थिन्, “ऊ, चेतन कार्की मामाको गीत आयो ।” मेरा आफ्ना सबै मामाहरू भारतको आसाममा बस्ने । त्यसैले आमाका मावली नै मेरा पनि मावली भए । हामी मावली भन्नेबित्तिकै हुरुक्क हुने । हामीले चेतन कार्की मामालाई चिनेका भने थिएनौं । हाम्री आमा आरुखर्कको बाँहेटारीमा हुर्केकी थिइन् । खास घर आरुखर्कको चनौटे भए पनि आमाबाबुले सानैमा मावलीकहाँ छाडेका हुनाले आमाले बाँहेटारीमा नै बाल्यकाल बिताइन् । बाँहेटारीका जमदार कार्कीका छोरा थिए चेतन कार्की । मावली गाउँ भएकाले सो गाउँभरिका सबै नै आमाका मामा पर्ने रहेछन् ।

आमाले भन्ने गर्थिन्, चेतन कार्की गाउँमा आउँदा टेपरिकर्डर लिएर आउँथे । उनी आएपछि गाउँभरिका मान्छे जम्मा भएर गीत गाउँथे । मादल बजाउने र गीत गाउँने भनेपछि चेतन कार्की मामा हुरुक्कै हुन्थे ।
एकपटक चेतन कार्की पोखराको माछा विकास फर्मको प्रमुख हुनुभएछ । त्यसै बेला हाम्रा बा आमालाई चिया पसल गर्न एउटा टेबुल र एउटा बेञ्च दिनुभएको रहेछ । आमाबाले गाउँमा घर बनाएपछि ती टेबुल र बेञ्च गाउँमै लैजानुभएछ ।
आमाले भन्ने गर्थिन्, यी टेबुल र बेञ्च चेतन कार्की मामाले दिएका हुन् ।

हामी सबै दाजुभाइले तिनै टेबुल र बेञ्चमा बसेर स्कुल शिक्षा पूरा गर्‍यौं ।

यो वि.सं. २०४२ सालतिरको कुरा हो । मैले कक्षा १० पढ्दा “कान्छी” नामको नेपाली फिल्म हेरेँ । यो नै मेरो जिन्दगीको पहिलो फिल्म थियो । फिल्मको कथा त त्यति सम्झिन सकिनँ तर त्यस फिल्मका गीतहरू “कलकल सलसल छलछल चञ्चल निर्मल निश्चल खोली, कान्छी हो कान्छी, छोरीको जन्म हारेको कर्म” जस्ता गीत अझै पनि सम्झिन्छु ।

पछि ती गीत चेतन कार्कीले लेख्नुभएको हो भनेपछि त मलाई झनै मन पर्न थाल्यो । त्यो फिल्म हेरेपछि फिल्मको कथाले गर्दा मलाई एक हप्तासम्म नमिठो लागिरहेको थियो । त्यतिखेरै हो कि जस्तो लाग्छ, नेपाली कथानक फिल्म “विश्वास” हलमा चलेको थियो ।

मलाई चेतन कार्कीले निर्देशन गर्नुभएको भन्दा त्यो फिल्म हेर्न झनै मन लाग्यो । वि.सं. २०४१ तिर प्रदीप रिमालले निर्देशन गरेको नेपाली फिल्म “के घर के डेरा” हाम्रै गाउँमा एक महिना जति सुटिङ भएको थियो । हामी सुटिङ हेर्न जान्थ्यो । यसकारणले पनि फिल्म हेर्न मन लाग्दै गयो । “विश्वास”, “भूँमरी” जस्ता फिल्मको निर्देशन गर्नुभएका चेतन कार्कीसँग प्रत्यक्ष भेट भने हुन सकेको थिएन ।

वि.सं. २०४५ सालतिर मायाप्रीति नामको नेपाली फिल्म आयो । यसमा पनि चेतन कार्कीका सुमधुर गीत थिए । “मायाप्रीतिको अमर कथा”, “मान्छे पुग्यो जूनमा” जस्ता गीतले निकै चर्चा बटुल्यो । हुनतः चेतन कार्कीले लेखेको “परिवर्तन” फिल्मको गीत “बैनीको दया छ भने रोधीघर दाइ नाँच्यो नभने” गीत जनजिब्रोमा झुन्डिएकै थियो । उहाँका अरूनयाँ नयाँ गीत पनि चर्चित हुँदै गए । मलाई गीत प्रतिको झुकाव झन बढ्दै गयो ।

आमाले सधैँ नाम लिइरहने चेतन कार्कीसँग भेट गर्ने इच्छा उहाँको “पहिलो प्रेम” को सुटिङको सिलसिलामा पोखरामा मिल्यो । उहाँ मुस्ताङ चोक नजिकैको स्याउली बजारको होटलमा बस्नुहुन्थ्यो ।

त्रिवेणी कल्चर ट्रेनिङ सेन्टरको मनिष श्रेष्ठले मलाई चेतन कार्कीसँग भेट गराए । चर्चित गीतहरूका लेखक, स्क्रिप्ट लेखक, चलचित्र निर्देशक, गायक, नाटककार, उपन्यासकार जस्तो व्यक्तित्वसँग भरखरै कलेज पढेको म जस्तो मानिसले के विषयमा कुरा गर्न सक्थे र ! तैपनि आमाको साइनो लगाएर चिनजान गर्ने मौका पाएँ । यस मौकालाई मैले उपयोग गरेँ ।

वि.सं. २०५० सालमा लोकसेवा आयोगको अधिकृत परीक्षाको अन्तर्वार्तामा असफल भएपछि म, मेरो दाइ र आमाले पोखरा आएको अवसर पारेर दाजु हेमबहादुर कार्की र चेतन कार्की दुई दाजुभाइलाई भेट्यौं ।

त्यो बेला चेतन कार्कीले भन्नुभएको थियो, “म सत्र अठार सालतिर मास्टर गरेर नेपाल आएको थिएँ । त्यो बेला म हिन्दी साहित्यमा एमए, जीव विज्ञानमा स्नातक (बिएस्सी) र फिसरी डिभलपमेन्ट एन्ड एड्मिनिस्ट्रसनमा डिप्लोमा गरेको थिएँ ।

यस्तो योग्यता भएका निकै कम मान्छे भए पनि मैले आफ्नो योग्यताअनुसार जागिर पाइनँ । म एकै ठाउँमा टिक्न पनि टिकिनँ । कतिपय कुरा मेरो स्वाभावसँग मेल खाएनन् । म माछा विकासमा पनि धेरै टिकिनँ । शाही नेपाली चलचित्र संस्थानमा पनि टिकिनँ । मैले यही गीत गाउने, मादल ठोक्ने, नाँच्ने यस्तै पेसा रोजेँ । दुनियाँले मलाई यही भनेर चिनेका छन् । सरकारी नोकरी पाइएन भनेर चिन्ता लिने होइन, मिहिनेत गर्ने हो, नभए अर्को दुनियाँ पनि छ नि ।”

****

वि.सं.२०५२ सालमा म खोजेरै जाउलाखेल स्थित चेतन कार्कीको घर पुगेँ । उहाँले मलाई गेटमा नै आएर भित्र लैजानुभयो ।

“भाञ्जाश्री तातो खाने कि चिसो ?” मलाई सोध्नुभयो ।

मैले ““तातो” भनेँ ।

उहाँले “चिया कि कफी ?” भनेर सोध्नुभयो ।

मैले “कफी” भनेँ ।

त्यसपछि भलाकुसारी भयो । मेरी आमा र बाको कुरा गर्नुभयो ।

मैले आफूमा गीत लेख्ने रुचि बढेको सुनाएँ । गीत लेख्ने अभ्यास गर्दै जानुपर्छ, पछि सफल भइन्छ भन्नुभयो ।

“गण्डकी क्षेत्रका मान्छेलाई गीत लेख्न गाह्रो छैन, तर लोक शब्द र अन्त्यानुप्राश भने ज्यादै ख्याल गर्नुपर्छ नि !” उहाँले मलाई बारम्बार भन्ने गर्नुहुन्थ्यो ।

म नोकरीको सिलसिलामा विभिन्न जिल्लामा काम गर्न गएँ । उहाँसँगको भेटघाट पातलो हुँदै गयो ।

****

वि.सं. २०५८ सालतिर काठमाडौंबाट पोखरा जाँदा बाटो अवरुद्ध भएका कारण बसहरू रोकिए । बस रोकिएपछि म तल ओर्लेर टहलिएको थिएँ । केही पर मैले चेतन कार्की मामालाई देखेँ । म उहाँ भएतिर गएँ । अभिवादन गरे । केही बेर भलाकुसारी भयो ।

भित्तातिरका विभिन्न विरुवा देखाउँदै मलाई नाम सोध्न थाल्नुभयो । म पनि गाउँमै हुर्केको हुनाले उहाँले सोधेका विरुवाको नाम भन्दै गएँ । उहाँले मलाई परीक्षण गरे जस्तो लाग्थ्यो । उहाँ विज्ञानको पनि विद्यार्थी भएकाले विरुवाका सम्बन्धमा पनि भन्नुहुन्थ्यो ।

****

वि.सं. २०६५ को अन्त्यतिर म सहसचिवमा सिफारिस भएपछि काठमाडौं उपत्यकामा छिरेँ । वि.सं. २०६६ को जेठमा पोखरा हुँदै गाउँ जाँदै थिएँ । सिद्धार्थ राजमार्ग हुँदै गाउँ जाँदा छोरेपाटनभन्दा झण्डै दुई किलोमिटर पश्चिम पुगेपछि मैले चिने जस्तो मान्छे लाग्यो ।

हाम्रो गाडी अघि अघि कुदिरहेको मोटरसाइकल रोकियो । मैले गाडी रोक्न भनेँ । जेठको समयमा सिमसिम पानी पर्न थालेको थियो । हतार हतार मोटरसाइकलका दुई जनाले वर्षादी लगाउँदै थिए । म गाडीबाट ओर्लिएर ती दुई जना भएतिर गएँ । मेरो अनुमान सही थियो । मैले चेतन कार्की मामालाई पछाडिबाट पनि चिन्न सक्थे । उहाँको सेतै फुलेको कपाल र मध्यम कदको शरीरले मलाई अनुमान गर्न सहयोग गरेको थियो ।

मैले अभिवादन गरेँ । मैले काठमाडौंमा जागिर सुरु गरेका जानकारी दिएँ । उहाँले सधैं भन्ने भाञ्जी अर्थात् मेरी आमालाई हामीले गुमाएको जानकारी दिएँ । उहाँले बाबाको बारेमा सोध्नुभयो । स्याङ्जा जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गर्ने दाइलाई पनि सोध्नुभयो ।

उहाँ आफ्नो भाइसहित बाँहेटारी जाँदै हुनुहुँदोरहेछ । पछि काठमाडौंमा नै भेट हुनेगरी बिदा भयौं ।

****

वि.सं. २०६७ सालमा मैले लेखेको गीत सङ्ग्रह ‘अविरल गङ्गा’मा शुभकामना मन्तव्य लेखिदिन आग्रह गर्दै म चेतन मामको घर जाउलाखेल पुगेँ ।

उहाँले सहर्ष स्वीकार्नु भयो र भन्नुभयो, “मैले लेखेको भूमिका वा शुभाशिर्वादको दुई प्रति दिनुपर्छ नि !”

वि.सं.२०६८ सालको साउनमा ‘अविरल गङ्गा’ को विमोचन कार्यक्रममा आमन्त्रण गरेँ । फुर्सद मिलेमा आउला भन्नुभयो । विमोचन कार्यव्रmम रसियन कल्चरल सेन्टर, कमलपोखरीमा थियो । संयोगवश चेतन मामा पनि त्यहीको अर्को कार्यक्रममा वक्ताका रूपमा आउनुभएको मैले देखेँ । मैले विमोचनमा आउन अनुरोध गरेँ । मेरो र गीत सङ्ग्रहका बारेमा केही मन्तव्य राखिदिन पनि अनुरोध गरेँ । उहाँले नाई भन्ने कुरै थिएन । समय मिलाएर आउनुभयो ।

मन्तव्यका क्रममा म र मेरो परिवारका बारेमा उहाँले बताउँदा दर्शकदीर्घामा मानिसहरू अचम्म मान्दै थिए । नेपाली गीत सङ्गीतका स्थापित व्यक्तित्व हुनुका साथै नेपाली, संस्कृत, हिन्दी, उर्दू साहित्यको ज्ञाता चेतन मामाले श्रमिक बरालका गीतमा अनुप्रासको बाढी नै आउनुपर्ने तर गीतकार गण्डकी क्षेत्रको भएर पनि अनुप्रासको न्यून भएको गुनासो गर्नुभयो । यो मेरा लागि अवसर र मार्गदर्शन थियो ।

वि.सं. २०७१ सालमा मैले ‘मौन आकाश’ गीत सङ्ग्रह प्रकाशनमा ल्याएँ । यस सङ्ग्रहमा पनि चेतन मामाको आशिर्वाद लिन म जाउलाखेल पुगेँ । उहाँले पहिल्यै जस्तै आशिर्वचन लेखिदिनुभयो । उहाँका सुन्दर हस्तलिखितलाई स्क्यान गरेर सङ्ग्रहमा राखेँ ।

दुवै सङ्ग्रहमा चेतन मामाले दिनुभएको आशिर्वचन नेपाली गीतको इतिहासका लागि स्मरणीय देखिन्छन् ।

****

वि.सं.२०७३ सालको पुसतिर हिमाली साँस्कृतिक परिवारको कार्यव्रmममा चेतन मामासँग भेट भयो । सो कार्यक्रममा मलाई प्रमुख अतिथिका रूपमा बोलाइएको थियो । म पश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय प्रशासक थिएँ । उक्त कार्यक्रममा चेतन कार्की मुख्य वक्ता हुनुहुन्थ्यो । उहाँ हिमाली साँस्कृतिक परिवारको संस्थापक हुनुहुन्थ्यो ।

मिनकाजी गुरुङको प्रमुख अतिथिको आग्रहलाई मैले स्वीकारेको थिएँ । एकातिर चेतन कार्की मामा वक्ता भएको ठाउँमा मलाई प्रमुख अतिथि हुन अप्ठ्यारो लागेको थियो, अर्कोतिर मामा भाञ्जाको कार्यक्रमको एकै स्थानमा भएकामा खुशी पनि लागेको थियो ।

आफ्नो मन्तव्यमा चेतन कार्की मामाले भन्नुभयो, “कलाकार राष्ट्रका गहना हुन् । यिनलाई राष्ट्रले यथोचित सम्मान दिनुपर्छ तर राष्ट्रले कलाकारलाई चाहिदाको भाँडो नचाहिदाको ठाडो जस्तो गरेको छ ।”

राज्यले कलाकारलाई सम्मान गर्नुपर्छ भन्ने मान्यता चेतन मामाको थियो । क्षेत्रीय प्रशासकका रूपमा म सरकारको प्रतिनिधि भएकाले मलाई सुनाउनु भएको जस्तो पनि लाग्थ्यो ।

प्रमुख अतिथिको मन्तव्यमा मैले मामाश्रीलाई जिस्क्याउँदै भने, “चेतन मामाले भन्नुभएको ठीक हो । सबैले भन्ने गर्छन् कलाकार राष्टको गहना हो । मलाई त यो गहना नभनी राष्ट्रको अभिन्न अङ्ग हो भन्न पाए सन्तोष हुन्थ्यो जस्तो लाग्छ । हाम्रो चलनमा त गहना उत्सवका समयमा लगाइन्छ । गहना आलङ्कारिक हो, सेरेमोनियल हो । गहना भनेकै चाहिदा लगाउने र नचाहिदा फुकालेर सन्दुक, मुदुस, दराज यस्तै ठाउँमा राख्ने हो । त्यसैले कलाकारलाई गहना होइन, अङ्ग भनौं ।”

मैले मन्तव्य सकेपछि मामाश्रीले मलाई अँगालो हाल्दै भन्नुभयो, ‘भाञ्जाश्री होस् त यस्तो । भाञ्जाश्रीले मलाई होइन कलाकारलाई हेर्ने प्रवृत्तिलाई राम्रो गरी भन्नुभयो । आज म साह्रै खुशी छु ।’

****

वि.सं. २०७४ माघ १ गते बिहान ९ बजेतिर म एकजना साथीसहित चेतन मामाको घरमा पुगेँ ।

हामीलाई गेटमा नै स्वागत गर्दै चेतन मामाले भन्नुभयो, “आज मकर सक्रान्तिको दिन भाञ्जाले घर पवित्र बनाउनु भो ।”

मलाई र मेरो साथीलाई बैठक कोठामा लगेर उहाँ तला चढ्नुभयो ।

माइजूलाई साथमा लिएर आउँदै भन्नुभयो, “भाञ्जाश्रीलाई तिलको लड्डु, घिउ, चाकु, तरुल लिएर आउनू ।”

मैले माघे संक्रान्तिमा यसरी मामाघरमा गएर खाएको पनि थिइनँ । जीवनमा नयाँ अनुभूति भयो । हाम्रो संस्कारको निरन्तरता अझै रहेछ जस्तो लाग्यो ।

खासमा म माघे संक्रान्तिका लागि पुगेको थिइनँ । चेतन मामाकहाँ जानुको मेरो उद्देश्य बेग्लै थियो । मैले मेरी आमाको स्मृति पुस्तक प्रकाशन गर्न चाहेको थिएँ । चेतन मामासँग मेरी आमाका सम्बन्धमा अनुभवसहितको लेखको अनुरोध गर्न पुगेको थिएँ । मैले आफू आउनाको कारण चेतन मामालाई बताएँ ।

मामाले भन्नुभयो, “हुन्छ म लेखूँला तर समय चाहिँ लामै चाहिन्छ नि । भाञ्जाश्रीले कहिले छाप्ने हो ?”

मैले भने, “वैशाखतिर ।”

“ल ल ठीक छ । मैले तीन महिना समय माग्न खोजेको थिएँ । यो बिचमा म देहरादून पनि जानु छ । उताबाट फर्केपछि म लेख्छु र भाञ्जाश्रीलाई खबर गर्छु,” चेतन मामाले भन्नुभयो ।

हामी बसेको बैठक कोठामा चेतन मामालाई गरिएका सम्मान भित्ताभरि झुण्डिएका थिए । कतिपय सम्मानका प्रमाणपत्रले स्थान अभावका कारण भित्तामा झुण्डिन पाएका थिएनन् । भूँईमा नै सजाइएका थिए ।

सम्मानका सामग्री देखेर मसँग गएका मित्र नारायण सुवेदीले सोधे, “चेतन मामाको सम्मान देख्दा म त चकितै परेँ । संस्कृति क्षेत्रमा हजुरको योगदानलाई मैले त मूल्य गर्न नै नसकिने देखेँ । अमूल्य देखेँ ।”

साथीको कुरा सुनेर चेतन मामाले भन्नुभयो, “अरू के नै गर्न सकियो र ! मादल ठटाएरै जीवन काटियो । कसैको चाकरी गरिएन । कम से कम म मरेपछि दुनियाँलाई चेतन कार्की म¥यो भन्ने त थाहा पाउँछन् । यति भए पुग्यो ।”

चेतन मामाको कुरा सुनेर साथी पनि दङ्ग, म पनि दङ्ग ।

“तपाईं त लेखक, गीतकार, निर्माण नियन्त्रक, प्राविधिक सल्लाहकार, चलचित्र निर्देशक सबैमा सफल व्यक्तित्व”, नारायण सरले भन्नुभयो ।

“नाई, नाई । सफल र असफल त के भन्नु । म त संस्कृतिकर्मी हुँ । मैले आफ्नो क्षमताले भ्याएसम्म देशलाई दिन खोजेको हुँ । अरू त ठीकै हो, चलचित्र निर्देशकमा भने सफल भइनँ कि जस्तो लाग्छ । मैले निर्देशन गरेका फिल्म त्यति सफल भएनन्”, चेतन मामाको स्वीकारोक्ति थियो ।

हामीले चेतन मामालाई भेटेको तीन महिनापछि मलाई लेख लिन आउनू भनी फोन गर्नुभयो । म उहाँको घर पुगेर लेख लिएर आएँ । साउनमा लीलावती स्मृति ग्रन्थ प्रकाशन भयो । चेतन मामाले मेरी आमाको बारेमा मात्र होइन, हाम्रो परिवार र असल आमाका सम्बन्धमा शास्त्रीय कुराको दृष्टान्त दिँदै लेख्नुभएको रहेछ । यो लेखले लीलावती स्मृति ग्रन्थको ओज थप बढेको मैले महसुस गरेँ ।

****

म जाउलाखेल हुँदै कतै जाँदै थिएँ । मेरो साथमा मेरा पुस्तक ‘सिकाउने शैली’ थियो । यो पुस्तक चेतन मामालाई उपहार दिनका लागि तयार गरेको थिएँ । त्यही बाटो हिड्दा मैले चेतन मामाको घरमा फोन गरेँ । मैले भेट्न आउन लागेको कुरा गरेँ ।

“भाञ्जाश्री अहिले नआउनू । म बाहिर निस्कनै आँट्या । पछि आउनुहोला”, चेतन मामाले मेरो कुरा सुन्ने बित्तिकै भन्नुभयो ।

मैले हजुरको घर नजिकै आएकाले पुस्तक गेटबाटै हजुरको हातमा दिएर फर्किन्छु भनेँ ।

चेतन मामा गेटमै उभिनुभएको रहेछ । बाहिर जान निकै हतार भएको मैले महसुस गरेँ । मैले मेरो किताब ‘सिकाउने शैली’ उहाँको हातमा दिएर तुरुन्तै फर्किएँ । चेतन मामाले त्यो किताब पढ्नु भयो वा भएन, त्यो सोधेको भने थिएनँ ।

****

वि.सं.२०७६ सालमा ‘सिकाइ र सहयोग’ नामका मेरो अर्को पुस्तक प्रकाशन भयो । २०७७ सालमा ‘स्यानी’ नामको उपन्यास प्रकाशन भयो । २०७६ माघदेखि सुरु भएको कोभिड–१९ को प्रभावका कारण चेतन मामालाई यी पुस्तक उपहार दिन भने पाइनँ । मामाको उमेर पाको भएकाले भेट्न जाने आँट पनि गरिनँ ।

‘स्यानी’ उपन्यासमा चेतन मामाको प्रसङ्ग पनि आएको थियो । मैले उपहार दिनुभन्दा पहिला नै चेतन मामाले हामीलाई छोडर जानुभयो ।

चेतन मामाले मायाप्रीति फिल्ममा लेख्नुभएको थियो, “माया हो ईश्वर, ईश्वर हो माया, प्रभुकन पिरती कबै भूल हुँदैन” । हो, माया त ईश्वर नै हो, ईश्वरले चेतन मामालाई माया गर्‍यो, प्रभुले मामासँग पिरती लगायो, मामाले प्रभुसँग । प्रभुले हामीबीचबाट तानेर लग्यो ।

राँको फिल्ममा चेतन मामाले लेख्नुभएको थियो, “सललल पानी यो जिन्दगानी, बगेरै जाने हो चट्ट मायालु ।” चेतन मामाले आफूले लेखेको गीतझैं जीवन सललल पानी जस्तै बगाएर जानुभयो, नफर्किने गरी । हामी बगेको हेरेर बस्न बाध्य भयौं ।

मामा चेतन कार्कीप्रति भावपूर्ण श्रद्धासुमन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment