+
+
Shares

चुनावअघि नियमित महाधिवेशनको पक्षमा खुले देउवा पक्षकै नेताहरू

सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतका २४ जना सदस्यहरू आइतबार पनि काठमाडौंको कालिमाटीमा छलफलमा जुटेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १६:१८

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका दुई दर्जन सदस्यहरू चुनावअघि नै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा उभिएका छन् । १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट निर्वाचित भएकाहरूले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतका २४ जना सदस्यहरू आइतबार पनि काठमाडौंको कालिमाटीमा छलफलमा जुटेका थिए । उनीहरू सबैले केन्द्रीय समितिमा धारणा राख्ने क्रममा चुनावअघि नै महाधिवेशन गर्नुपर्ने बताएका थिए ।

छलफलमा सह महामन्त्री फरमुल्लाह मन्सुरसहित केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, डा.डिला सङ्ग्रौला, देवेन्द्र राज कँडेल, अमृत अर्याल, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, तारामान गुरुङ, मोहन आचार्य, बिनोद चौधरी, धना खतिवडा, कर्ण ब बुढा, अर्जुन प्र जोशी, मैकुलाल वाल्मीकि, भरत कुमार शाह, अब्दुल रज्जाक, आङगेलु शेर्पा, मदन अमात्य, माया राई, जिप छिरिङ लामा, मदन कृष्ण श्रेष्ठ, प्रदीप सुनुवार लगायत सहभागी थिए ।

उक्त बैठकमा सहभागी एक नेताका अनुसार, आजको बैठकले सबै चुनावअघिकै पक्षमा उभिएका छन् । ‘चुनाव अघि अधिवेशन गर्नुपर्छ भन्ने साथीहरूको बैठक थियो । २४ जना जति थियौं,’ ती नेताले भने, ‘त्यसैमा स्ट्यान्ड राख्ने भन्ने अडान लिएका छौं ।’

उक्त बैठकको निष्कर्ष लिखित रुपमा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी रहेको पनि उनले बताए ।

‘सबैको पदावधि पनि सकियो । हामीले लिखित रुपमा कार्यबाहक सभापतिलाई दिन्छौं,’ ती नेताले भने, ‘अहिले नियमित नै हुनुपर्‍यो ।’

कांग्रेसमा चुनाव अघि वा पछि महाधिवेशन गर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । केन्द्रीय समिति बैठकमा यही विषयमा विभिन्न कार्यतालिका समेत पेश भएका छन् ।

यद्यपि कांग्रेसले महाधिवेशनबारे निर्णय लिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?