News Summary
Generated by OK AI. Editorially reviewed.- वि.स. २०७१ को बाढीले भेरी नदी किनाराका बस्तीहरू तहसनहस पार्यो र विस्थापित नागरिकहरूको अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन ।
- गिरीघाट बस्तीका नागरिकहरूले आर्थिक अवस्था र राज्यको बेवास्ताका कारण स्थान छोड्न सकेनन् र अझै पनि अभावमा जीवन बिताइरहेका छन्।
- गिरीघाटको बस्तीमा आधारभूतभन्दा आधारभूत कुराहरू पनि पूर्ति भएका छैनन् ।
- बस्तीमा खानेपानी छैन, १३० परिवारका लागि एउटा शौचालय छ ।
- राज्यले नागरिकहरूको आवश्यकतामा ध्यान दिएन र उनीहरूलाई किनाराकृत गरिरहेको छ, उपेक्षा गरेको छ ।
भनाइ छ १२ वर्षमा खोलो पनि फर्किन्छ। खोसिएको खुसी फर्किन कति समय लाग्छ होला ? यसमा भने न कुनै भनाइ छ, न कसैको जवाफ भेटिन्छ । १२ वर्ष हुन लाग्यो यो बस्तीका नागरिकको उठीबास लागेको, चैन खोसिएको। तर, फेरि उनै खुसीका दिन आउने कल्पना दूर-दूरसम्म पनि गर्न सकेका छैनन् यिनीहरूले ।
वि.स. २०७१ साउन २८ र २९ गते भेरी नदीमा ठूलो बाढी आयो । बाढीले नदी छेउछाउका बस्तीहरू तहसनहस पार्यो । आफन्त, घरबास, खेतबारी र थातथलो बगायो।
बाँचेकाहरू घाइते आफन्त, एक मुट्ठी सास र दुखेको मन बोकेर गिरीघाट जंगलमा पुगे । त्यतिखेर उनीहरू त्यहाँ बस्नभन्दा पनि बाढीबाट बच्नका लागि गिरिघाट पुगेका थिए । तर, आफ्नै आर्थिक अवस्था र राज्यको बेवास्ताका कारण उनीहरूले त्यो बस्ती छोड्न सकेनन् ।
गिरीघाट अहिले बराहताल गाउँपालिका वडानम्बर २ मा पर्छ । ०७१ को त्यो बाढीपछि पनि देशमा ठूला-ठूला राजनीतिक परिवर्तन भए । ०७२ सालमा संविधान बन्यो, देशमा संघीयता आयो, बस्तीहरूका परिचय फेरिए । ताल-तालका नेताहरू आए र गए पनि ।
तर, बाढीपछि यी विस्थापितहरूको मनमा आएको तुफान किन सकिएन ? ‘हामी गरिब आवाज सुन्ने मान्छे कोही नहुने रहेछन्’, रूपकली रजालीले भनिन्, ‘हुरी आएर घरको छानो कतिबेला उडाउँछ थाहै हुन्न मनमा पनि हुरी चल्छ ।’
उमेरको उत्तरार्धमा पुगेकी रूपकलीलाई आफ्नो जिन्दगी जसोतसो कटे पनि अब छोराछोरीको जिन्दगी पनि उस्तै हुने भयो भन्ने पिरले झन् धेरै पिरोल्छ ।
बाढीले थप क्षति नहोस् भनेर भेरी नदी किनाराका २०० भन्दा बढी परिवार गिरीघाट आएका थिए । तीमध्ये अहिले करिब १३० परिवार यहीँ छन् । यिनीहरू यो ठाउँको मायाले यहाँ बसेका होइनन् । उठेर हिंड्दा टेक्ने अर्को कुनै जमिन नहुनुको बाध्यताले उनीहरूलाई यहीँ रोकिरहेको हो ।
खासमा सोध्नुहुन्छ भने बाढी नछिर्नुबाहेक बस्नका लागि यो ठाउँको अर्को कुनै गुण छैन । असुविधाहरूको फेहरिस्त औंलामा गनेर सकिंदैन । पहिले-पहिले सहयोग गर्न आउनेहरू पनि अब यो बस्तीमा फर्किन छोडेका छन् । भोट माग्न आएका नेताहरू त्यही बाटो ओहोरदोहोर गर्छन् तर फर्केर हेर्दैनन् ।
तिर्खा लाग्दा एक घुट्को पानी खान पाउनु र बिहान उठ्ने बित्तिकै शौचालय जान पाउनु आधारभूतभन्दा पनि आधारभूत आवश्यकता हो । यस्तो अभावको त कल्पनै नगरेर होला देशको कानुनले प्रत्येक मान्छेलाई पानी खान पाउने र सजिलै शौचालय जान पाउने अधिकार हुनेछ भनेर लेखेको छैन । तर, तपाईं कल्पना गर्नुस् त गिरीघाटमा करिब १३० परिवारका लागि जम्मा एउटा शौचालय छ, २ घण्टा लाइन बसेपछि एक गाग्री पानी थाप्न पाइन्छ ।
कर्णालीको राजधानी वीरेन्द्रनगरबाट केही किलोमिटरमात्रै टाढा छ यो बस्ती । छेउमै कर्णाली राजमार्गको चिल्लो सडक छ, घरकै धुरीबाट बिजुलीको लाइन गएको छ । दु:खको बाङ्गोटिङ्गो रेखा र अभावको अन्धकारले बस्तीलाई किनाराकृत गरिरहेको छ, पाखा लगाएको छ ।
एक मुट्ठी सास धान्न एक गाँस अन्नको जोहो बस्तीका नागरिकले जसोतसो गरिरहेकै छन् । तर, सर्प नछिर्ने गाह्रो उठाउन र हुरीले नउडाउने छानो बनाउन उनीहरूले सक्दैनन् । किनारामा छन् उनीहरु, आफ्नै राज्यको नजरबाट ।
(किनाराका बस्ती अनलाइनखबरको भिडियो श्रृंखला हो । यो श्रृंखलामा राज्यले सधैंभरि किनारामा पारेका बस्तीका कुराहरु हामी उधिन्छौं, दुःख सुख-अप्ठ्यारा, सप्ठ्याराका कुरा गर्छौं । दलहरुले चुनावमा भोट बढाउनुपर्दा, दलहरुकै आन्दोलनका बेला सडकमा नाराबाजी गर्नुपर्दा अहिले पनि अग्रपंक्तिमा देखिने नागरिकले आफू अप्ठ्यारोमा परेका बेला कहिल्यै राज्यको साथ पाउन्नन् । संविधानले नै प्रत्याभूत गरेको गाँस, बास, शिक्षा र स्वास्थ्यको सुविधाबाट समेत किनारामा पारिएका नागरिकका समस्यालाई कम्तीमा आफ्नो आँखाबाट ओझेल पर्न नदिने हाम्रो प्रयास हो । यही प्रयास अन्तर्गत पाँचौं श्रृंखलामा हामी सुर्खेतको बराहताल गाउँपालिका-२ मा रहेको गिरीघाटको बस्तीमा पुगेका छौं ।)
किनाराका बस्तीको अघिल्ला श्रृङ्खलाहरु हेर्नुहोस् :
प्रतिक्रिया 4