Comments Add Comment

सुदूरपश्चिम : एमाले संसदीय दलमा कोरम नै पुगेन

११ जेठ, धनगढी । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक स्थगित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले समसामयिक विषयमा छलफल गर्न भनेर बोलाएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो ।

शाह आफैंले माधवकुमार नेपाल समूहका प्रदेशसभा सदस्यहरुलाई टेलिफोन गरेर मंगलबार बिहान दलको कार्यालयमा बोलाएका थिए । ‘दल नेताज्यूले फोन गरेर समसामयिक विषयमा छलफल गर्नुपर्‍यो भनेर बिहान बोलाउनु भएको थियो,’ एक प्रदेशसभा सदस्यले भने, ‘तर बिहान ८/९ जनामात्रै पुगेपछि दिउँसो साढे १२ बजे बस्ने भन्यौं । अहिले पनि आवश्यक संख्या नपुगेपछि बैठक बसेन । अनौपचारिक छलफल गर्‍यौं ।’

माधव समूहभित्र मतभेद

सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ जना प्रदेशसभा सदस्य छन् । सभामुखबाहेक १७ जना नेपाल समूहका छन् भने ७ जना ओली समूहतिर छन् । तर मंगलबार बोलाइएको संसदीय दलको बैठकमा भने माधव पक्षलाई कोरम पुर्‍याउन नै मुस्किल पर्‍यो । बैठकमा सहभागी हुन १२ जना प्रदेशसभा सदस्य मात्रै पुगेको दाबी गरिएको छ ।

स्रोतकाअनुसार संसदीय दलका नेता शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट, प्रमुख सचेतक तारा लामा तामाङ, पूर्व सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्वउद्योग राज्यमन्त्री प्रकाशबहादुर रावल, अर्थ विकास समितिका सभापति गोविन्द कुँवर, प्रदेशसभा सदस्यहरु अमरबहादुर साउद, कुलवीर चौधरी, पूर्णा जोशी, दुर्गा विक, अर्चना गहतराज बैठकका लागि पुगेका थिए । अन्य प्रदेशसभा सदस्यलाई जुटाएर बैठक बस्ने प्रयास भए पनि सफल भएन ।

अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले सोमबार मात्र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीहरुलाई राजीनामा दिन भनेको थियो ।

प्रमुख सचेतक तारा लामा तामाङले समर्थन फिर्ता लिने निर्णयबारे सञ्चार माध्यमबाट थाहा पाएको र आधिकारिक रुपमा जानकारी प्राप्त भएपछि आवश्यक प्रक्रिया सुरु हुने जानकारी दिए ।

ओली पक्षीय प्रदेशसभा सदस्य पठानसिंह बोहराले संसदीय दलको बैठकबारे जानकारी नगराएको बताए । उनले अघि भने, ‘पार्टी केन्द्रले जे निर्देशन गरेको छ, त्यो अनुसार हामी अगाडि बढ्नुपर्छ । पार्टीको निर्देशन अवज्ञा गर्ने कुरा स्वीकार्य हुँदैन ।’

प्रदेशसभाको अंकगणित

सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन् । सबभन्दा ठूलो दल एमालेका २५ जना, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना प्रदेशसभा सदस्य छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डाका आधारमा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए ।

एमालेले समर्थन फिर्ता लिएको अवस्थामा भट्टलाई सरकार जोगाउन कांग्रेस, जसपा सबैको साथ चाहिन्छ ।

एमालेलाई पनि वैकल्पिक सरकार बनाउन सहज छैन । सभामुखले मतदान नगर्ने भएकाले प्रदेशसभामा एमालेसँग २४ मत मात्र हुन्छ । जबकि प्रदेशसभाको बहुमतका लागि २७ मत चाहिन्छ । जसपाले साथ दिंदा पनि कांग्रेस र माओवादी केन्द्रबाट मत पाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment