Comments Add Comment

कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न नेपाललाई कोभ्याक्सको पत्र

१२ जेठ, काठमाडौं । कोरोना खोप वितरणको एक विश्वव्यापी अभियान कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न आग्रह गरेको छ ।

भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले अझै एक वर्ष कोभिसिल्ड खोप दिन नसक्ने भनेको भन्दै कोभ्याक्सले त्यसको विकल्पमा अर्को उपयुक्त खोप रोज्न नेपाललाई आग्रह गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

कोभ्याक्सले सन् २०२१ को मे महिनासम्म नेपालमा १९ लाख २० हजार डोज खोप (कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने) खोप पठाउने प्रतिवद्धता जनाएको थियो । सोही प्रतिवद्धता अनुसार गत फागुन २३ गते पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल पठाएको थियो । तर सेरमले कोभ्याक्स कार्यक्रमलाई पनि कोभिसिल्ड दिन नसक्ने जनाएपछि कोभ्याक्सले नेपाललाई अर्को खोप रोज्न आग्रह गरेको हो ।

‘हामीले भर्खरै कोभ्याक्सको पत्र प्राप्त गरेका छौं छलफलपछि हामी जुन १ सम्म जवाफ पठाउँछौं’ डा. गौतमले भने, ‘कोभ्याक्सिन, जोनसन एण्ड जोनसन, स्पुतनिक भी, भेरोसेललगायतका खोप हाम्रो भण्डारण सिस्टमलाई उपयुक्त हुने भएकाले यीमध्ये एउटालाई छान्छौं ।’

कोभ्याक्सलाई जवाफ पठाउनुअघि खोप समिति र स्वास्थ्य मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने गौतमले बताए । ‘हाम्रो पत्रपछि कोभ्याक्सले खोप पठाउने मिति र पठाउन सक्ने डोज घोषणा गर्छ’ डा. गौतमले भने ।

कोभ्याक्सले यही मे महिनासम्म नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप पठाउने प्रतिवद्धता जनाएकाले छिट्टै खोप पठाउने आशा रहेको उनले बताए ।

नेपाललाई खोप दिन अमेरिकी र रसियन कम्पनी सकारात्मक

सरकारले खोप खरिदका लागि प्रस्ताव गरेका तीन कम्पनीमध्ये दुईवटाले सकारात्मक जवाफ पठाएका छन् । स्वास्थ्य सेवा विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति पएका अमेरिकाको मोडेर्ना, जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भीसँग खोप खरिदका लागि प्रस्ताव गरेको थियो ।

त्यसमध्ये अमेरिकाको जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भीले खोप पठाउन सकारात्मक रहेको प्रतिउत्तर दिएको विभागको आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिकंरी बताउँछन् ।

उनका अनुसार यी दुई कम्पनीले अन्तर्राष्ट्रिय मूल्यमा नेपालमा खोप पठाउन सकारात्मक रहेको भन्दै आवश्यक छलफल गर्न तयार रहेको जवाफ दिएका छन् । त्यसैगरी अमेरिकाको मोडेर्नाले भने एक वर्ष खोप दिन नसकिने प्रतिक्रिया दिएको छ । तिंकरीले भने, ‘दुई कम्पनीले खोप खरीदको लागि छलफल गर्न प्रतिनिधि समेत पठाउने जवाफ दिएका छन् ।’

भारतको सेरम इन्ष्टिच्युटले कोभिसिल्ड खोप नदिएपछि नेपालले अरु कम्पनीसँग खोप खरिदका लागि प्रस्ताव गरेको थियो । दुई कम्पनीको सकारात्मक जवाफ आएपछि खोप खरिदमा आशा पलाएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताए ।

उनका अनुसार आन्तरिक छलफलपछि यी २ कम्पनीलाई विभागले फेरि पत्राचार गर्नेछ । ‘खरिदको लागि हाम्रो सबै निकायबाट पहल भइरहेको छ, अबको केही दिनमा सकारात्मक नतिजा निस्कने विश्वास छ’ महानिर्देशक सिंहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सागर बुढाथोकी

ट्रेन्डिङ

Advertisment