News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालमा वैवाहिक सम्बन्ध र समाजको अन्यायप्रति आक्रोश व्यक्त गर्दै लेखेकी छिन्, 'यो समाजमा बाँच्न मलाई निकै गाह्रो भैसक्यो'।
- वर्षाले श्रीमतीले सहनुपरेको धोका, चोट र बेइज्जतीमा कसैको चासो नहुने भन्दै महिलाको पीडालाई समाजले बेवास्ता गर्ने गुनासो गरिन्।
- उनका श्रीमान संजोग कोइरालाले टिप्पणी गर्ने मानिसहरूको निर्णयमाथि शंका गर्नुमा केही गलत नभएको र घृणामाथि प्रेम सधैं विजयी हुने विश्वास व्यक्त गरेका छन्।
काठमाडौं । अभिनेत्री वर्षा राउत पछिल्लो समय फिल्म ‘हर्ष’ को प्रचारप्रसारमा छिन् । केही दिनअघि उनले एक टिभी कार्यक्रममा श्रीमान संजोग कोइरालासँगै पुगेर अन्तर्वार्ता दिइन् ।
उक्त कुराकानीमा वर्षाको वैवाहिक सम्बन्ध, खटपटको चर्चा, हातमा देखिएको दागसहितका धेरै कुराबारे चर्चा भएको देखिन्छ । कुरा यत्तिकैमा रोकिएन, त्यसपछि पनि वर्षाले सामाजिक सञ्जाल प्रयोगकर्ताको टिप्पणीबाट हैरानी खेप्नुपरेको छ ।
सोमबार बिहान उनले एक सामाजिक सञ्जाल प्रयोगकर्ताको टिप्पणीको स्क्रिनसट सेयर गर्दै एक मर्मस्पर्शी र भावनात्मकरुपमा उद्देलित स्टाटस साझा गरेकी छन् ।
त्यहाँ उनले ‘यो समाजमा बाँच्न मलाई निकै गाह्रो भैसक्यो’ भनेर लेखेकी छिन् । श्रीमतीले सहनुपरेको धोका, चोट र बेइज्जतीमा कसैको चासो नहुने भन्दै उनले महिलाको पीडालाई समाजले बेवास्ता गर्ने गरेको गुनासो गरेकी छिन् ।
समाज भित्रको गल्ती र अन्याय महसुस गर्न तयार नहुने भन्दै उनले आक्रोश पोखेकी छिन् ।
‘सच्याइनुपर्ने त समाज आफै हो । तर परिवर्तन चाहिँ सबैलाई चाहिन्छ भन्छन् । बदलिन भने कसैलाई मन छैन’ वर्षा लेख्छिन्, ‘यही कारणले मान्छे एक्लो महसुस गर्छ । थाकिन्छ र कहिलेकाहिँ अन्धकारतिर तानिन्छ । यो समाजमा बाँच्न मलाई गाह्रो भैसक्यो ।’
‘ हाम्रो समाजले सदैव “सब राम्रो देखिनुपर्छ” भन्ने मुखौटा लगाउन बाध्य पार्छ, तर भित्रको गल्ती, अन्याय, असमानता बदल्न कहिलै तयार हुँदैन । श्रीमतीलाई “लाटी, अलच्छिनी” जस्ता अपमानजनक शब्दले बोल्दा समाज मौन बस्छ’ वर्षाले लेखेकी छिन् ।
‘श्रीमतीले सहनुपरेको धोका, चोट, बेइज्जतीमा कसैलाई चासो हुँदैन । तर एउटै महिलाले आफ्नो आवाज उठाई दिँदा “तिमी’ जस्तो सामान्य शब्द बोल्दा पनि उही समाज ऊमाथि नै औँला उठाउन थाल्छ । मानौँ उसको मुखमा थुकेको परिमाणले मात्र समाजको इज्जत जोगिने जस्तो’ उनको आक्रोश छ ।
वर्षाको उक्त लामो स्टाटसमा श्रीमान संजोगले ढाडस दिएका छन् ।
संजोग लेख्छन्, ‘ टिप्पणी गर्न मन पराउने मानिसहरूको निर्णयमाथि शंका गर्नुमा तिमीमा केही गलत छैन । घृणामाथि प्रेम सधैं विजयी हुनेछ र तिमीलाई संसारभरका लाखौं मानिसले माया गर्छन् । चिन्ता नगर । मलाई विश्वास छ कि टिप्पणी गर्ने त्यही व्यक्तिले तपाईंको बाटो काट्यो भने फोटो माग्न आउनेछ र ‘बिग फ्यान’ भन्नेछ ।’
वर्षाले बेला-बेलामा आफ्ना वैवाहिक सम्बन्धबारे सामाजिक सञ्जालमा स्टाटस लेख्दै आइरहेकी छिन् ।
प्रतिक्रिया 4