Comments Add Comment

किन जनप्रिय छन् जापानी प्रहरी ?

प्रहरीलाई समाजले किन आफ्नो ठान्दैन ? जनताका लागि स्थापित प्रहरीहरू किन जनताको प्यारो हुन सक्दैनन् ? जनता र प्रहरीबीच किन विश्वासको वातावरण बन्न सक्दैन ? आफ्नो जीवनको उर्वर समय प्रहरीमा वितेकोले पनि यस्ता प्रश्नले बेला बेलामा नमीठो गरी घोचिरहन्छ ।

हुनत संसारका अधिकांश देशमा जनताको नजरमा प्रहरीको छवि त्यति राम्रो छैन । अझ हाम्रो जस्तो तेस्रो विश्वका मुलुकहरूमा त झनै खराब छ । स्वार्थ र डरका कारण प्रहरीका अगाडि राम्रा कुरा गरे पनि पछाडि कसैले राम्रो भन्दैनन् । जापान र बेलायतको प्रहरीका सन्दर्भमा भने कुरो बेग्लै छ । त्यहाँको समाजले प्रहरीलाई आफ्नो अभिन्न अंगका रूपमा हेर्छन् ।

संसारका सबै देशका प्रहरीको काम कर्तव्य लगभग उस्तै हो । कार्य प्रकृतिमा भिन्नता होला तर सार एउटै हो– मुलुकमा शान्ति सुरक्षा बहाली गर्ने र अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने । एउटै दायित्व बोकेका प्रहरीलाई हेर्ने समाजको आँखामा किन यतिविघ्न अन्तर ? यसो हुनुमा प्रहरी मात्र जिम्मेवार छन् कि राज्यका निकाय र समाज पनि ? यिनै सेरोफेरोमा जापानको प्रहरी व्यवस्था अध्ययन गर्दा अनौठा सत्यहरू देखिन्छन् ।

तालिमकै क्रममा गाउँका प्रहरी चौकीहरूको भ्रमण गर्दा पो छर्लङ्ग हुँदै गयो जापानमा जनताले प्रहरी मन पराउनाका कारण । जनप्रिय बन्न प्रहरीहरू मात्र असल र इमानदार भएर नपुग्ने रहेछ । प्रहरीको कार्य मात्र समाजमा प्रतिष्ठा कमाउन पर्याप्त रहेनछ ।

प्रहरी सेवामा रहँदा तालिमको क्रममा तीनहप्ते जापान बसाइमा त्यहाँको प्रहरीबारे जान्ने राम्रो मौका मिल्यो । तालिममा उठाइएका र सिकाइएका विषयमा हामी पनि त्यति कमजोर थिएनौं । मनमा एउटै कुरा उठिरह्यो– जापानका प्रहरीमा जनताको मन जित्ने त्यस्तो के खूबी छ ? यो कुरा बुझ्ने चौ–चौ भयो ।

तालिमकै क्रममा गाउँका प्रहरी चौकीहरूको भ्रमण गर्दा पो छर्लङ्ग हुँदै गयो जापानमा जनताले प्रहरी मन पराउनाका कारण । जनप्रिय बन्न प्रहरीहरू मात्र असल र इमानदार भएर नपुग्ने रहेछ । प्रहरीको कार्य मात्र समाजमा प्रतिष्ठा कमाउन पर्याप्त रहेनछ । यसका लागि प्रहरीलाई कसले, कसरी चलाउँछ ? प्रहरी आफैं कसरी चल्छ ? कस्तो आचरण–व्यवहार बनाउँछ ? भन्ने कुरामा निर्भर हुँदोरहेछ ।

त्यसो त, तालिमको पहिलो दिन ‘नेशनल पुलिस एकेडेमी’का निर्देशक इसिकावाले जापानी प्रहरीको संरचना र संचालनबारे अचम्मित भएको थिएँ । जापानको प्रहरी सरकारको प्रत्यक्ष नियन्त्रणमा रहेनछ । प्रधानमन्त्री, गृहमन्त्री कसैले पनि प्रहरीलाई निर्देशनात्मक आदेश दिन नमिल्ने रहेछ । प्रहरी संगठनको प्रमुख नियुक्ति गर्ने प्रक्रियामा सरकारको भूमिका नै नहुँदोरहेछ । वाह् क्यावात !

एउटा इन्स्पेक्टरको सरुवाको लागि पनि गृहमन्त्री र आईजीपीको द्वन्द्व देखेको, पटकै पिच्छेको सरुवा–बढुवामा निर्लज्ज राजनीतिक दबाब झेलेको प्रहरी संगठनको एक सदस्यका लागि यो जानकारी आठौं आश्चर्य भन्दा कम थिएन । जापानमा भने प्रधानमन्त्री र गृहमन्त्रीले प्रहरीको सरुवा–बढुवा र दैनिक काम कारबाहीमा दबाबको त कुरै छाडौं, सामान्य चासो राखेको घटना पाउन पनि दुर्लभ रहेछ ।

जापानमा राजनीतिज्ञहरू प्रहरीलाई राजनीतिबाट अलग राख्न चाहने अनि प्रहरी पनि राजनीतिक सम्बन्धबाट टाढा रहन चाहने रहेछन् । प्रहरीको कामकारबाहीमा कसैको हस्तक्षेप र प्रभाव शून्य । नेपालमा त यो कुरा अपत्यारिलो नै लाग्छ ।

योग्य र असल भए पुग्यो

जापानमा दोस्रो विश्वयुद्वपछि प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्न बनेको ‘नेशनल पब्लिक सेफ्टी कमिसन’ले प्रहरी संगठनको अनुगमन, सुपरीवेक्षण लगायत सबै नीतिगत निर्णय गर्दो रहेछ । कुनै पनि राजनीतिक आबद्धता नभएका प्रतिष्ठित सामाजिक–व्यावसायिक व्यक्तित्व मध्येबाट मनोनीत पाँच सदस्यीय कमिसनले जापान प्रहरीको कमिस्नर जनरल र प्रान्तीय प्रमुखहरू नियुक्ति गर्दाेरहेछ । कमिसन प्रधानमन्त्री मातहत र राज्यमन्त्रीको अध्यक्षतामा रहे पनि कमिसनलाई प्रभाव पार्नु अनैतिक मानिंदोरहेछ ।

स्वतन्त्र र अधिकारसम्पन्न आयोगको सुपरीवेक्षणमा काम गर्न पाउनु नै जापानी प्रहरीको छवि राम्रो हुनुको प्रथम कारण रहेछ । जापानका प्रहरीलाई सरुवा–बढुवाको लागि नेताको घर वा पार्टी कार्यालय धाउन परेन । कुनै नेताको स्वार्थपूर्तिका लागि बर्दी दाउमा राख्नु पनि परेन । गुण्डा, तस्कर, अपराधी समातेबापत कुनै व्यक्ति वा समूहबाट अपहेलित हुनु पनि परेन । आफू योग्य र असल भए, व्यावसायिक प्रहरी बनेर जनसेवा गरे पुग्यो ।

जापानका प्रहरीहरूलाई राज्यका कुनै निकायले पनि हस्तक्षेप गर्दैन । यो कारणले गर्दा उनीहरू जनताको नजिक रहेर प्रहरीको छवि राम्रो बनाउन सफल छन् । आफ्नो हितमा काम गर्ने प्रहरीलाई जनताले माया नगर्ने कुरै आउँदैन ।

नैतिकता र इमानले लोकप्रिय

फेरि कुरो उनै निर्देशक इसिकावाको । तालिमको दौरानमा हामी होटलबाट पुलिस एकेडेमी आउजाउ गर्दा उनले पटक–पटक हाम्रो बसमा लिफ्ट मागे । उनी जापान प्रहरीका माथिबाट तेस्रो दर्जाका अधिकृत हुन् । उनको दर्जाका अधिकृत प्रान्तीय प्रहरी प्रमुख हुन्छन् ।

प्रहरी आफ्नो काम गर्न कति स्वतन्त्र छ ? प्रहरी आफैं कति इमानदार, नैतिकवान् र उत्तरदायी छ ? आचरण–व्यवहार कस्तो छ ? यी र यस्तै कुराहरूको वरपर घुमेको छ देशको शान्तिसुरक्षा र प्रहरीको लोकप्रियता ।

ड्युटी सकेपछि उनी एउटा भुड्के झोला पछाडि भिरेर पैदलै घर फर्कन्थे । बसमा हामी १२ देशका प्रहरीहरू उनको सादा जीवन देखेर चकित पथ्र्यांै । तालिमे हामी एशिया र अफ्रिकाका थियौं, जहाँका प्रहरी अधिकृतहरू पदको आडमा मिल्ने, नमिल्ने सबै सुविधा लिन अभ्यस्त हुन्छन् ।

आ–आफ्नो देशको अनुभवका कारण हामीलाई इसिकावाको शैली असामान्य लाग्नु स्वाभाविक थियो । हाम्रो देशमा उनका दर्जाका प्रहरी अधिकृतहरू ढोके, बगैंचे, भान्से, गार्ड, चालक गरी दशौं जनालाई घरमा खटाएर राख्छन् । कुनै कुनै ‘हिम्मतवाला’ले त नातेदारका घरमा समेत काम गर्न पठाएको बेलाबेलामा सुनिन्छ ।

जापान प्रहरीमा भने शक्तिको दुरुपयोग न रगत न त संस्कारमा भने जस्तो रहेछ । उनीहरू कार्यालयको काममा मात्र सरकारी गाडी प्रयोग गर्दा रहेछन् । कार्यालय आउँदा–जाँदा निजी या सार्वजनिक सवारी प्रयोग गर्नुलाई नैतिक धर्म मानिंदो रहेछ । हरेक जापानी प्रहरी बाटो हिंड्दा कुनै घटना देखे त्यहीं रोकिएर शुरू गर्दा रहेछन् प्रहरी सेवा ।

विदामा पनि प्रहरी मन लिएर हिंड्दा रहेछन् । यति नैतिकवान र इमानदार भएपछि जनताले प्रहरीबारे गुनासो गर्ने ठाउँ नै नरहने । उनीहरूको लोकप्रियताको कडी नैतिकता र इमान रहेछ ।

गाउँको एक अंग प्रहरी

तालिमकै अवधिमा गाउँ–गाउँमा रहेका प्रहरी इकाइ (चुजाइसो) हरूमा जाने मौका पनि जु¥यो । गाउँको हरेक काममा प्रहरीले जनतासँग सहकार्य गर्ने परम्परा नै रहेछ । हरेक गाउँमा प्रहरीलाई सघाउन स्वयंसेवक संघ गठन गरेको हुँदारहेछन् । आवश्यक ठानिंदा स्वयंसेवकहरू पनि नीलो रङको गाडीमा गस्ती गर्दा रहेछन् ।

प्रहरी कार्यालयको जिम हल, जुडो हलदेखि खेलकुदका सबै सामग्रीमा जनताले आफ्नै जसरी उपयोग गर्दा रहेछन् । यसले गर्दा बच्चा–बच्चामा पनि प्रहरीको गजब छवि बनेको रहेछ । गाउँमा नयाँ मानिस आए वा कुनै घटना भए तुरुन्तै प्रहरीले खबर पाउँदो रहेछ । जनतासँगको यस्तो सम्बन्धले प्रहरीलाई गाउँकै एउटा अंग बनाएको रहेछ । प्रहरीहरू बिदामा जाँदा चुजाइसोका चाबी जनतालाई बुझाएर जाने कुरो हाम्रा लागि पत्याइनसक्नु थियो ।

कमजोर प्रहरी, जनतालाई दुःख

नेपाल प्रहरी पनि जनसेवामा अहोरात्र खटेको छ । आपतविपद्मा जनताको जीउज्यान रक्षाका लागि आफ्नो जीउज्यानको पर्वाह नगरी होमिएको पनि छ । तैपनि, प्रहरीप्रति नेपाली समाज सकारात्मक बन्न सकेको छैन । प्रहरी आफैं कि प्रहरीलाई चलाउनेहरू चुकेका कारण यस्तो भएको हो, सोच्नुपर्ने बेला आएको छ ।

प्रहरी आफ्नो काम गर्न कति स्वतन्त्र छ ? प्रहरी आफैं कति इमानदार, नैतिकवान् र उत्तरदायी छ ? आचरण–व्यवहार कस्तो छ ? यी र यस्तै कुराहरूको वरपर घुमेको छ देशको शान्तिसुरक्षा र प्रहरीको लोकप्रियता । प्रहरी संगठन चलाउनेहरूले यसबारे गम्भीर छलफल चलाउनु अत्यावश्यक भएको छ ।

इमानदार राजनेता, इमानदार प्रहरी र इमानदार जनता भएकै कारण जापानको शान्तिसुरक्षा अब्बल छ । प्रहरी बलियो र सक्षम छ । जनता सुरक्षित र सुखी छन् । जसले, जसरी बुझे पनि सत्य के हो भने प्रहरी कमजोर भएको देशमा सुशासनको कल्पना गर्न सकिंदैन, जनताले दुःख पाउँछन् । नेता र जनता इमानदार नभएको देशको प्रहरी कहिल्यै असल बन्न सक्दैन ।

अहिलेलाई भने हाम्रो नेपालले पनि जापानको जस्तै असल नेता, असल प्रहरी र असल जनता पाओस् भन्ने कामना गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment