Comments Add Comment

इजरायल–प्यालेस्टाइनबीच छिटै युद्धविराम हुने हमासको विश्वास

फाइल तस्वीर

६ जेठ, काठमाडौं । इजरायलसँग युद्ध लडिरहेको संगठन हमासका अधिकारीले गाजा क्षेत्रका लडाकु र इजरायलसँग एक दुई दिनभित्रै युद्धविरामको सम्झौता हुन सक्ने बताएका छन् । यद्यपि अहिले दुवैतर्फ निरन्तर आक्रमण भइरहेको छ । यद्यपि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार ‘इजरायली नागरिकको शान्ति र सुरक्षा पुनः बहाल नभएसम्म’ युद्ध जारी रहने बताएका छन् ।

बिहीबार सबेरै गाजा क्षेत्रमा रहेको हमासको भौतिक संरचनामा एकसयभन्दा धेरै इजरायली हवाई आक्रमण गरिसकेको छ । प्यालेस्टाइनहरुले पनि इजरायलतर्फ रकेट आक्रमण जारी राखेका छन् । जेरुसलेमको मुस्लिम तथा यहुदीको धार्मिक आस्थाको केन्द्र रहेको क्षेत्रमा देखिएको विवादपछि इजरायल–प्यालेस्टाइनको अहिलेको युद्ध सुरु भएको हो । इजरायलले प्यालेस्टाइनहरुलाई जेरुसलेमको पवित्र स्थलबाट हट्न निर्देशन दिएसँगै गाजा क्षेत्रमा प्रभुत्व जमाएको हमासले इजरायलमाथि आक्रमण गरेको हो । इजरायलले पनि गाजा क्षेत्रमा हवाई आक्रमण गरिरहेको छ ।

यो युद्धमा अहिलेसम्म कम्तीमा २२७ जनाको मृत्यु भइसकेको छ । जसमा सयभन्दा धेरै महिला र बालबालिका छन् । मृत्युहुनेमध्ये अधिकांशको मृत्यु गाजा क्षेत्रमा भएको छ । इजरायलमा भने अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । यो युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले अपिल गर्दै आएका छन् । इजरायल–प्यालेस्टाइन युद्धबारे अमेरिकाको कारण संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले काम गर्न नसकेको आरोप चीनले लगाएको छ । अमेरिका इजरायलको मित्रराष्ट्र हो । अमेरिकामै पनि यो युद्धमा इजरायलाई साथ नदिन भन्दै विभिन्न स्थानमा प्रदर्शन भएका छन् । यो युद्ध सुरु भए पछि बुधबार अमेरिकी राष्ट्रपति जो बाइडनले चौथोपटक इजरायली प्रधानमन्त्री नेतान्याहूसँग फोन वार्ता गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment