Comments Add Comment

बन्दाबन्दीले २५६५औं बुद्धजयन्तीका कार्यक्रम प्रभावित

दीप प्रज्ज्वलन र पूजापाठ गरेर मनाइने

लुम्बिनी

१० जेठ, बुटवल । कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीले यस वर्षको २५६५औं बुद्धजयन्ती प्रभावित भएको छ । आउँदो जेठ १२ गते परेको बुद्धजयन्तीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ ।

सधैं भव्य समारोहका बीच सम्पन्न हुने गरेको बुद्धजयन्ती गत वर्ष पनि बन्दाबन्दीको कारण पूजापाठमा सीमित भएको थियो । कोरोना महामारीका कारण स्वदेश र विदेशबाट राष्ट्रप्रमुख, भिक्षु भिक्षुणी, कूटनीतिज्ञ र बौद्ध धर्मावलम्बीहरु सहभागी हुन नसक्ने भएकाले पूजापाठ र दीप प्रज्ज्वलन गरेर सामान्य रुपमा बुद्धजयन्ती मनाइने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

विगतका वर्षमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सहित भव्य रूपमा बुद्धजयन्ती मनाउने गरिन्थ्यो । ‘यस वर्ष भव्य रूपमा मनाउने तयारी थियो, तर कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि औपचारिक कार्यक्रम गरेर मनाउन नसक्ने भयौं’ कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले भने ।

बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी मन्दिर परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश वाचन र परित्राण पाठ तथा साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको राईले बताए ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गरेको दिन पनि वैशाख पूर्णिमा नै भएकाले बौद्ध धर्मावलम्बीहरुले वैशाख पूर्णिमालाई निकै पवित्र र महत्वपूर्ण दिनका रूपमा लिन्छन् ।

बुद्धजयन्तीका दिन नेपाल लगायत भुटान, थाइल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङ्का, लाओस, कोरिया, जापान, चीन आदि देशहरुबाट सयौंको संख्यामा र नेपालका विभिन्न जिल्लाबाट समेत गरी लुम्बिनीमा ५० हजार बढीको आगमन हुने गरेको राई बताउँछन् ।

नेपालमा २००८ सालदेखि बुद्धजयन्तीको दिन सार्वजनिक बिदा दिने प्रचलन रहेको छ । बन्दाबन्दीका कारण एक महिनादेखि लुम्बिनीमा बाह्य र आन्तरिक पर्यटकको आगमन पनि शून्य रहेको कोषका सूचना अधिकारी राजन बस्नेत बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment