Comments Add Comment

कोरोनासँग जुझ्न बुद्धको अष्टांग मार्ग

बौद्ध दर्शनमा मानव मनोविज्ञानका विषयमा विश्लेषण गरेको पाइन्छ । गौतम बुद्धले चारवटा आर्य सत्यहरू बताउनुभएको छ– दुःख छ, दुःखको कारण छ,  दुःखको निवारण छ र दुःखको निवारणका उपाय छन् ।

गौतम बुद्धले बताए झैं अहिले कोरोनाको प्रकोपले विश्वलाई आक्रान्त र दुःखी तुल्याएको छ । कोरोनाभाइरसका नयाँ–नयाँ भेरियन्ट देखा परिरहेका छन् । हामी यस महामारीसँग एक वर्षभन्दा बढी समयदेखि जुझिरहेका छौं । तर एक दिन यसको अन्त्य अवश्य हुनेछ । किनकि समय सधैं एकनास हुँदैन । यो दुःख निवारणको उपाय पक्कै भेटिनेछ ।

विश्व जगत यसका लागि दिन–रात लागिपरेको छ । वैज्ञानिकहरूको खोज अनुसन्धानबाट कोरोनाको खोप तयार भइसकेको छ । तर यो सर्वसुलभ हुन भने सकिरहेको छैन । गौतम बुद्धले सबै किसिमका दुःखहरूबाट मुक्तिका लागि उपाय बताउनुभएको छ । जसलाई आर्य अष्टांगिक मार्ग भनिन्छ । यसमा आठ वटा तरिका वा बाटोहरू उल्लेख गरिएको छ ।

वास्तवमा बुद्धको अष्टांग मार्गले दुःखबाट मुक्तिको उपाय मात्रै बताउँदैन; यसको अनुसरण गर्नाले सफलता, खुशी र शान्ति समेत मिल्छ । कोरोनाका कारण उत्पन्न अहिलेको दुःखद परिस्थितिबाट पार पाउनका लागि समेत बुद्धले बताएका आठ मार्ग निकै उपयोगी देखिन्छन् ।

सम्यक् दृष्टि

विषयवस्तुका बारेमा सत्य, तथ्य ज्ञान हुनु, यसलाई उपयुक्त तरिकाले बुझ्नु, वस्तुनिष्ठ भएर हेर्नु, जस्तो छ त्यस्तै रूपमा देख्नु सम्यक् दृष्टि हो । तर कुनै वस्तु हेर्दा, विश्लेषण वा मूल्यांकन गर्दा आफ्नै व्यक्तिगत धारणा बनाउने, भावनामा बग्ने गरिन्छ भने त्यो सम्यक् दृष्टि होइन ।

कोरोना महामारी र अहिलेको परिस्थितिप्रति हामीमा सम्यक् दृष्टि हुन जरूरी छ । कोरोनाभाइरसप्रति मानिसको आ–आफ्नै बुझाइ र धारणा रहेको पाइन्छ । कसैले कोरोना केही होइन भन्दै बेवास्ता र लापरबाही गरिरहेको देखिन्छ भने कसैले कोरोनालाई ठूलै पहाडको रूपमा बुझेको देखिन्छ । यो कोरोनाप्रतिको सम्यक् दृष्टि होइन । कोरोनाभाइरसको बारेमा सबैलाई ज्ञान नहुनु स्वाभाविक हो । यो सबैको विज्ञताको विषय होइन । तर यस क्षेत्रका विज्ञहरूले बताएको आधारमा सम्यक् दृष्टि बनाउन सकिन्छ ।

 

हामी यस महामारीसँग एक वर्षभन्दा बढी समयदेखि जुझिरहेका छौं । तर एक दिन यसको अन्त्य अवश्य हुनेछ । किनकि समय सधैं एकनास हुँदैन । यो दुःख निवारणको उपाय पक्कै भेटिनेछ

सम्यक् वचन 

यस विषयसँग असम्बन्धित व्यक्तिहरूका कुरा सुनेर धारणा बनाउँदा  हामी गलत हुन्छौं । जसले गर्दा दुःख पाउने र समस्यामा फस्ने हुन सक्छ । गौतम बुद्धले दुःखको कारण नै अज्ञान भन्नुभएको छ । कोरोनाको विषयमा धेरै किसिमका अफवाहहरू फैलिएका छन् । तिनीहरूको पछिलाग्नु हुँदैन । विषयवस्तु र घटनालाई हेर्ने दृष्टिकोण सही बनाउनुपर्छ ।

तनावको बेला हाम्रो हेर्ने दृष्टिकोण तथ्यपरक नहुनसक्छ । हामी अन्योलमा पर्न सक्छौं । के सही, के गलत छुट्याउने क्षमतामा कमी आउन सक्छ । हामी अरूको लहैलहैमा लाग्ने र भावनामा बग्ने सम्भावना पनि हुन्छ । संकटको समयमा हाम्रो दृष्टि सम्यक् नहुन सक्ने खतरा भएकाले सधैं सजग र सतर्क रहनुपर्छ ।

सम्यक् संकल्प

सबैको हितको लागि गरिने सकारात्मक सोच, विचार तथा अठोट सम्यक् संकल्प हो । अहिले सबैका लागि तनावपूर्ण र सकसको समय हो । अहिले सबैलाई एकअर्काको साथ र सहयोगको आवश्यकता छ । कोरोनाको संक्रमणबाट आफू पनि जोगिन्छु र अरूलाई पनि जोगाउँछु, आफ्नो कारणले कसैलाई जोखिममा पर्न दिन्नँ भन्ने अठोट अहिलेको अवस्थामा गर्न सकिने सम्यक् संकल्प हो  ।

कोरोनाको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, हातको सरसफाइमा ध्यान पुर्‍याउने कुरामा पूर्ण प्रतिबद्धता आफैंसँग गर्दै स्व–अनुशासनमा कटिबद्ध रहनुपर्छ । अहिलेको संकटको अवस्थालाई सबै मिलेर पार लगाइछाड्ने संकल्प लिनुपर्छ । यस्तो संकल्पले मनोबल पनि बढ्छ । कुनै घटना वा परिस्थितिको सामना गर्न व्यक्तिमा भएको मनोबलले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

सत्य र संयमित वचन नै सम्यक् वचन हो । झूटो, कटुुवचन, अनावश्यक निन्दा, गालीगलौजदेखि टाढा भई नम्र बोली बोल्नु नै सम्यक् वचन हो । कोरोनाले आक्रान्त भएका बेला अरूका अगाडि निराशाजनक, अरूलाई दुःखी बनाउने कुरा गर्नुहुँदैन । सकारात्मक, शुद्ध र आशावादी कुरा मात्र  गर्नुपर्छ । झन् बालबालिकाका अगाडि निराश कुरा त गर्नै हुँदैन ।

संकटको बेला सबैलाई माया, प्रेम र करुणाको जरुरत पर्दछ । सहानुभूतिका शब्द, प्रेरणा र हौसलाले कठिनाइसँग जुझ्न ऊर्जा मिल्छ । अरूको दुःख, पीडा, धैर्यपूर्वक सुनिदिनाले पनि उनीहरूलाई ठूलो राहत मिल्छ । आफ्ना कुरा पोख्न पाउँदा मात्रै पनि मन हल्का हुन्छ । तनाव कम भएर जान्छ ।

कोरोना सम्बन्धी नकारात्मक, भ्रामक र तथ्यहीन कुरा अरूका सामु गर्नुहुँदैन । तनाव र निराशाका बेला एउटै शब्दले पनि कसैको मनमा ठूलो चोट पुर्‍याउन सक्छ । मानसिक आघात पर्न सक्छ । डर, चिन्ता, निराशाका  कुराले आत्मबललाई कमजोर बनाउँछ । तनावको बेला मानिसमा रिस, आक्रोश, चिड्चिडाहटपन बढेर जानसक्ने भएकाले आफ्नो वचनलाई सधैं सम्यक् बनाउने कोशिश गर्नुपर्छ ।

सम्यक् कर्म

विपत्तिको समयमा हाम्रो दैनिक व्यवहार तथा क्रियाकलाप झनै  सन्तुलित हुनु आवश्यक हुन्छ । कोरोनाको कहर र निषेधाज्ञाको समयमा आफ्नो रुचिका विषय र क्रियाकलामा धेरैभन्दा धेरै समय बिताउनुपर्छ । जस्तो– आफूलाई मन पर्ने किताब पढ्ने, चलचित्र हेर्ने, संगीत सुन्ने, लेख्ने, आफ्नो आस्था विश्वास अनुसार धार्मिक कार्यमा भाग लिने, पूजापाठ गर्ने जस्ता सिर्जनशील कार्यमा लगाउन सक्छौं ।

हामीलाई अहिले आफ्नोे रुचिका कामहरू गर्ने सुनौलो अवसर प्राप्त भएको छ । हामी परिवारसँग समय बिताउन सक्छौं । घरायसी काममा परिवारलाई सहयोग गर्न सक्छौं । निद्रा लागेन, तनाव भयो भनेर जाँड–रक्सी खाने, झैझगडा गर्ने, अरूलाई हानिनोक्सानी पुर्‍याउने, हिंसा गर्ने कार्य कदापि गर्नुहुँदैन । नकारात्मक व्यवहार गर्नपट्टि लाग्दा समस्या झन् झन् बढ्दै जान्छ ।

यस्ता कार्यले आफू र परिवारमा समेत मनोसामाजिक समस्या ल्याउँछ । अहिलेको तनावपूर्ण समयमा हामीले सकारात्मक व्यवहारमा जोड दिनुपर्छ । पर्याप्त आराम, योग–व्यायाम, मनोरञ्जन, सन्तुलित खानपिनमा ध्यान दिनुपर्छ । कोरोना सम्बन्धी समाचार बारम्बार हेर्ने र सुन्ने गर्नुहँुदैन ।

दुःखद समाचारहरू हेर्दा र सुन्दा पनि हामीमा बेचैनी, निराशा, छट्पटी बढेर आउँछ । मन दुःखी हुन्छ । तनाव बढ्छ । हाम्रो दैनिक जीवनशैली र क्रियाकलापहरू आफू र अरूलाई हानिरहित र सकारात्मक हुनुपर्छ । विपत्तिका बेलामा व्यक्तिले नकारात्मक व्यवहार देखाउने, घरेलु हिंसा, यौन हिंसामा संलग्न हुने सम्भावना समेत हुने भएकाले सचेत रहनुपर्छ ।

बुद्धको अष्टांग मार्गले दुःखबाट मुक्तिको उपाय मात्रै बताउँदैन; यसको अनुसरण गर्नाले सफलता, खुशी र शान्ति समेत मिल्छ । कोरोनाका कारण उत्पन्न अहिलेको दुःखद परिस्थितिबाट पार पाउनका लागि समेत बुद्धले बताएका आठ मार्ग निकै उपयोगी देखिन्छन् ।

सम्यक् आजीविका

अरूको अहित हुने काम नगरी इमानदारीपूर्वक आफ्नो व्यवसाय गरी  जीवनयापन गर्नु सम्यक् आजीविका हो । कोरोनाको कारणले गरिएको निषेधाज्ञाको अवस्थामा कतिपय व्यवसायहरू बन्द भएका छन् । कतिको रोजगारी गुमेको अवस्था छ । कतिपयले भने अहिलेको विपत्तिलाई कमाउने राम्रो अवसरका रूपमा  लिएका छन् ।

संकटको बेला चोरी, डकैती, लुटपाट, कालोबजारी, भ्रष्टाचार, अनियमितता जस्ता कुरा बढेर जान सक्छन् । विपत्तिको समयमा मौका हेरेर यस्तो कार्य गर्नु भनेको मानव विरोधी कार्य हो, पाप हो, अपराध हो ।

संकटको समयमा त आफ्नो व्यवसाय, सीप, क्षमता, योग्यता अनुसार आफूले सकेको सहयोग अरूलाई गर्नुपर्छ । संकटको अवस्थामा सबैलाई एकअर्काको साथ र सहयोगको जरुरत पर्छ । विपत्तिका समयमा पनि हामीले आफ्नो कर्तव्य भुल्नुहुँदैन । संकटको समयमा पनि आफूले गर्दै आएको कार्य र व्यवसायमा जति चाँडो फर्कने प्रयास गर्नुपर्छ ।

कोरोनाले आक्रान्त भएका बेला अरूका अगाडि निराशाजनक, अरूलाई दुःखी बनाउने कुरा गर्नुहुँदैन । सकारात्मक, शुद्ध र आशावादी कुरा मात्र गर्नुपर्छ । झन् बालबालिकाका अगाडि निराश कुरा त गर्नै हुँदैन ।

व्यायामको अर्थ श्रम या अभ्यास हो । सम्यक् श्रम न त आलस्य हो,  न अति नै दौडधूप । विपत्तिको समयमा निष्क्रिय भएर आलस्यमा त्यतिकै बस्नुहुँदैन । आफूले जानेको र गर्न सक्ने काममा लागिनै रहनुपर्छ । विना प्रयत्न मर्नु भन्दा अगाडि नै खुट्टा तानेर सफलता प्राप्त हुँदैन । विपत्तिले पनि हामीलाई धेरै कुरा सिकाइरहेको हुन्छ  ।

भनिन्छ नि ‘कि पढेर जानिन्छ कि परेर ।’ विपत्तिका बेला संकटको सामना गर्न हामीमा थप ज्ञान, सीप र कुशलताको जरुरत पर्न सक्छ । यस्ता ज्ञान, सीप र गुणहरूको विकास गर्न सधैं अभ्यासरत रहनुपर्छ ।

कुनै पनि विषयमा आवश्यक सीप, तालिम र शिक्षा पाउँदा आत्मविश्वास तथा आत्मबल बढ्छ । अहिलेको समयमा मनोसामाजिक स्वास्थ्यका विषयमा मनोशिक्षा, स्व–हेरचाहका विषयमा जानकारी, सरसफाइ लगायत अन्य विषयको तालिमले आत्मबल बढाउन मदत गर्छ । तनावपूर्ण समयमा हामीलाई यथेष्ट आरामको पनि अति नै जरुरत पर्दछ । त्यसैले सम्यक् श्रमको सधैं ख्याल गर्नुपर्छ ।

सम्यक् स्मृति

हाम्रो ध्यान सधैं राम्रा र उपयोगी  कुरामा मात्र जानुपर्छ । मनमा सधैं सकारात्मक सोचविचार राख्नुपर्छ । नराम्रो विचार मनमा आउन दिनुहुँदैन । आफूले गर्नुपर्ने काम र कर्तव्यप्रति सधैं सजग र जागरुक बन्नुपर्छ । विपत्तिको बेलामा पनि सधैं सचेत र होशियार रहनुपर्छ । होश गुमाउनुहुँदैन ।

तनावको अवस्थामा मनमा डर, चिन्ता, निराशा आउन सक्छन् । दिमागमा नराम्रा कुराहरूले डेरा जमाउन सक्छ । यी कुराहरूबाट टाढा बस्न आफ्नो ध्यानलाई राम्रो कुराहरूपट्टि मोड्ने प्रयास गरिरहनुपर्छ । भविष्यलाई लिएर चिन्ता गर्ने र वितेको कुरामा पछुताउने गर्नुहुँदैन । हरदम वर्तमानमै जिउने प्रयास गर्नुपर्दछ ।

सम्यक् समाधि (ध्यान साधना)

हाम्रो मन अत्यन्तै चञ्चल छ । विपत्तिको बेलामा त मन झनै अस्थिर हुन्छ । मनमा अनेकथरी कुरा खेल्न थाल्छन् । शरीरमा पनि बेचैनी र छट्पटी शुरू हुन्छ । यस्तो अवस्थामा हामीले मनलाई शान्त वा एकाग्र बनाउने कोशिश गर्नुपर्छ ।

बुद्धले प्रतिपादन गरेको विपश्यना ध्यानाभ्यासको माध्यमबाट हामीले चित्तलाई एकाग्र बनाउन सक्छौं । विपश्यना ध्यान (माइन्डफुलनेस)को अभ्यासले दैनिक जीवनमा तनाव कम गर्ने र मनलाई शान्त बनाउन मदत मिल्ने कुरा वैज्ञानिक रूपमा पनि सिद्ध भइसकेको छ ।

ध्यान तनाव व्यवस्थापनको राम्रो उपाय हो । विपत्तिको बेला ध्यान गर्नु अति जरूरी मानिन्छ ।

(मनोविद् ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment