+
+
Shares

रुपन्देही ३ उपचुनाव : सन्तोष गिरीले थाले घरदैलो

टोपराज शर्मा टोपराज शर्मा
२०८२ असार ३२ गते ८:२९
घरदैलो अभियान सुरु गरेका सन्तोष गिरी (वायाँ) ।

३२ असार, बुटवल । आउँदो कात्तिक १७ गते हुने रूपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भन्दै सन्तोष गिरीले घरदैलो अभियान सुरु गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ मा पर्ने तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनी स्थायी घर भएका ३३ वर्षीय गिरीले एक हप्तादेखि मतदातालाई भेट्दै आफू बालेन साहको टिमको उम्मेदवार बन्ने भन्दै प्रचार गरिरहेका छन् ।

०७९ सालको निर्वाचन जितेर सांसद बनेका राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधन भएकाले आगामी कार्तिक १७ गते उपनिर्वाचन हुन लागेको छ ।

गत निर्वाचनको समानुपातिक मतका आधारमा धेरै मत पाएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपा र सात मधेश केन्द्रित दलहरुको संयुक्त लोकतान्त्रिक मोर्चाबाट उम्मेदवार टुंगो लाग्न बाँकी छ ।

हालसम्म राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै गत वैशाखमा राप्रपा छाडेका भैरहवाका इट्टा उद्योगी अजयकुमार गुप्ता र बुटवल मोतिपुरका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।

सन्तोष गिरी भने स्वतन्त्र उम्मेदवारी दिने भन्दै निर्वाचन क्षेत्रका वडाहरु घुमिरहेका छन् ।

उम्मेदवारी दिने निश्चित भएपछि नेपाल स्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृतको जागिर छाडेको उनी बताउँछन् । ‘पहिलो चरणको भेटघाट सकेपछि साउन २३ गते उम्मेदवारीको औपचारिक घोषणाको तयारीमा छु,’ गिरीले भने ।

विगतमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देहीको सहसचिव भएर काम गरेका गिरीले अर्थशास्त्रमा स्नातकोत्तर गरेको बताउँछन् ।

यस्तो छ विगतको नतिजा

९० हजार मत खसेको २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ र राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपाले ५ हजार मत पाएको थियो ।  लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत पाएका थिए ।

रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, शुद्धोधन गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका सबै वडा, सियारी गाउँपालिकाको वडा नं १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा नं २, मायादेवी गाउँपालिकाको वडा नं ७ र ८, तिलोत्तमा नगरपालिकाको वडा नं १३ र १४ र बुटवल उपमहानगरपालिकाको वडा नं १४ देखि १९ वडा समेटिएको छ ।

२०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेको यहाँ ०५१ मा एमालेका धनपति उपाध्यायले जितेका थिए । उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले जितेका थिए । २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जिते भने २०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि बालकृष्ण खाँण निर्वाचित भए ।२०७० सालमा पुरानै निर्वाचन क्षेत्र हुंदा दीपक बोहरा राप्रपाबाट विजयी भएका थिए । २०७४ मा नयां भूगोल समेटेर क्षेत्र नं ३ बनेपछि एमालेका घनश्याम भुसाल र २०७९ मा पुनः राप्रपाका दिपक बोहरा एमालेको समर्थनमा विजयी भएका थिए ।

२०७४ सालमा नेपाली कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । तर, एमालेका तर्फबाट घनश्याम भुसालले ३२ हजार ८६६ मत ल्याएर जिते । बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?