+
+
Shares

सामाजिक सञ्जालमा आक्रोशपूर्ण प्रतिक्रिया : ‘नहुने चुनाव, सत्ता लम्बाउने खेल !’

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ८ गते ९:४४

८ जेठ, काठमाडौं । प्रधानमन्त्रीमा कसैको पनि दाबी नपुगेको भन्दै संसद विघटन गरी चुनावका जाने निर्णयकाविरुद्ध आक्रोशपूर्ण प्रतिक्रियाहरु आइरहेका छन् । कतिपयले कोरोना महामारीविरुद्ध लड्ने बेला अर्बौं रुपैयाँ खर्चेर चुनावमा जाने निर्णयको विरोध गरेका छन् । कतिपयले नहुने चुनावको घोषणा अनवरत शासन गर्ने सोचबाहेक केही नभएको प्रतिक्रिया दिएका छन् ।

केही भने फेरि यो मुद्दा सर्वोच्च अदालतमा जाने र सर्वोच्चले लिने निर्णयले नेपाली राजनीतिको भावी बाटो तय गर्ने अनुमान गरेका छन् । उत्तमबाबु श्रेष्ठले चुनावमा जाने निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली गुटको कुर्सि लम्बाउने खेलको रुपमा लिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘चुनाव घोषणा बाहेक केपीसँग कुर्सि लम्बाउने अन्य उपाय सकिइसकेको थियो । दिउँसै भनेका थिए–मलाई विश्वास देउ, नत्र म चुनावमा जान्छु । चुनावमा भन्नेछन्– मलाई भोट देऊ नत्र म चुनाव गर्दिनँ । संकटको समयमा यो चुनावको घोषणा विद्याओली गुटको अनवरत शासन गर्ने सोच बाहेक केही होइन ।’

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारको नेतृत्वको दाबी पनि अस्वीकृत भएका प्रधानमन्त्रीले संसद भंग गर्न मिल्छ ? भनेर प्रश्न गरेका छन् । यद्यपि प्रश्नहरु फेरि पनि सर्वोच्च अदालतमा ठोक्किएको भन्दै उनले सर्वोच्चले गर्ने निर्णयले भावी बाटो तय गर्ने बताएका छन् । उनले भूराजनीतिक चलखेल, आन्तरिक राजनीति र व्यक्तिहरुको महत्वाकांक्षाको असर सर्वोच्चमा नपरोस् भन्ने कामना पनि गरेका छन् ।

जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले भने कोरोना भाइरसविरुद्धको खोप विना चुनावमा जान नपाइने उल्लेख गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘म राजनीति बुझ्दिनँ, तर विकसित घटनाक्रममा मेरो एकल माग : अधिकांश जोखिम समूह लगायतलाई विनाखोप चुनावमा जान पाइन्न ।’

कमल लामिछानेले चुनाव हुनेमा शंका व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘यिनले नजित्ने चुनाव गराउन्नन् । गराइहाले पनि सहज सत्ता छोड्दैनन् ।’ पछिल्लो कदमलाई ‘विधि र नैतिकता नहुँदाको फल’ भनेर टिप्पणी गरेका उनले लेखेका छन्, ‘कमल थापाबाहेक अरुले यिनले गराउने चुनावमा धेरै आश नगरेको बेस ।’

लेखक मुमाराम खनालले कथित निर्वाचनको कुरा गरिएको टिप्पणी गरेका छन् । ओलीलाई कुनै पनि संस्थागत संरचनाका नियम, विधि र मर्यादाप्रति सरोकार र रुचि नभएको जिकीर गर्दै खनाल भन्छन्, ‘कथित निर्वाचन गर्ने कुरा त उनले बेसार पानी र बेलौतीको पातसमेत नखाइकन चट पार्नेछन् । होस गरौं ।’

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पछिल्लो कदमलाई संविधानको हत्या गर्ने र सत्ता कब्जा गर्ने षडयन्त्रको रुपमा बुझेका छन् । ‘यो नाङ्गो नाच हो । फेरि पनि प्रम र राप मिलेर राष्ट्रपति संस्था र संसद्को हत्या गरियो । प्रतिपक्षको दाबी आउनासाथ प्रधानमन्त्री हतार–हतार शितलनिवास पुगेर फेक दाबी गर्नु र दुवैको दाबी पुगेन भन्नु भनेको संविधानको हत्या गर्ने नियत हो । सत्ता कब्जा गर्ने षड्यन्त्र हो । हामी चुप बस्दैनौं,’ पाण्डेले लेखेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?