Comments Add Comment
एम्बुलेन्स चालकका पीडा  :

संक्रमित बोक्दाबोक्दै संक्रमण, कसले देख्‍ने दुःख ? 

८ जेठ, धनगढी । कञ्चनपुरका राजेन्द्र तामाङलाई कोरोना संक्रमित बिरामी बोक्दैमा फुर्सद भएन । विगत नौ दिनदेखि भने उनी आफैं कोरोना भाइरससँग जुधिरहेका छन् । उनी पेशाले एम्बुलेन्स चालक हुन् ।

चार वर्षदेखि नेपाल रेडक्रस सोसाइटी वाइसेविचुवा शाखाको एम्बुलेन्स चलाउँदै आएका तामाङलाई बिरामी बोक्दाबोक्दै कतिबेला आफू संक्रमित भएँ भन्ने नै पत्तो भएन ।

कञ्चनपुरको पुनर्वास, बेलौरीलगायतका क्षेत्रबाट ज्वरो आउने, शरीर दुख्ने, श्वासप्रश्वासमा समस्या भएका सयौं मानिसलाई तामाङले एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याए ।  रातबिरात नभनेर धनगढीको सेती प्रादेशिक अस्पताल, महेन्द्रनगरको महाकाली अस्पताल, नेपालगञ्जको भेरी अस्पताल र कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजसम्म बिरामी ओसारे ।

कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण भएका मानिस बोक्दा तामाङलाई डर त लाग्थ्यो तर पनि बिरामी सिकिस्त भएको फोनले उनको मन थामिंदैन थियो ।

‘त्यस्ता बिरामीलाई म नगएपछि कसले बोकिदेला ? जस्तो लाग्थ्यो,’ उनले अनलाइनखबरसँग भने, ‘संक्रमित हो कि होइन कसरी थाहा पाउने । पेशा नै बिरामी बोक्ने भएकाले मनले मान्दैथ्यो । आखिरमा आफैं संक्रमित हुन पुगेछु ।’

१० दिन अघि मात्र नेपालगञ्जमा बिरामी छोडेर आएका उनले शरीर दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएपछि एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण देखिएको हो ।

एम्बुलेन्स चालक मदन ढुंगाना भन्छन्– सरकारले कोभिड र नन कोभिड भनेर छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्थापन गरेको छैन । संक्रमितले पनि फोन गर्नहुन्छ । अस्पतालसम्म पुर्‍याउनैपर्छ । अन्य बिरामीलाई पनि बोक्नुपर्छ । यसरी हामीबाटै संक्रमण फैलिन्छ कि भन्ने चिन्ता लाग्छ ।

केही दिन त उनले कोरोना संक्रमितलाई समेत बोकेका थिए । होम आइसोलेसनमै रहेका तामाङलाई बिरामीका फोन आइरहन्छन् तर उनी असमर्थता जनाउन विवश छन् । ‘मास्क, स्यानिटाइजर र पीपीईबिना बिरामी बोक्दाबोक्दै संक्रमित भएँ । अहिले म आफैं थन्किएको छु,’ उनले गुनासो गर्दै भने, ‘हौसला दिने पनि कोही छैन । कस्तो छ भनेर न कसैका फोन आएको छ ।’

संक्रमितको ज्यान जोगाउन राज्यले कम्तीमा आफूहरूजस्ता अग्रपंक्तिमा खटिनेको उपचारको व्यवस्था गरिदिनुपर्ने उनको माग छ । उनी घरमै बसिरहेका छन् । उनको चिन्ता छ, ‘अरुको ज्यान जोगाउन हिंड्दा आफैं संक्रमित भएँ । अब परिवारका अन्य सदस्यलाई पनि संक्रमण हुने हो भन्ने चिन्ताले सताएको छ ।’

आफूबाट संक्रमण फैलिने डर

कैलालीको धनगढी उपमहानगरपालिकाका मदनकुमार ढुङ्गाना पनि पेशाले एम्बुलेन्स चालक हुन् । विगत १० वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका उनी बिरामी बोक्नु नै आफ्नो धर्म ठान्छन् । कोरोना भाइरसको महामारीमा पनि उनी आफ्नो धर्म निभाउन कञ्चनपुरका राजेन्द्र तामाङ जस्तै सक्रिय छन् ।

शहीद तथा बेपत्ता परिवार समाज कैलालीको एम्बुलेन्स चलाउँदै आएका उनी अहिले कोभिड र नन कोभिडका बिरामी बोक्न सक्रिय छन् ।

‘सरकारले कोभिड र नन कोभिड भनेर छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्थापन गरेको छैन,’ ढुङ्गानाले अनलाइनखबरसँग भने, ‘संक्रमितले पनि फोन गर्नहुन्छ । अस्पतालसम्म पुर्‍याउनैपर्छ । अन्य बिरामीलाई पनि बोक्नुपर्छ । यसरी हामीबाटै संक्रमण फैलिन्छ कि भन्ने चिन्ता लाग्छ ।’

पहिलो चरणको कोरोना महामारीका बेलाजस्तै अहिले पनि स्थानीय तहहरूले कोरोना संक्रमितका लागि छुट्टै र अन्यका लागि छुट्टै एम्बुलेन्स व्यवस्थापन नगर्दा जोखिम बढेको उनको भनाइ छ ।

‘सरकारले कोभिड र अन्य बिरामीका लागि अलगअलग एम्बुलेन्स व्यवस्थापन गर्नुपर्थ्यो तर त्यसो हुन सकेको छैन,’ उनले भने, ‘अर्कोतिर हामी मास्क, स्यानिटाइजर, पीपीई जस्ता स्वास्थ्य सामग्रीको अभावमा पनि काम गरिरहेका छौं । हामीलाई संक्रमण भयो भने परिवारलाई जोखिम छ ।  हाम्रै परिवारबाट समुदायमा फैलिने खतरा छ ।’

ढुङ्गाना आफूले कोरोनाविरुद्धको खोप लगाएपनि संक्रमित बोकेपछि पनि परिवारसँगै बस्नुपर्ने बाध्यता भएकाले संक्रमण फैलिने चिन्ता बढेको बताउँछन् । अहिले बढीजसो  संक्रमितकै फोन आउने र उनीहरूलाई घरबाट अस्पतालसम्म पुर्‍याउने काम ढुङ्गानाले गर्दै आएका छन् ।

१२ वर्षदेखि एम्बुलेन्स चलाउँदै आएका धनगढीकै बमबहादुर बोहरा पनि स्वास्थ्य सुरक्षा सामग्रीको अभावमै कोरोना संक्रमित बोकिरहेका छन् । उनी पनि आफूबाट परिवार र परिवारबाट समाजमा कोरोना नफैलियोस् भन्ने ‘भगवान भरोसा’मा छन् ।

थोरै रकममा काम, उल्टै हामीसँगै गुनासो’

एम्बुलेन्स चालक संघ सुदूरपश्चिमका अध्यक्ष लक्ष्मणबहादुर सिंह महामारीमा कुनैपनि निकायले आफ्ना मर्का नबुझिदिएको बताउँछन् । उल्टै आफूहरूसँग गुनासो गर्ने प्रवृत्ति बढेकोप्रति उनी खिन्न छन् ।

स्थानीय तहले कोभिड र अन्य बिरामीका लागि अलगअलग एम्बुलेन्स व्यवस्थापन गर्नुपथ्र्यो तर त्यसो गरेको छैन । एउटै एम्बुलेन्सले कोभिड र नन कोभिडका बिरामी बोकिरहेका छन् । त्यसमाथि एम्बुलेन्स चालकलाई मास्क, स्यानिटाइजर, पीपीई जस्ता स्वास्थ्य सामग्रीको अभाव छ ।

‘अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई राज्यले थप भत्ताको व्यवस्था गरेको छ,’ सिंहले अनलाइनखबरसँग भने, ‘तर हामी एम्बुलेन्स चालकहरूलाई कसैले वास्ता गरेको छैन । बरु उल्टै गइदिएनन् भन्ने गुनासो मात्र गरिन्छ ।’

स्थानीय प्रशासन र प्रदेश सरकारलाई समस्या सुनाउँदा समेत बेवास्ता गरिएको उनको भनाइ छ । ‘कोभिडका बेला एम्बुलेन्स कसरी परिचालन गर्ने, त्यसको मोडालिटी बनाऔं भनेर हामीले जिल्ला प्रशासन कार्यालय र प्रदेशको सामाजिक विकास मन्त्रालयलाई भनेका थियौं तर उहाँहरूले वास्ता नै गरिदिनुभएन,’ उनले गुनासो पोख्दै भने, ‘अहिले चिनेजानेका, राजनीतिक र प्रशासनिक दबाब दिएर काम गराउन खोजिएको छ । यसले कति दिन चल्ला ? पहुँच नभएको व्यक्तिले कसरी एम्बुलेन्स व्यवस्थापन गर्ने ?’

एम्बुलेन्स चालकहरू अहिले पनि मासिक ७/८ हजार रुपैयाँ पारीश्रमिकमा काम गर्न बाध्य भएकाले अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने माग चालक संघले गरेको छ ।

एउटै एम्बुलेन्सको भरमा सेती प्रादेशिक अस्पताल

सुदूरपश्चिम प्रदेशकै एक मात्रै रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल यतिबेला कोरोना संक्रमितको उपचार केन्द्र बनेको छ । प्रदेशका ९ वटै जिल्लाका गम्भीर संक्रमितलाई उपचारका लागि यहाँ रेफर गरिन्छ । तर सेती प्रादेशिक अस्पतालसँग कोरोना संक्रमित बोक्न एउटा मात्र एम्बुलेन्स छ । जसका कारण अस्पताललाई समस्या हुने गरेको छ ।

‘प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले संक्रमित बोकिरहेका छौं,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भने, ‘कहिलेकाहीं एकैपटक दुई, तीनजनाको फोन आयो भने गाह्रो भइदिन्छ । त्यस्तो अवस्थामा हामी पालैपालो गरेर उहाँहरूलाई ल्याउने गरेका छौं ।’

अर्कोतर्फ अस्पतालसँग संक्रमित बोक्ने एम्बुलेन्स चलाउने चालक पनि एक जना मात्र छन् । केही गरी उनी बिरामी परे वा कामविशेषले बाहिर जानुपर्‍यो भने त्यस्तो अवस्थामा बिरामी कसले बोकिदिने ? भन्ने अप्ठेरो छ ।  तर सूचना अधिकारी श्रेष्ठ अहिलेसम्म त्यस्तो अवस्था सिर्जना नभएकाले त्यस्तो भइहाले शवबाहन चालकको सहयोग लिनुपर्ने बताउँछन् ।

सम्बन्धितले नै व्यवस्थापन गर्नुपर्छ : मन्त्रालय

प्रदेशको सामाजिक विकास मन्त्रालयले भने सरकारीबाहेकका एम्बुलेन्स चालकको हकमा सम्बन्धित संघसंस्थाले नै व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख समेत रहेका प्रवक्ता नरेन्द्र कार्कीले निःशुल्क संक्रमित बोकेको अवस्थाबाहेक सम्बन्धित संस्थाले नै चालकको व्यवस्थापन गर्नुपर्ने बताए ।

‘अब उहाँहरूका गुनासा के कस्ता छन्, हामीसँग आउनुपर्‍यो,’ कार्कीले भने, ‘तर निःशुल्क सेवा दिएको बाहेक सम्बन्धित संस्थाले नै उहाँहरूको व्यवस्थापन गर्नुपर्ने हुन्छ । सरकारले खोपलगायतका कुराहरूमा उहाँहरूलाई पनि प्राथमिकता दिएकै हो ।’ तर सीमा नाका र कुनै आइसोलेसन सेन्टरमा सेवा दिएको अवस्थामा मात्रै केही सोच्न सकिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment