Comments Add Comment

पति-पत्नी सँगै अस्पताल भर्ना, तीन दिनको फरकमा मृत्यु

१० जेठ, जनकपुरधाम । धनुषामा एकै पटक बिरामी भई सँगै अस्पताल भर्ना भएका एक दम्पतीको तीन दिनको अन्तरालमा मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–९ स्थायी घर भई वडा नम्बर ५, महेन्द्रनगरमा बस्दै आएका दम्पतीको जनकपुरधामस्थित काव्या अस्पतालमा एकै पटक मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५५ वर्षीय श्यामकिशोर सिंह र उनकी पत्नी ४८ वर्षीया मालती देवी सिंह छन् । श्यामकिशोरको आइतबार राति र मालतीको बिहीबार दिउँसो एकै अस्पतालमा मृत्यु भएको क्षिरेश्वरनाथ नगरपालिका–९ का वडाध्यक्ष अशोक चौधरीले जानकारी दिए ।

उनका अनुसार उनीहरु आफ्नी छोरीको विवाहको तयारीमा जुटेका थिए । सोमबार (आज) यी दम्पतीको एक मात्र छोरीको विवाह हुने तय भएको थियो । विवाहको तयारीमा लागेकै बखत दुवैलाई रुघाखोकी र ज्वरो आएको थियो । त्यस क्रममा दुवैले औषधि किनेर खाएका थिए ।

दुई साताअघि बिरामी परेका दुवैलाई औषधिले सन्चो नभएको र सास फेर्न कठिनाइ भएपछि एकै पटक जनकपुरधामस्थित काव्या अस्पताल पुगेको वडाध्यक्ष चौधरीले बताए । उपचारकै क्रममा तीन दिनको फरकमा दम्पतीको मृत्यु भएको उनले बताए ।

मृतक श्यामकिशोर जनता आधारभूत औरहका पूर्व प्रधानाध्यापक थिए । सेवानिवृत्त भएर घरमै बस्दै आएका उनका जेठा छोरा अमेरिकामा छन् भने कान्छा छोरा र छोरी घरमै बस्दै आएका थिए ।

मृतकमा देखिएन कोरोना !

मृत्यु भएका दम्पतीमा कोरोना संक्रमण भने देखिएको छैन । श्यामकिशोरको कोरोना परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक प्रदीप अधिकारीले जानकारी दिए ।

श्यामकिशोरको परीक्षण गराउँदा नेगेटिभ देखिए पनि मालतीदेवीको जाँच नै नगरेको पाइएको उनले बताए ।

‘काव्या हस्पिटलकै डाक्टरले मालतीको जाँच गर्न नहुने भनेपछि परीक्षण गराएनौं,’ मृतकका छोरा सोहनले भने, ‘आमाको मृत्युको तीन दिन नबित्दै बुवाले पनि संसार छोड्दा टुहुरो भएका छौं ।’

मृतक दम्पतिको एकै चितामा दाह संस्कार गरिएको छ । आमाको तीन दिनअघि मृत्यु भएपनि शव अस्पतालमै थियो’ उनले भने, “बुवाको समेत मृत्युपछि दुबैलाई एकै चितामा राखेर दाह संस्कार गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment