Comments Add Comment

सुदूरपश्चिमका अस्पतालमा कोरोना संक्रमितको चाप घट्यो

कोरोनाका गम्भीर संक्रमित ७८ प्रतिशले कम भएको दाबी

१० जेठ, धनगढी । इमरजेन्सी वार्ड, ग्यालरी र आँगनमा समेत अक्सिजन दिएर राखिएका संक्रमित । सर्जिकल वार्ड समेत कोरोना संक्रमितले भरिभराउ । आँगनमै टेन्ट गाडेर तयार पारिएका सबै ८ वटा शय्या पनि भरिएका । केही दिन अघिसम्म धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुग्दा यही दृष्य देखिन्थ्यो ।

तर तपाई हिजोआज त्यहाँ जानुभयो भने भिन्नै अवस्था देख्न सकिन्छ । संक्रमितको उपचारका लागि आँगनमा गाडिएको टेन्ट हटाइएको छ । इमरजेन्सी वार्डमा उपचार गर्न आउने र भर्ना भएका संक्रमितको चाप कम भएको छ । कुनै दिन एउटै बेडमा दुई जनासम्म गरेर १६ शय्याको वार्डमा ४०-४५ जनाको व्यवस्थापन गर्नुपर्ने झन्झटबाट अस्पतालले मुक्ति पाएको छ ।

प्रादेशिक अस्पतालकाअनुसार अहिले कोभिड अस्थायी अस्पताल, इमरजेन्सी वार्ड र सर्जिकल वार्डमा ८२ जना संक्रमित उपचाररत छन् । उनीहरु मध्ये इमरजेन्सी वार्डमा १५ जना, सर्जिकल वार्डमा २० जना, आईसीयूमा १५ जना र कोभिड अस्थायी अस्पतालमा ३२ जनाको उपचार भइरहेको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

पछिल्लो एक साताको अवधिमा दैनिक औसतमा ८-१० जना संक्रमित डिस्चार्ज भइरहदा सोही हाराहारीमा भर्ना भएपनि गम्भीर संक्रमितको संख्या कम भएको उनी बताउँछन् । ‘अस्पतालबाट डिस्चार्ज हुने र भर्ना हुनेको संख्या करिब करिब उस्ता उस्तै रहेको छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘तर जटिल खालको स्वास्थ्य समस्या भएको र अक्सिजनको धेरै आवश्यकता पर्ने संक्रमितको संख्या तुलनात्मक रुपमा कम भएका कारण हामीलाई पनि व्यवस्थापनमा सहज भएको छ ।’

अस्पतालमा संक्रमित कम भएसँगै अक्सिजनको माग घट्दा आपूर्तिमा पनि सहज भएको हो । त्यसैमा हाल अस्पतालमा ३५ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएकाले पनि खासै समस्या नरहेको श्रेष्ठ बताउँछन् ।

महाकाली अस्पतालमा पनि घटे

सेती प्रादेशिक अस्पतालपछि व्यवस्थापकीय समस्या व्यहोरिरहेको कञ्चनपुरको महाकाली अस्पतालमा पनि पछिल्लो समय कोरोना संक्रमितको चाप कम भएको छ ।

दुई साता अघि उपचारका लागि पुग्ने संक्रमितको संख्या अहिले ५० प्रतिशतले कम भएको अस्पतालले जनाएको छ । जसमा गम्भीर संक्रमितको संख्या समेत कम भएका कारण अस्पतालले उपचारमा पहिले जस्तो समस्या भोग्नुपरेको छैन ।

‘हामी कहाँ उपचारका लागि आउने संक्रमितको संख्या झन्डै ५० प्रतिशतले कम भएको छ,’ महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले भने, ‘यसलाई सुखद पक्ष मान्नुपर्छ । सँगसँगै अर्को कुरा के छ भने विगतमा दैनिक २८-३० जना भर्ना हुन आउँथे । उनीहरु मध्ये ८० प्रतिशत केस गम्भीर खालका हुन्थे । तर अहिले १०-१५ जना आइरहेकोमा गम्भीर केस २ प्रतिशत मात्र छ ।’

प्राकृतिक रुपमा कोरोना भाइरस पनि कमजोर हुँदै गएको, मानिसहरुमा समयमै लापरवाही गर्नुहुँदैन भन्ने चेतना बढेको र स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण थप संक्रमण फैलिन नपाउँदा संक्रमण दर कम हुँदै गएको डाक्टर रोकायाले बताए ।

प्रदेशमा संक्रमणदर र मृत्युदर पनि घट्दो क्रममा

दोस्रो लहरको कोरोना भाइरस फैलिएदेखि सुदूरपश्चिम प्रदेशमा एकैदिन सर्वाधिक ३१ जनाको मृत्यु र ११ सय बढिमा संक्रमण पुष्टि भएको रेकर्ड छ । तर पछिल्लो केही दिनयता यहाँ कोरोना संक्रमण र मृत्युदर ओरालो लागेको छ भने संक्रमण मुक्त हुनेको संख्या बढ्दो क्रममा छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणअनुसार जेठ ६ गते सुदूरपश्चिममा ८ सय ४९ जना संक्रमित थपिएका छन् भने १० जनाको मृत्यु भएको छ। जेठ ७ गते एक हजार ९० जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु भएपनि जेठ ८ गते संक्रमण घटेर ५ सय २३ जना थपिदा मृत्यु हुनेको संख्या १० मा झरेको छ ।

जेठ ९ गते अहिलेसम्मकै कम ३ सय ८४ जनामा मात्रै संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । मृत्युदर न्यून हुन नसकेपनि झण्डै दुई गुणाले कम हुनुलाई स्वास्थ्यकर्मीले सुखद पक्ष भनेका छन् । क्रमिक रुपमा कम हुँदै जाने अपेक्षा पनि गरिएको छ ।

के संक्रमण र जोखिम साँच्चै कम भएकै हो ?

तथ्यांकमा संक्रमण र मृत्युदर तुलनात्मक रुपमा कम तथा अस्पतालहरुमा संक्रमितको चाप घटेको देखिए पनि जोखिम भने कायमै रहेको चिकित्सकहरु बताउँछन् । सेती प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार विभाग प्रमुख डा. शेरबहादुर कमर भाइरस सबैं एउटै अवस्थामा नरहने घटबढ भइरहने बताउँछन् ।

‘कुनै पनि भाइरस एउटा चरणमा निश्चित बिन्दुमा पुग्छ त्यसपछि विस्तारै घट्दै जान्छ,’ डा. कमरले भने, ‘यो प्राकृतिक नियम नै हो । संक्रमणदर कम भयो भन्दैमा कोरोना भाइरस नियन्त्रणमा आइसक्यो भन्ने हुँदैन् । यसको जोखिम अझै कायमै छ ।’

मानिसहरुमा रोग प्रतिरोधी क्षमता वृद्धि हुँदै जानु, सचेतना वृद्धि, निषेधाज्ञाका कारण मानिसको आवतजावत कम हुनु तथा कमजोर प्रतिरोधी क्षमता भएका मानिसको मृत्यु लगायतका कारण संक्रमण कम भएको उनी बताउँछन् ।

‘तर पनि अहिले नै संक्रमण घट्यो भन्न मिल्दैन । तथ्यांकले ओपीडीमा आउने केसहरु अलिकति कम भएको देखाएपनि अस्पतालमा जटिल संक्रमितको संख्या पनि उत्तिकै छ,’ डा. कमरले अनलाइनखबरसँग भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने, उपचारका लागि तयारी त्यत्तिकै गर्नुपर्छ । यसलाई गम्भीर रुपमै लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment