Comments Add Comment

यसपटक कोपा अमेरिका विशेष हुनेछ : मेसी

११ जेठ काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको कोपा अमेरिका फुटबल आगामी जुन १३ देखि जुलाई १० सम्म अर्जेन्टिनामा आयोजना हुँदैछ । कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने भनिएपनि राष्ट्रपति विरुद्धको प्रदर्शनका कारण दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबोलले कोलम्बियालाई सहआयोजबाट हटाएको छ ।

विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपाको ४७औं संस्करण घरेलु मैदानमा हुन लाग्दा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले यस पटक विशेष हुने बताए । ओलेसँगको विशेष अन्तर्वार्तामा मेसीले टिमका सबै खेलाडी कोपा अमेरिका खेल्न उत्साहित रहेको बताएका हुन् । ‘निश्चयन नै, समग्र टिम नै यसका लागि तयार छन् । यो प्रतियोगिता खेल्न उत्साहित छन् ।’ मेसीले भने । ‘लामो समयपछि हामी फेरि संगै हुन चाहन्छौँ ।’

मेसीले यस पटक दर्शक नहुने सम्भवना रहेकोले फरक हुने बताए । ‘यो विशेष प्रतियोगिता । यो फरक छ किनकि त्यहाँ दर्शक उपस्थित हुने सम्भवना न्युन छ । त्यसो हुँदा पनि व्यक्तिगत रुपमा म फेरि कोपा खेल्न तयार छु ।’ अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिका जित्न सकेको छैन । अर्जेन्टिनाले जितेको त्यो नै पछिल्लो ठूलो प्रतियोगिता समेत हो ।

त्यसैले यस पटक घरेलु मैदानमा उपाधि जित्दै २८ वर्षको उपाधि खडेरी तोड्ने लक्ष्यमा अर्जेन्टिना छ । मेसीको लागि पनि घरेलु मैदानमा उपाधि जित्दै आलोचकहरुलाई जवाफ दिने अवसर छ । उमेर समूहमा विश्वकप जितेको र ओलम्पिकमा स्वर्ण पदक जितेका मेसीले राष्ट्रिय टिमका लागि ठूलो प्रतियोगिता जित्न भने सकेका छैन । मेसीको कप्तानीमा सन् २०१४ को विश्वकप फाइनलमा पुगेपनि जर्मनीसँग पराजित भएको थियो । यस्तै २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनल पुगेका अर्जेन्टिना दुवै पटक चिलीसँग पराजित भएको थियो ।

त्यसअघि २००४ र २००७ को फाइनल अर्जेन्टिना ब्राजिलसंग पराजित भएको थियो । मेसीले सन् २००७ देखि अहिलेसम्म ५ पटक कोपा अमेरिका खेलिसकेका छन् जसमा तीन पटक उपविजेता बनेको थियो । तीन पटक मेसीले कप्तानी नै गरेका छन् । पछिल्लो पटक सन् २०१९ मा ब्राजिलमा भएको कोपा अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँगै पराजित भएको थियो ।

यसपटक कोपा अमेरिकामा सहभागी १० राष्ट्रलाई नर्थ र साउथ जोन गरी दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे छन् । यस्तै, समूह बीमा ब्राजिल, कोलम्बिया, भेनेजुएला, इक्वेडर र पेरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment