+
+
Shares

सामाजिक सुरक्षामा नगएको सनराइजले निधन भएकी कर्मचारीको परिवारलाई तिर्नुपर्ने भयो ४३ लाख

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते २१:१७

६ जेठ, काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नमान्ने सनराइज बैंक कारबाहीमा परेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको सनराइज बैंकका एक कर्मचारीको मृत्यु भएपछि उनको परिवारले दिएको मागदाबीका आधारमा सनराइज बैंक कारबाहीमा परेको हो ।

सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीका अनुसार करीब १० महीनाअघि सनराइज बैंकमा कार्यरत सनाज खतिवडाको मृत्यु भएको थियो । उनले मासिक ४२ हजार तलब लिन्थिन् । तर, उनी कार्यरत बैंकले सामाजिक सुरक्षा कोषमा योगदान गर्न मानेकाे थिएन ।

तर, उनको मृत्युपछि परिवारले सनाजको नियुक्तिपत्रसहित क्षतिपूर्ति माग्दै सामाजिक सुरक्षा कोषमा उजुरी दर्ता गराएको थियो । सनाजका बुवा ध्रुवकुमार खतिवडा र आमा गीता घिमिरेले वैशाख २०मा आश्रित परिवार सुविधा योजना अनुसार क्षतिपूर्ति माग्दै निवेदन दर्ता गराएका थिए । त्यसको अध्ययन गरेर कोषले सो परिवारलाई ऐनअनुसार क्षतिपूर्ति भराउन भन्दै बैंकलाई पत्र काटेको छ ।

कोषले ७१ वर्षलाई औसत आयु मानेर मृतककी बुवा र आमाको आयुको हिसाब गरेर क्षतिपूर्ति रकम तय गरेको हो । बैंकले सो परिवारलाई ४३ लाख ३४ हजार रूपैयाँ उपलब्ध गराउनुपर्ने पन्थीले बताए । मृतकको मासिक तलबको ६० प्रतिशतले हुने एकमुष्ट रकमलाई आश्रित परिवारले मासिक पाउने पेन्सनको आधारमा यस्तो हिसाब निकालिएको हो ।

तीन महीनाभित्र सो रकम दिलाएर कोषलाई जानकारी गराउनुपर्नेछ । यदि निर्देशन नमानेमा बैंकको खाता रोक्का गर्दै बैंकको सम्पत्तिबाटै सो क्षतिपूर्ति भराउन सक्ने अधिकार कोषसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?