Comments Add Comment

कोरोना कहरमा बेपत्ता योद्धा स्मरण दिवस

जेठ ७ गते ‘बेपत्ता योद्धा स्मरण दिवस’ को दिन । अन्तर्राष्ट्रिय जगतमा अगष्ट ३० लाई अन्तर्राष्ट्रिय बेपत्ता दिवसका रूपमा मनाउने गरे पनि नेपालको विशिष्ट अवस्था र परिवेशका कारण हामी फरक दिनमा ‘बेपत्ता योद्धा स्मरण दिवस’ मनाउँछौं ।

नेपालमा ७ जेठ २०५६ मा काठमाडौंको सुन्धारा तेबःहालबाट तत्कालीन माओवादीका केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने लगायतका तीन जना सदस्य नवीन राई, कमला शर्मा, मिलन नेपालीलाई गिरफ्तार गरी बेपत्ता बनाएको थियो । असाध्यै प्रतिकूल समय २०५६ सालमा संस्थागत रूपमा राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालको स्थापना गरी २०६८ सालदेखि पहिलो चोटि नेपालमा बेपत्ता योद्धा स्मरण दिवस मनाउन शुरुआत गरिएको थियो ।

राज्यले मुक्तिगामी आन्दोलनमा सरिक भएका र राजनीतिक आस्था राखेकै कारण बलपूर्वक बेपत्ता पार्ने कार्यको थालनी गरेको कालो दिनको रूपमा हरेक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आइरहेका छौं ।

५ मंसीर २०६३ मा सम्पन्न विस्तृत शान्ति सम्झौतामा उल्लेख भए अनुसार ६० दिनभित्र बेपत्ताहरूको यथार्थ अवस्था परिवारलाई जानकारी दिने भनियो । नेपालको अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौतामा सशस्त्र द्वन्द्वको क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्न व्यक्तिहरूको बारेमा सत्य अन्वेषण र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न आपसी सहमतिबाट उच्चस्तरीय आयोग गठन गर्ने व्यवस्था गरियो ।

नेपालको अन्तरिम संविधान, २०६३ मा सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको सम्बन्धमा गठित छानबिन आयोगको प्रतिवेदनको आधारमा त्यस्ता व्यक्तिहरूका पीडित परिवारलाई राहत उपलब्ध गराउने प्रावधान पनि राखिए । २८ वैशाख २०७१ मा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन जारी भयो ।

व्यक्ति बेपत्ता पार्ने सम्बन्धी घटनाको छानबिन गरी वास्तविक सत्य, तथ्य जनसमक्ष ल्याउन, घटनाबाट पीडित व्यक्तिलाई परिचयपत्र प्रदान गरी परिपूरणको व्यवस्था गर्न र त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीको लागी सिफारिश गर्ने समेतको उद्देश्य सहित दुई छुट्टाछुट्टै आयोग गठन भए ।

आयोगको ऐन एवं अन्तर्राष्ट्रिय कानून समेतले व्यक्ति बेपत्ता पार्ने कार्यलाई मानवअधिकारको गम्भीर उल्लङ्घन र मानवता विरुद्धको अपराध भनी परिभाषित गर्‍यो । तर, आज पनि समस्या ज्यूँका त्यूँ नै छ ।

आज विस्तृत शान्ति सम्झौता भएको दशक वित्दा पनि बेपत्ता योद्धाहरूको अवस्था सार्वजनिक हुनसकेको छैन । आयोगहरूमा हजारौं उजुरीहरू दर्ता भएका छन् । उजुरीका आधारमा घटनाको छानबिन, सत्य अन्वेषण तथा अभिलेखन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने काम भएको छैन ।

महामारीको बेला न बिरामीलाई, न द्वन्द्व प्रभावितलाई राज्यले आफ्नो उपस्थिति देखाउन सकिरहेको छ, न महामारीको बेला प्रतिपक्षलाई साथमा लिई अगाडि बढ्नै सकेको अवस्था छ । तर पनि हामीसँग बेपत्ता योद्धाका स्मृति र योगदानका धेरै प्रश्न ज्यूँका त्यूँ छन् ।

त्यसैगरी पीडित तथा पीडकको संख्या यकिन गर्ने, पीडित वा निजको परिवारका सदस्यलाई परिपूरण उपलब्ध गराउन सिफारिश गर्ने, र पीडितलाई परिचयपत्र र छानबिनपछिको जानकारी उपलब्ध गराउने, पीडकलाई कारबाहीको लागि सिफारिश गर्ने, कुनै घटना सशस्त्र द्वन्द्वको क्रममा भएको हो वा होइन भन्ने विवाद भएमा त्यस उपरको निर्णय गर्ने जिम्मेवारी आयोगलाई दिइयो ।

तर, न आयोगले आफ्नो अधिकार प्रयोग गरी छानबिनको कार्य शुरू गर्न सक्यो, न त कुनै निष्कर्ष नै दिन सक्यो । बेपत्ता छानबिन आयोग अहिले पनि म्याद थप्दै तलब, भत्ता पचाउने बाहेक कुनै परिणाम दिनसक्ने अवस्थामा छैन ।

प्रतिकूल समयदेखि नै कहिले राज्यसँग त कहिले आफ्नै पार्टीको सरकार हुँदा पनि निरन्तर बेपत्ता योद्धा खोज अभियानमा सरिक परिवारहरू आज पनि त्यतिकै निरन्तर संघर्षमै छन् । सडकदेखि सदनसम्म, विभिन्न आयोग, सम्पूर्ण दलका नेताका घरदैलोसम्म आफ्ना परिवारको खोजी र न्यायको लागि नपुगेका कुनै ठाउँहरू छैनन् । वृद्ध अवस्थामा सन्तानको न्यानो मायामा बस्नुपर्ने समयमा सन्तानको कुनै जानकारीसम्म पनि नपाई अन्तिम सास लिएर बाँच्न बाध्य छन् ।

वर्षौदेखि न्यायको आशामा पलपलको अदृश्य पीडामा बाँच्न बाध्य हामी आज सार्वजनिक रूपमा कार्यक्रम गर्न सक्ने अवस्थामा पनि छैनौं । बेपत्ता योद्धाहरूको सास या लासको खोज अभियानमा हामी परिवारजनहरू निरन्तर लागिपरेका छौं । हामीसँग बेपत्ता योद्धाका स्मृतिसँगै कठोर र अनुत्तरित प्रश्नहरू ज्यूँका त्यूँ छन् ।

राज्यको संवेदनशीलता भन्दै परिवारजन कहिलेसम्म सास या लासको खोजीमा भौंतारिरहने ? वर्गविहीन समाजको महान् उद्देश्य र सपना बोकी संघर्षमा होमिएका योद्धाहरू आज गुमनाम छन् । परिवर्तनका सपनाहरू अझै अपूर्ण नै छन् । तर, जनयुद्धका कमाण्डर रामबहादुर (बादल) सत्ताको बागडोरमा छन् ।

उनी र उनी जस्तैलाई त्यो ठाउँमा पुर्‍याउने ती महान् मान्छेहरू, उनैका सुरक्षाका खातिर आफ्नो जीवन हत्केलामा राखेर रणमैदानमा होमिएका कमाण्डरहरू आज गुमनाम छन् । ती बेपत्ता योद्धाहरूलाई राज्यले औपचारिक रूपमा सत्यतथ्य पत्ता लगाई, वास्तविकता खोजी गरी सार्वजनिक र लिपिबद्ध गर्ने गृहमन्त्रीको आँट छैन ।

सिंगो देशले बेपत्ता योद्धाहरूलाई सम्झँदै राज्यसँग एउटै प्रश्न गरिरहेको छ, तिम्रा सहयोद्धाहरू कहाँ छन्, तिमी सँगै हिंडेका ती योद्धाहरू कुन अवस्थामा छन् ? किन तिनको अवस्था सार्वजनिक भएन ? देशमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भइसक्यो तर, गणतन्त्रको सपना बोकेका योद्धाहरू अझै किन बेपत्ता ?

बेपत्ता योद्धाहरूको वास्तविकता सार्वजनिक, बेपत्ता पार्ने कार्यमा संलग्न अपराधीहरूलाई कारबाही, बेपत्ता योद्धाहरूलाई राज्यले सम्मान र परिवारको अभिभावकत्व लिनुपर्ने दायित्व राज्यको हो । त्यतातिर किन कसैको ध्यान गइरहेको छैन ।

आज जनयुद्ध र जनआन्दोलनको जगमा स्थापित तिनै महान् योद्धाहरूको त्याग, तपस्या र बलिदानीबाट प्राप्त नेपालको संविधानमा टेकेर संचालन भइरहेको सरकारले बेपत्ता योद्धा परिवारप्रति उचित पहलकदमी किन नलिएको हो शंका छ ।

राज्यले उनीहरूलाई शहीद घोषणा गर्न सकिरहेको छैन । बेपत्ता योद्धाहरूको योगदानहरूलाई सम्मान दिन सकिरहेको छैन । तिनका परिवारहरूको अभिभावकत्व ग्रहण गर्न र दोषी उपरको कुनै कारबाहीलाई गम्भीर रूपमा अगाडि बढाएको देखिन्न ।

भनिन्छ, समयमै न्याय दिन नसक्नु न्याय नदिनु हो । राज्य, पीडित परिवारजनलाई कहिल्यै नमेटिने पीडामा छट्पटाउन बाध्य बनाएर अपराध भइरहेको छ । अर्कोतिर, महँगी, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती चुलिंदैछ । हजारौं परिवारजन दैनिक जीवनयापनको समस्यासँग जुधिरहेका छन् । त्यतातिर राज्यको ध्यान छैन ।

कोरोना महामारीका कारण विश्व ठप्प छ । सबैतिर अस्तव्यस्त र सङ्कट छ । हामी, हाम्रा निरन्तर बेपत्ता योद्धाहरूको खोजी अभियानमा छौं । यतिबेला कोरोना संकटसँगै हामी सबै जना बन्दाबन्दीमा बस्न बाध्य छौं । बिरामीहरू उपचार नपाएर सडकमै मृत्युवरण गरिरहन बाध्य छन् । अक्सिजन, बेड, आईसीयू, अस्पतालको अभावले राज्यविहीनताको अवस्था छ ।

नेपालमा अहिले जननिर्वाचित संघीय, प्रदेश र स्थानीय सरकारहरू छन् । एक वर्ष अगाडि नै फैलिएको महामारीले सजिलै छोड्दैन भन्ने थाहा थियो । तर, कसैले कुनै पूर्व तयारी गरेको देखिन्न । संकट दैलोमा पुग्ने बित्तिकै आत्तिंदै कुदाकुद, तँछाडमछाड गरिरहेको अवस्थामा छ ।

सरकारप्रति कसैको विश्वास छैन । न सत्ता पक्षको न प्रतिपक्षको, जनता त धेरै टाढाको कुरा । जसको कारण सत्ता पक्षकै मन्त्री सांसदहरूको आ–आफ्नै जिल्लामा अक्सिजन सिलिन्डर जम्मा गर्ने र जिल्ला–जिल्ला पुर्‍याउन प्रतिस्पर्धा गरिरहेको दृश्यले यो स्पष्ट गर्दछ ।

महामारीको बेला न बिरामीलाई, न द्वन्द्व प्रभावितलाई राज्यले आफ्नो उपस्थिति देखाउन सकिरहेको छ, न महामारीको बेला प्रतिपक्षलाई साथमा लिई अगाडि बढ्नै सकेको अवस्था छ । तर पनि हामीसँग बेपत्ता योद्धाका स्मृति र योगदानका धेरै प्रश्न ज्यूँका त्यूँ छन् ।

(रूपा संविधानसभा सदस्य तथा राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज, नेपालको केन्द्रीय सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment