+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
किनाराको बस्ती- ७ :

जहाँ जुलुस उठाउन गाडी पुग्छ, बिमारी उठाउन एम्बुलेन्स पुग्दैन 

पार्टीका कार्यक्रम हुँदा गाडी नै बोकेर जुलुस उठाउन आउने राजनीतिक दलहरूले गाउँले बिरामी हुँदा एउटा एम्बुलेन्स पठाएर उद्धार गरेको सम्झना छैन झुप्राका नागरिकलाई ।

बिनु सुवेदी बिनु सुवेदी
२०८२ असार १ गते २२:५०

दैलेखका विष्णु बादी आफ्नै समुदायका अरू सदस्यहरूको तुलनामा अलि फरक थिए । उनले सानैमा २-४ अक्षर भए पनि पढ्न पाए । अरूभन्दा चेतनशील भए । समुदायका लागि काम गर्न संगठित नै हुनुपर्छ भन्ने लागेर हो सायद- उनी नेपाल राष्ट्रिय समाज कल्याणको दैलेख जिल्लाका उपसभापति भए ।

तर ‍विष्णुको जिन्दगीमा यसको उल्टो असर पर्‍यो। उनले समुदायको उत्थानका लागि समुदायलाई जागरूक बनाउँछु भनेर हिँड्दै गर्दा टोलटोलमा चिलिम र सुल्पा बेच्ने अनि बाली उठाएर घर धान्ने उनकी श्रीमती र बादी समुदायका अरू महिलाहरूलाई गाउँका ठूलाबडाले गाली गर्न थाले। श्रीमान् नेता भएर भाषण गर्दै हिँड्ने श्रीमती बाली उठाउँदै हिड्ने भनेर कतिले त छिछि दुरदुर पनि गरे । श्रीमतिलाई गाउँलेले गरेको गालीले उनलाई अप्ठ्यारो लाग्यो, अनि विष्णुले गाउँ नै छोडेर हिँड्ने निधो गरे । यो २०४४ सालतिरको कुरा हो ।

उनी परिवार नै बोकेर सुर्खेत वीरेन्द्र नगरको झुप्रा खोलाको किनारमा बास बस्न पुगे । त्यसबेलासम्म घना जंगलको बीचमा रहेको झुप्रा खोलाको किनारामा राजी समुदायका पाँच-सात घरमात्रै थिए । विष्णु बादीसहितका परिवार दैलेखबाट आए पछि १६-१७ घरधुरी भए । अहिले झुप्रा बस्तीमा १३५ घरपरिवार छन्।

‘भेरीको पुलभन्दा पहिला म आएको हुँ। ०४४ मा आएँ ।  ०४५ मा भेरीको पुल आयो । उसबेला बालुवा ढुंगा जम्मा गर्न पर्दैनथ्यो। हामीहरुले साढे ३ सय रूपैयाँ टिप बालुवा बेच्थ्यौं,’ उनले भने, ‘जब जेसीबीले पाइला टेक्यो । हाम्रो उठीबास भयो । हामीलाई धेरै समस्या छ ।’

घरहरूको संख्यासँगै दु:खको आयतन पनि बढ्यो यो बस्तीमा। हुन त यहाँ बस्न आउनेहरू कतै न कतैबाट कुनै न कुनै पीडाले लखेटिएर आएका हुन् । तर, बर्मा गए कर्मसँगै !  दु:खले किन छोड्थ्यो र ?  सबथोक स्वीकार गरे उनीहरूले।

एक झर पानी पर्दा  र चर्को घाम लाग्दा चाहिने ओतमात्रै होइन उनीहरूका लागि यो बस्ती र बस्तीमा गच्छेअनुसार बनाएका यी घर। तर, सपना बाँड्न आउनेहरूले दिएको धोका एक जिन्दगी बाँच्न उनीहरूले काटेको दु:खभन्दा कति हो कति गहिरा छन्

‘भोट माग्दाखेरी  पानी घरमै ल्याइदिन्छम भन्नुहुन्छ । जितेपछि आउनुहुन्न। अर्को चुनाव नआएसम्म बिर्सिनुहुन्छ। हुन्छ, हुन्छ भन्दाभन्दै हाम्रो दिन गयो,’ स्थानीय पार्वती नेपालीले भनिन्,  ‘बच्चाबच्चीको दिन के होला भनेर तनाव हुन्छ।’

पहिले झुप्रा खोलामा बालुवा चालेर पनि यिनीहरूको गुजारा चल्थ्यो। संघीयतापछि नगरपालिकाले त्यो पनि ठेक्कामा लगाएपछि युवाहरूले काम पाउनै छोडे । महिलाहरू कालापहाड जान डराए ।

बेरोजगारीले गरिबीको रेखा झन गाढा बनाइदियो। बस्ती चहार्दै गर्दा हामीले दु:खका अनेक आयाम देख्यौं। गरिबीको गहिराई दु:खको दूरी  र कष्टको कहर यो बस्तीको पहिचानजस्तै रहेछ। बस्तीको बुझाइ नै छ, रोग बिमार लाग्नु भनेको काल पर्खेर बस्नु हो ।

तर, पार्टीका कार्यक्रम हुँदा गाडी नै बोकेर जुलुस उठाउन आउने राजनीतिक दलहरूले गाउँले बिरामी हुँदा एउटा एम्बुलेन्स पठाएर उद्धार गरेको सम्झना छैन झुप्राका नागरिकलाई ।

कोहलपुर-सुर्खेत विद्युत प्रशारण लाइन यही बस्ती भएर जान्छ तर बस्ती अन्धकारमा छ, जंगलैजंगलको बीचमा बस्ती छ तर घाँस दाउराको अभाव छ, बर्खामा बाढी र हिउँदमा ब्याधी बोकेर आउने झुप्रा खोला र भेरी नदी छेउछाउमै छन् उनीहरू तर खानेपानी छैन।

जुलुसमा मान्छे चाहिदा र चुनावमा भोट पाइदासम्म मात्रै यी बस्ती पुग्नेहरू अरू बेला यहाँका मान्छेलाई किन मान्छेजस्तै व्यवहार गर्न सक्दैनन? समाजबाद उन्मुख राज्यमा के एउटा मान्छेले अर्को मान्छेलाई यतिसम्म विभेद गर्न सक्छ?  के राज्यले आफ्नै नागरिकलाई नागरिक नै स्वीकार नगर्न मिल्छ ?

(किनाराका बस्ती अनलाइनखबरको भिडियो शृङ्खला हो । यो शृङ्खलामा राज्यले सधैंभरि किनारामा पारेका बस्तीका कुराहरू हामी उधिन्छौं, दुःख सुख-अप्ठ्यारा, सप्ठ्याराका कुरा गर्छौं । दलहरूले चुनावमा भोट बढाउनुपर्दा, दलहरूकै आन्दोलनका बेला सडकमा नाराबाजी गर्नुपर्दा अहिले पनि अग्रपंक्तिमा देखिने नागरिकले आफू अप्ठ्यारोमा परेका बेला कहिल्यै राज्यको साथ पाउन्नन् । संविधानले नै प्रत्याभूत गरेको गाँस, बास, शिक्षा र स्वास्थ्यको सुविधाबाट समेत किनारामा पारिएका नागरिकका समस्यालाई कम्तीमा आफ्नो आँखाबाट ओझेल पर्न नदिने हाम्रो प्रयास हो । यही प्रयास अन्तर्गत  सातौं  शृङ्खलामा हामी सुर्खेतको झुप्रा खोलाको बस्तीमा पुगेका छौं । 

किनाराका बस्तीका अघिल्ला शृङ्खलाहरू हेर्नुहोस् :

 

लेखक
बिनु सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?