Comments Add Comment

युरोकपका तीन पूर्वच्याम्पियन एकै समूहमा

९ जेठ काठमाडौं । युरोपका क्लब लिगहरु सकिन थालेका छन् । आइतबारदेखि इङ्ल्याण्डको प्रिमियर लिग सकिनेछ । सोमबारसम्म सबै लिग सकिने बताइएको छ ।

त्यसपछि युरोकपको रौनक सुरु हुनेछ । युरोकप फुटबलको १६औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ देशमा आयोजना हुँदैछ ।

युरोकपमा युरोपका उत्कृष्ट २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । जुलाई ११ को फाइनलपछि एक टिमले ट्रफी उठाउनेछ । तर त्यसका लागि प्रतिस्पर्धा गर्ने टिम धेरै छन् । आधा दर्जनभन्दा बढी टिम उपाधि दाबेदारमा अघि छन् ।

सहभागी टिमलाई ६ समूहमा विभाजन गरिएको छ र एउटा समूह यस्तो छ जहाँ तीन पूर्व विजेताहरु छन् । सन् २०१६ मा भएको युरोकपको विजेता पोर्चुगल र उपविजेता फ्रान्स यस पटक एकै समूहमा छन् । यी दुई टिमसँगै समूह एफमा जर्मनी पनि छ । जर्मनी सर्वाधिक ३ पटकको विजेता हो । जर्मनीले १९७२, १९८० र १९९६ मा उपाधि जितेको थियो । फ्रान्सले १९९४ र २००० मा गरी २ पटक जितेको थियो । पोर्चुगलले १ पटक उपाधि जितेका छन् । यस समूहमा हंगेरी पनि छ ।

यस पटक पनि तीनवटै टिम उपाधिको दाबेदारको रुपमा छन् । युरोकपमा हरेक समूहको शीर्ष दुई टोली सिधै प्रिक्वाटरफाइनल प्रवेश गर्नेछन् । यस्तै तेस्रो हुनेमध्ये चार उत्कृष्ट टिम पनि नकआउट चरणमा पुग्नेछ ।

समूह एफबाट तीनवटै पूर्व विजेता नकआउट चरणमा प्रवेश गर्ने सम्भावना त छ तर त्यसका लागि सबै नतिजा अनुकूल आउनुपर्नेछ । सुरुमा समूहको शीर्ष तीन स्थानमा तीनवटै टिम अटाउनुपर्नेछ । यदि हंगेरी शीर्ष तीनमा अटाएमा भने एक च्याम्पियनको यात्रा समूह चरणमै सकिनेछ ।

त्यसैले यस समूहमा हुने हरेक खेल उत्तिकै रोमाञ्चक र महत्वपूर्ण हुने अपेक्षा छ । यस समूहको आयोजक जर्मनी र हंगेरी हो । त्यसैले यी दुई टोलीले घरेलु मैदानमा खेल्ने अवसर पाउनेछ । जर्मनीले तीनवटै खेल म्युनिखमा खेल्न पाउनेछ तर हंगेरीले दुई खेल मात्र बुडापेष्टमा खेल्नेछ । जर्मनी र हंगेरीको खेल भने जर्मनीकै मैदानमा हुनेछ ।

घरेलु मैदानको फाइदा यी दुई टिमले उठाउन सके पोर्चुगल र फ्रान्सको लागि कठिन हुन सक्छ । पोर्चुगल र फ्रान्सबीचको खेल भने बुडापेष्टमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment