+
+
Shares

‘हर्ष’ लाई लिएर वर्षाले दर्शकबाट राखेका अपेक्षा के हुन् ?

अन्य मल्टिस्टारर फिल्ममा देखिएकी उनी यसमा भने केन्द्रीय महिलाको चरित्रमा प्रस्तुत छिन् । यसकारण पनि कथालाई न्याय गर्नुपर्ने दबाब उनीमाथि छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १९:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री वर्षा राउतले आगामी फेमिली ड्रामा 'हर्ष' मा केन्द्रीय भूमिकामा अभिनय गर्दैछिन्।
  • 'हर्ष' मा वर्षाले वंश परम्परा धान्नुपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिका निर्वाह गरेकी छिन्।
  • फिल्म 'हर्ष' १२ मंसिरमा देशब्यापी प्रदर्शनमा आउँदैछ र वर्षाको यो १७ औं फिल्म हो।

काठमाडौं । करियरका हिसाबले अभिनेत्री वर्षा राउत दशौं वर्षमा हिँडिरहेकी छन् । ‘नाइँ नभन्नू ल ४’ बाट अभिनय यात्रा थालेकी उनले केही फिल्मबाट प्रशंसा बटुलिन् ।

विशेषगरि, गृहणीको भूमिकामा वर्षाले दर्शकबाट माया पाएकी छन् । एकता पौडेल निर्देशित आगामी फेमिली ड्रामा ‘हर्ष’ पनि अभिनेत्री राउतको लागि खास छ, किनकी उनी केन्द्रीय भूमिकामा देखिँदैछिन् ।

कथाको भारलाई आफ्नो काँधमा बोक्ने चुनौती उनीमाथि छ । अन्य मल्टिस्टारर फिल्ममा देखिएकी उनी यसमा भने केन्द्रीय महिलाको चरित्रमा प्रस्तुत छिन् । यसकारण पनि कथालाई न्याय गर्नुपर्ने दबाब उनीमाथि छ ।

वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा उनी छिन् । उनले यो सोचसँग विद्रोह गर्लिन् वा सोचलाई पछ्याउलिन् ? वर्षाको पात्रमार्फत डेब्यू निर्देशक पौडेलले कथावाचन प्रयत्न गरेकी छन् ।

आफू केन्द्रीय चरित्रमा देखिन लागेकोप्रति उनी उत्साहित सुनिइन् । ‘दर्शकले मलाई तहगतरुपमा मूल्यांकन गर्नुहुनेछ’ भन्छिन्, ‘केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागेको छ ।’

भन्छिन्, ‘दर्शकले वर्षाले यसमा कत्तिको काम गरिन्, अघिल्ला सिनेमाभन्दा कत्तिको सुधार गरिन् भनेर विचार गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु ।’

पछिल्लो फिल्म ‘ऐँचो पैँचो’ बाट उनले राम्रो प्रशंसा प्राप्त गरिन् । यसबाहेक, विवाहित भएकाले उनीसँगका अन्तरवार्तामा श्रीमान-श्रीमती, परिवार र बच्चासम्बन्धी प्रसंग प्रायः उठ्ने गर्छ ।

यस हिसाबले उनले यो फिल्ममा निर्वाह गरेको पात्रमा वास्तविक भोगाइ मिसिएको छ कि भन्ने धेरैको जिज्ञासा हुन सक्छ । जवाफमा उनले वास्तविक जीवनभन्दा अलग रुपमा र निर्देशकले खोजेको चरित्रलाई उतारेको बताइन् ।

‘मैले एउटा पात्र निर्वाह गरेकी हुँ । त्यसैले व्यक्तिगत जीवनले फरक पर्छ कि पर्दैन भन्ने हुँदैन’ भन्छिन्, ‘सन्तान हुँदा-नहुँदा त्यो पात्रले के-कस्तो भोगाइ भोग्छ भन्ने देखिन्छ । निर्देशकले दिएको कामअनुसार आफूलाई पात्रमा ढाल्ने कोसिस गरेकी छु ।’

कथा सुनेपछि पात्रमा न्याय गर्न सक्ने आत्मविश्वास पलाएको उनको बुझाइ छ । ‘हर्ष’ले दर्शकलाई खुशीको आँसु दिने पनि उनले बताइन् । उनका अनुसार यसलाई केवल रुवाउने फिल्म भनेर मात्र बुझ्नुहुँदैन ।

‘यसले पारिवारिक कथा पेश गर्छ भन्ने कुरा ट्रेलरले देखाइसकेको छ । त्यसैले ‘रुवाउने मात्र हो कि’ भन्ने लागेको हुन सक्छ । तर त्यो होइन । यसले आँसु त झारिदिन्छ, तर हर्षका,’ उनले भनिन् ।

फिल्मका पात्रसँग दर्शकले आफूलाई जोड्न सक्ने भएकाले उनी यसप्रति आशावादी छिन् । पछिल्लो समय पारिवारिक फिल्म हेर्न दर्शक ठूलो संख्यामा हल आउन थालेकाले पनि उनी सकारात्मक नतिजाप्रति आशावादी सुनिइन् ।

‘अहिले नेपाली सिनेमाले एकदमै राम्रो गरिरहेका छन् । धेरैजसो सफल सिनेमाले दर्शकलाई रुवाएको छ, मन छोएको छ । हाम्रो सिनेमाले हर्षित पार्दै रुवाउनेछ जस्तो लाग्छ । दर्शकले यसमा आफ्नो परिवारसँग जोडिएको अनुभूति गर्नुहुनेछ,’ उनले भनिन् ।

फिल्ममा राउतले अभिनेता खगेन्द्र लामिछानेसँगको जोडीको रूपमा देख्न सकिन्छ । वर्षाले यो जोडीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । ‘हर्ष’ १२ मंसिरमा देशब्यापी प्रदर्शन तयारीमा छ ।

‘नाइँ नभन्नू ल ४’ बाट घरेलु फिल्ममा डेब्यू गरेकी वर्षाको पछिल्लो फिल्म ‘हर्ष’ १७ औं फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?