Comments Add Comment

‘गर्भवती र सुत्केरीलाई प्राथमिकता दिएर कोभिड खोप लगाउनुपर्छ’

कोरोनाविरुद्धको खोपले गर्भमा रहेको बच्चालाई पनि असर गर्दैन: डा. मिश्रा

१० जेठ, काठमाडौं । जतिबेला बजारमा पहिलो पटक कोरोना विरुद्धको खोप आयो । त्यतिबेला सुत्केरी तथा गर्भवती महिलाहरुले यस्तो खोप लगाउन सुझाव दिइएको थियो । तर नेपालमात्रै नभएर विश्वका अन्य मुलुकमा पनि गर्भवती र सुत्केरीलाई खोप लगाउनेको सूचीमा समावेश गरिएन । स्वास्थ्य संवेदनशीलताका आधारमा सबैभन्दा पहिले खोप लगाउनु पर्ने यो वर्गलाई परीक्षणको अभावका कारण सुरुमा खोप लगाउने सूचीमा समावेश गरिएको थिएन । तर अहिले विश्वका कतिपय देशहरुले यो समूहलाई पनि खोप अभियानमा समावेश गर्न थालेका छन् ।

त्यसो त खोप अभियानमा समावेश गर्ने विषय विवादमा नआएको भने होइन । अहिले पनि भारतमा गर्भवती एवं सुत्केरीहरुलाई यो खोप दिन हुने/नहुनेमा बहस हुँदै आएको छ । नेपालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ भने उनीहरुलाई प्राथमिकता दिएर खोप दिनुपर्ने बताउँछन् ।

सुत्केरी एवं गर्भवतीलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्नुपर्ने तर्क प्रसूति गृहकी निर्देशक डा. संगीता मिश्राको पनि छ । उनले अरूलाई भन्दा महिलाहरुलाई कोरोना भाइरसको खोप प्राथमिकता दिएर लगाउनुपर्ने बताइन् । गर्भवती र महिलालाई किन सुरुमा खोप दिइएन र अहिले लगाउँदा के हुन्छ ? भन्ने बारेमा प्रसूति गृहकी निर्देशक मिश्रासँग सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत गरिएको छ ।

अहिले बजारमा रहेका भ्याक्सिनहरु गर्भवती एवं सुत्केरीले लगाउनु हुन्छ कि हुँदैन ?

भर्खर भर्खर बजारमा खोप आउँदा गर्भवती एवं सुत्केरीमा यो खोपले केही असर गर्ने हो कि ? भन्ने अन्यौल थियो । त्यसैले नेपालमा मात्रै होइन, अन्य मुलुकमा पनि सुत्केरी एवं गर्भवतीहरुलाई यो खोप दिइएन । त्यतिबेला यसले गर्भमा रहेको बच्चा र आमालाई केही असर गर्छ कि ? भन्ने भय धेरैलाई थियो । यसबारेमा परीक्षण पनि गरिएको थिएन । त्यसैले यो समूहका महिलाहरुलाई खोप दिने सूचीमा राखिएन । तर अहिले यसले सुत्केरी र गर्भवतीमा कुनै असर नगर्ने र बच्चालाई समेत यसले समस्या गराउँदैन भन्ने प्रमाणित भइसकेको छ । अमेरिका लगायत देशहरुले पनि सुत्केरी र गर्भवतीलाई यो खोप दिन थालिसकेको छ । अहिले परीक्षणबाट कोरोनाविरुद्धको खोपले कुनै असर गर्दैन र प्रभावकारी छ भन्ने पुष्टि भइसकेको छ । त्यसैले गर्भवती र सुत्केरीले खोप लगाउन मिल्छ, अझ सरकारले यो समूहलाई प्राथमिकतामा राखेर खोप दिनुपर्छ ।

सुत्केरी र गर्भवतीमा यसले गर्ने असरबारे कुनै अध्ययन भएको थियो ?

यसमा व्यवस्थित अध्ययन भएको त पाइएको छैन । तर बजारमा खोप आइसकेपछि कतिपय गर्भवतीहरुले लगाउनु हुन्छ भन्ने थाहा भएर होस् या नभई पनि यो खोप लगाएको पाइयो । नेपालमै पनि यस्ता केही केसहरु भेटिएका छन् । यसरी अञ्जानमै खोप लगाएकाहरुमा कुनै समस्या देखिएन, साथै, उसको पेटभित्र रहेको बच्चामा कुनै समस्या देखिएन । अर्काे, खोप बनाउने बेलामा प्रयोग गरिएको कम्पोनेन्टको पनि अध्ययन गरियो, त्यसको आधारमा पनि बच्चालाई यसले असर गर्दैन भन्ने पुष्टि भएको छ । यिनै आधारहरूलाई टेकेर हामीले सुत्केरी र गर्भवतीले खोप लगाउन मिल्छ भनेर दाबी गरेका हौं । अन्य केही अध्ययनले पनि यस खोपमा प्रयोग गरिएको सामग्रीले गर्भवती र सुत्केरीमा यो खोपले कुनै असर नगरेको देखाएको छ ।

गर्भवतीले भ्याक्सिन किन लगाउने ?

हामीले अहिलेसम्म नेपालमा गर्भवती र सुत्केरीको लागि खोप दिने अभियान सुरु गरेका छैनौं । म त भन्छु, उहाँहरुलाई झनै प्राथमिकतामा राखेर खोप लगाउनुपर्छ । गर्भवती र सुत्केरीलाई कोभिड भयो भने उहाँहरुमा सामान्य मान्छेमा भन्दा समस्या धेरै हुन सक्छ ।

कोभिडमा निमोनिया भयो भने त झनै यसले जटिल अवस्था निम्त्याउँछ । निमोनिया पनि सामान्य अवस्थाको र कोभिड हुँदाकोमा फरक हुन्छ । सामान्य निमोनियाभन्दा कोभिड निमोनिया जटिल र खतरनाक हुन्छ । सुत्केरी र महिलाहरुमा सामान्य निमोनियाले त उनीहरुलाई समस्या निम्त्याउँछ भने झनै कोभिड निमोनियाले समात्यो भने अवस्था नाजुक बन्छ । त्यस्तो अवस्थामा उहाँहरुको मृत्युदर पनि बढी हुने सम्भावना हुन्छ ।

कोभिडको दोस्रो लहरमा खोप लगाउनेमा भएको संक्रमण र मृत्युदरलाई हामीले अहिले पनि विश्लेषण गरिरहेका छन् । सुत्केरीहरुमा पनि कोभिड भएको छ । अहिले कोभिडबाट गर्भवती वा सुत्केरीको मृत्यु समेत भइसकेको छ । यसरी मातृ मृत्युदरलाई नियन्त्रण गर्न पनि यो समूहलाई प्राथमिकतामा राखेर खोप लगाउनुपर्छ ।

गर्भवतीले लगाएको खोपले पेटमा रहेको बच्चालाई असर गर्छ कि गर्दैन ?

यही अन्यौलका कारण अहिले पनि धेरै गर्भवती र सुत्केरीले ढुक्कसँग खोप लगाउने गरेका छैनन् । तर यसमा अन्यौल हुनुपर्ने केही कुरै छैन कि गर्भवतीले कोभिड खोप लगाउँदा उनको पेटमा रहेको बच्चालाई यसले केही पनि असर गर्दैन । कुनै पनि खोपले संक्रमितलाई सिकिस्त हुनबाट पनि जोगाउँछ । आमा र बच्चाहरु कम सिकिस्त हुनुभयो भने शरीरमा अरू जोखिमहरू कम हुन्छन् । फेरि यो भ्याक्सिन बच्चालाई असर गर्ने र गर्भवतीलाई नै साइड इफेक्ट गर्ने खालको पनि छैन । खोपमा जुन कम्पोनेन्ट राखेर तयार पारिएको छ, तीमध्ये कुनैपनि कम्पोनेन्ट पेटमा रहेको बच्चालाई असर गर्ने खालका छैनन् ।

अर्काे कुरा यो खोपमा डेड भाइरस प्रयोग गरिएको छ । लाइभ भाइरस प्रयोग गरिएको थियो भने यसले कतै साइडइफेक्ट गर्छ कि ? भन्ने जोखिम हुन सक्थ्यो होला । तर खोपमा आरोमी वा डेड भाइरस प्रयोग गरेको छ । यो दुवै प्रविधिले यसले आमालाई र बच्चालाई असर गर्दैन । हामी जसरी ढुक्कसँग टिटानसको खोप लगाउँछौं । त्यसरी नै ढुक्क भएर कोभिड खोप पनि लगाउन मिल्छ ।

अहिले प्रसूति गृहमा कोरोना संक्रमित कति छन् र मृत्युदर कति छ ?

प्रसूति गृहमा कुल दैनिक भर्ना हुनेहरुमध्ये ४देखि ६ जनामध्ये अहिले एचडीयूमा ५५ जना महिला छन् । यी महिलाहरु गर्भवती मात्रै होइनन् । हालसम्म प्रसूति गृहमा ५४ जना संक्रमितको उपचार भइसकेको छ। अहिले आईसीयूमा ४ जना गर्भवतीलाई राखिएको छ भने कोरोना संक्रमित एक जना गर्भवतीको ज्यान गएको छ । उनको पेटमा साढे ५ महिनाको गर्भ थियो । अहिलेसम्म प्रसूति गृहमा आएर कोरोना संक्रमणबाट मृत्यु भएको यो एकमात्र घटना हो । पछिल्लो समय कोभिसिल्ड लगाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment