Comments Add Comment

राष्ट्र बैंकको निष्कर्ष-सिमेन्ट उद्योगमा थप लगानी भित्र्याउनु आवश्यक

७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले सिमेन्ट उद्योगमा थप लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएको छ । सिमेन्ट उद्योग सम्बन्धी एक अध्ययन रिपोर्ट सार्वजनिक गर्दै राष्ट्र बैंकले सिमेन्टमा आत्मनिर्भर बन्नका लागि थप सिमेन्ट उद्योगहरु खोल्नु पर्ने आवश्यकता देखाएको हो ।

‘नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुनेदेखिन्छ’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ ।

सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको राष्ट्र बैंकले बताएको छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लागत न्यून रहेको र मुलुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही बर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको भन्दै स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिएको राष्ट्र बैंकले बताएको छ ।

चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याउन समेत राष्ट्र बैंकको सुझाव छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने देखिन्छ ।’

नेपालमा हाल सञ्चालित ५५ सिमेन्ट उद्योगहरुमध्ये ३ प्रत्यक्ष विदेशी लगानी, २ सरकारी स्वामित्व र ५० निजी स्वामित्वका रहेका छन् । लगानी र उत्पादन क्षमताका आधारमा हेर्दा मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको बाहुल्यता रहेको छ ।

नेपालमा विशेषतः प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलनात्मक स्थिति, हेरेर नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन) सम्वन्धी यो अध्ययन गरिएको हो ।

राष्ट्र बैंकका अनुसार यस अध्ययनले विदेशी लगानी रहेको ३, सरकारी स्वामित्व र निजी स्वामित्व रहेको क्रमशः २,२ गरी ७ उद्योगहरुलाई समेटेको छ । सिमेन्ट उद्योगको सामाजिक तथा आर्थिक प्रभावको विश्लेषणात्मक अध्ययनका लागि प्रत्येक उद्योगबाट कार्यकारी प्रमुख, २ जना कर्मचारी र उद्योग वरपरका १० जना बासिन्दाहरुलाई उत्तरदाताको रुपमा चयन गरिएको थियो ।

अध्ययनअनुसार ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेटि्रक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेटि्रक टन रहेको देखिन्छ । यसैगरी, आन्तरिक रुपमा यी उद्योगहरुबाट ७४ लाख ९० हजार मेटि्रक टन सिमेन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार मेटि्रक टन आयात भएको देखिन्छ ।

प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment