Comments Add Comment

‘चुनाव महामारी फैलाउने निहुँ नबनोस्’

८ जेठ, काठमाडौं । चुनावी गतिविधिको चहलपहलले कोरोना संक्रमणको महामारी झनै बढ्न सक्ने भन्दै जनस्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारले तोकेको कात्तिक २६ र मंसिर ३ गतेको चुनावको मितिसम्म पनि महामारी नरोकिने आकलन गर्दै उनीहरुले अहिले चुनाव गराउनु उपयुक्त नहुने धारणा राखेका हुन् ।

दोस्रो लहरको कोरोना महामारी फैलाउनुमा राजनीतिक सभा सम्मेलन नै मुख्य दोषी रहेको भन्दै जनस्वास्थ्य विद् डा. शेरबहादुर पुनले महामारी नियन्त्रणको प्रभावकारी कदम नचाली चुनावमा जाँदा घातक हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

यसैगरी अर्का जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले महामारीका बीचमा गरिएको चुनावबाट स्वास्थ्य संकटमा परेका देशहरुको उदाहरण दिँदै यहाँ पनि त्यस्तो गल्ती नदोहो¥याउन सुझाव दिएका छन् । महामारीविरुद्ध लड्नुपर्ने बेलामा घोषणा गरिएको चुनावबारे हामीले डा. मरासिनी र डा. पुनसँग प्रतिक्रिया लिएका छौं ।

मंसिरसम्म महामारी साम्य हुँदैन, अहिलेको अवस्थामा चुनाव उपयुक्त छैन

डा. बाबुराम मरासिनी
मुलुकमा अहिले कोरोना भाइरसको महामारी चरम विन्दुमा छ । कोरोना भाइरसकै नयाँनयाँ लहरहरु आइरहेका छन् । कुन लहर कति घातक हुन्छ भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन । तर सरकार भने कोरोना महामारी नियन्त्रणलाई भन्दा ताजा जनादेशलाई प्राथमिकता दिएर अघि बढेको छ ।

अहिले महामारी नियन्त्रणमा सरकारको कदमलाई स्वतन्त्र विश्लेषण गर्ने हो भने अस्पतालमा पीसीआर परीक्षण गरिदिनेबाहेक सरकारले केही पनि गर्न सकेको छैन । आजसम्म कोरोना भाइरस नियन्त्रणको लागि एउटा फोकल पर्सन तोकेर काम गर्न सकेको छैन।  त्यो भएपछि प्रभावकारी रूपमा यसको नियन्त्रण त असम्भव हुनु स्वाभाविक नै रह्यो ।

यसरी महामारी नियन्त्रणमा प्रभावकारी कदम नचाल्दासम्म सरकारले तोकेको चुनावी मितिसम्म कोरोनाको महामारी साम्य होला भन्ने मलाई लाग्दैन । अब कुरा आयो महामारीकै बीचमा चुनाव गर्दा के हुन्छ ? महामारीकै बीचमा केही मुलुकले चुनाव त गरेका छन् । तर चुनावपछि ती देशहरुमा कोरोनाको झनै महामारी बढेको देखिन्छ ।

महामारीको बीचमा चुनाव गरिएका मुलुकहरुमा कि त महामारीले भयावह रूप लिएको छ, या त संक्रमणदर शून्यमा झरेपछि मात्रै चुनावमा गएका छन् । चुनाव अघि नेपालमा संक्रमणदर शून्यको सम्भावना अत्यन्तै न्यून छ । 

उदाहरणको लागि न्युजिल्याण्डमा चुनाव भयो तर त्यहाँ संक्रमणदर शून्यमा झरेपछिमात्रै चुनाव गरिएको थियो । त्यसैले त्यहाँ कुनै समस्या भएन । कोरियामा महामारीका बीच राष्ट्रपतिको चुनाव भयो । त्यहाँ पनि चुनावपछि महामारी तीब्र रुपमा फैलियो । पोल्याण्डमा पनि चुनाव भयो, चुनावपछि त्यहाँ पनि महामारी तीब्र रुपमा फैलियो ।

संयुक्त राज्य अमेरिकामा महामारीका बीचमा चुनाव भयो । अमेरिकाको भूगोल नै अत्यन्त ठूलो भएकोले त्यहाँ एकातिर महामारी फैलिएको बेलामा अर्काेतिर गर्ने र अर्काेतिर फैलिएको बेलामा अर्काेतिर चुनाव गरेर सकियो । तर नेपालको अवस्था ती देशहरुमा जस्तो छैन । कोरोना नियन्त्रणमा केही नगर्ने सरकारले राजनीतिक गतिविधि हुने र भिडभाड हुने चुनावी गतिविधिले जनस्वास्थ्यमा संकट निम्त्याउँछ भन्ने लाग्छ । त्यसैले जनस्वास्थ्यको दृष्टिले यो समय चुनावको लागि उपयुक्त छैन ।

अहिले पनि मान्छे मोटरसाइकलमा एक ठाउँबाट अर्काेठाउँमा हिँडिरहँदा भाइरसको प्रसार धेरै भएको पाइएको छ । गाउँगाउँसम्म पुगेको कोरोना महामारी चुनावको बाहानामा झनै प्रसार हुन सक्छ । यसले झनै ठूलो संकट निम्तिन्छ । अहिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने चलन नै छैन । त्यसैले अहिले चुनावभन्दा महामारी नियन्त्रणमा प्रयास गर्नु उपयुक्त लाग्छ ।

पहिलो लहरको गल्ती नदोहोर्‍याऔं

डा. शेरबहादुर पुन

कोरोना महामारीको यो समयमा हाम्रो अर्जुन दृष्टि भनेको कोरोना नियन्त्रणमा लाग्नुपर्ने हो । तर सरकारले आफ्नो प्राथमिकता यसमा नरहेको देखाएको छ । यसले हामीले पहिलो लहरमा गरेको गल्ती दोहोर्‍याउन लागेको त होइन ? भन्ने चिन्ता बढेको छ ।

पहिलो लहरको कोरोना महामारी केही मत्थर भएपछि हामी राजनीतिक सभासम्मेलन र जुलुसमा लाग्न थाल्यौ । सबैजसो राजनीतिक दलहरूले हजारौं मान्छे काठमाडौंमा उतार्ने होड चल्यो । त्यतिबेलासम्म पनि कोरोना मत्थर भइसकेको थिएन । भलै यसमा अन्य जात्रा उत्सवहरु पनि कारक छन् । तर यसको मुख्य जिम्मेवार राजनीतिक सभा सम्मेलन नै थिए । केही मत्थर भएको बेलामा हामीले गरेको यही लापरबाहीले दोस्रो लहरमा यति ठूलो क्षति व्यहोर्नुपरेको छ ।

अब सरकारले तोकेको चुनाव आउन मुस्किलले छ महिना पनि छैन । त्योभन्दा अघि नाराजुलुस गर्ने समय पनि चाहिएला । त्यो बीचमा सामाजिक दुरी र स्वास्थ्य मापदण्डको कुरा आउँदैन । त्यो त पहिलो लहरपछि केही मत्थर भएको बेलामा सरकार र राजनीतिक दलहरूले देखाएको व्यवहारले पनि स्पष्ट पारिसकेको छ । चुनाव अघि राजनीतिक दलले जुलुस गर्नैपर्ने होला, घरदैलो गर्नै पर्ने होला । त्यस्ता गतिविधिको लागि २ महिना अघिदेखि तयारी सुरु होला ।

यस्तो अवस्थामा  सुरक्षित हिसाबले कोरोनाबाट बचेर चुनाव सम्पन्न गर्नको लागि अबको चार महिनामा महामारी नियन्त्रणमा आउनु पर्छ । त्यसको लागि पर्याप्त खोप लगाउने गरी कार्यक्रम गर्ने हो भने त यो सम्भव पनि होला । तर, अहिलेसम्म खोपको बारेमा देखिएको अन्यौलले त्यो पनि सम्भव होला जस्तो लाग्दैन । त्यसैले सरकारले तोकेको मितिमा चुनाव गर्नु जनस्वास्थ्यको दृष्टिले चाहिँ उपयुक्त देखिँदैन ।

हामीले चाहँदा चाहँदै पनि काहीँ न काहीँ जनस्वास्थ्यको मापदण्ड उल्लंघन गरिहालिन्छ । कोरोना भाइरसको महामारी पनि हरेक लहरमा शक्तिशाली र कमजोर बन्ने शृङ्खला हुन्छ भन्ने त देखियो । त्यसैले यो महामारीमा फेरि हामीले अर्को गल्ती नगरौं  ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment