Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमित मिर्गौला रोगीको डायलाइसिसमा समस्या

११ जेठ, वीरगञ्ज । रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित बनेका बारा जीतपुरका आदर्श मिश्राले दुई दिन अघि आफ्नो युट्युब च्यानलमा एउटा भिडियो राखे । जसमा नारायणी अस्पतालमा कोरोना संक्रमितको डायलाइसिसमा समस्या आएको उल्लेख गरेका थिए ।

‘दुःखका साथ भन्नु परिरहेको छ, नारायणीमा किड्नी पेसेन्टको डायलाइसिस नहुने भएको छ । अस्पतालमा कोभिड संक्रमितका लागि छुट्याइएको दुईवटै मेसिन बिग्रिसकेको छ । पोखराबाट इन्जिनियर आउनुपर्छ । किन आएको छैन, थाहा छैन ? आउन नमिलेर हो, यहाँबाट सूचना नगरेर हो ? पहिलाको पेमेन्ट बाँकी भएर हो ? वा के भएर हो थाहा छैन । नारायणी अस्पतालले के गर्न गर्न खोजिरहेको थाहा छैन ?’

मिर्गौलामा समस्या देखिएपछि मिश्रको बुवाको डायलाइसिस तीन वर्षदेखि नेशनल मेडिकल कलेजमा भइरहेको थियो । तर बुवामा कोरोना संक्रमण पुष्टि भएपछि मेडिकल कलेजले डायलाइसिस गर्न मानेन । नेशनलले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा डायलाइसिस सेवा दिएको छैन ।

आदर्शले स्वास्थ्य मन्त्रालयले डायलाइसिस सेवा नरोक्न भनेको छ भन्दा पनि अस्पतालले सुनेन । नारायणीमा जाँदा दुईवटै मेसिन बिग्रेको र बनाउने मानिस नभएको भनेर जानकारी पाएपछि आदर्शले भिडियो बनाएका रहेछन् । ‘म डायलाइसिस बिरामीको पीडा बुझ्छु । पानी खान हुँदैन । बाबाले पानी नखाएको तीन वर्ष भयो, मर्नुअघि एक बोतल चिसो फ्रिजको पानी खाएर मर्न मन छ भनेर भन्नुहुन्छ,’ उनले अगाडि भने, ‘नारायणीमा कोभिड संक्रमितको डायलाइसिस हुन सकिरहेको छैन, भइहाले पनि तीन घण्टाको डायलाइसिस दुई घण्टा मात्रै भइरहेको छ ।’

भोलिपल्ट नारायणी अस्पतालमै आदर्शको बुवाको डायलाइसिस त भयो । तर युरिया ब्रेनसम्म पुगिसकेको रहेछ । मिर्गौला रोगीको राम्रोसँग डायलाइसिस हुन नसकेको अवस्थामा त्यस्तो समस्या देखिन्छ । आदर्शले थप उपचारका लागि बुवालाई राति नै भरतपुर लगे । तर उपचारको क्रममा मंगलबार बिहान उनका बुवाको मृत्यु भयो ।

समयमै राम्रोसँग डायलाइसिस हुन सकेको भए बुवा बाँच्नुहुन्थ्यो कि भन्ने आदर्शको आशा थियो ।

किन भयो डायलाइसिस गर्न समस्या ?

वीरगञ्जमा नारायणी अस्पतालबाहेक नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थकेयरलगायतका अस्पतालले पनि डायलाइसिस सेवा दिंदै आएका छन् । तर कोभिड संक्रमितको डायलाइसिस भने नारायणी अस्पतालमा मात्रै गर्ने गरिएको छ ।

नारायणी अस्पतालमा १३ वटा डायलाइसिस मेसिन भए पनि ६ वटा मात्रै काम लाग्ने खालका छन् । त्यसमध्ये चार वटा ननकोभिड मिर्गौला रोगीका लागि र दुई वटा कोभिड भएका मिर्गौला रोगीका लागि छुट्याइएको थियो ।

दुवैतिरको एक–एक वटा मेसिन खराब छ । नर्सिङ अधिकृत मनिता साहका अनुसार ननकोभिडतर्फ ३२ जना मिर्गौला रोगीको नियमित डायलाइसिस भइरहेको छ ।

एउटा मेसिन नारायणी अस्पतालमा आउने कोभिड संक्रमितको उपचारमा पर्याप्त छ । तर नेशनल मेडिकल कलेजले एन्टिजेन परीक्षण गर्दै कोरोना पोजेटिभ देखिएका मिर्गौला रोगीलाई नारायणी अस्पताल पठाइरहेको छ । जसका कारण नारायणी अस्पतालमा कोभिड संक्रमितको डायलाइसिसमा चाप बढेको अस्पतालको डायलाइसिस विभागले जनाएको छ ।

विभाग प्रमुख डां सिंह नेशनल मेडिकल कलेज गैरजिम्मेवार भइदिंदा बिरामीले दुःख पाइरहेको र नारायणीमा भार बढेको बताउँछन् ।

‘नेशनल मेडिकल कलेजले मिर्गौला रोगीमा संक्रमण देखियो भने नारायणीको टाउकोमा डायलाइसिस गर्न थोपरिरहेको छ । जबकि मन्त्रालयले पत्र पठाएर सबै सेवा दिन भनेको छ,’ उनले भने, ‘कोरोनाको लक्षण नदेखिए पनि नेशनलले भटाभट एन्टिजेन गरेर पोजेटिभ देखिएका बिरामी नारायणीमा पठाइदिएको छ । पीसीआर गराउँदा तीन जनाको नेगेटिभ रिपोर्ट आएपछि उतै पठाइदिएका छौं ।’

नारायणी अस्पतालमा बायोमेडिकल इन्जिनियर छैनन् । सामान्य समस्या आएर डायलाइसिस मेसिन बिग्रँदा अस्पतालकै एक जना कर्मचारीले बनाउने गरेका छन् । मोनिटर लगायत समान फेर्न परे पनि बाहिरबाट सामान मगाएर फेर्ने गरेको अस्पताल बताउँछ । तर सफ्टवेयर फेर्न कम्पनीकै इन्जिनियर चाहिन्छ । फरक–फरक कम्पनीको मेसिन भएकाले एउटा कम्पनीको मेसिन अर्को कम्पनीको इन्जिनियरले नहेर्दा पनि समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment