+
+
Shares

राष्ट्र बैंकको निर्देशनले सेयर बजारमा कस्तो असर पर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १३ गते १४:४६

१३ जेठ, काठमाडौं । बुधबार नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारमा कडाइ गर्दै नयाँ निर्देशन जारी गर्‍यो । यसअनुसार, बैंक तथा वित्तीय संस्थाले लघुवित्तहरूको सेयर किन्न पाउने छैनन् । कम्पनीहरूको सेयर पनि कम्तीमा एक वर्ष ‘होल्ड’ गर्ने गरी किन्नुपर्नेछ ।

१० जेठ २०७७ (सोमबार) सम्म किनिसकेको लघुवित्तको सेयर भए आगामी पुस मसान्तभित्रै बिक्री गरिसक्न राष्ट्र बैंकको निर्देशन छ । ‘सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ’ निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’

निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरूले खरीद गरेको एक वर्ष वितेका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् । १० जेठसम्म लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न भने नयाँ व्यवस्थाले बाधा पुर्‍याउने छैन ।

राष्ट्र बैंकको यो निर्देशनपछि अब सबै बैंकहरूले लघुवित्तको सेयर बिक्री गर्ने अनुमान छ । बैंकहरूले सेयर बेच्दा आपूर्ति बढी र माग भएर सेयर मूल्य निकै घट्ने डरले एकथरीलाई सताएको छ । अर्कोथरी भने तत्काललाई केही असर देखिए पनि दीर्घकालीन असर नपर्ने भएकाले डराउनुपर्ने अवस्था नभएको बताइरहेका छन् ।

‘निक्षेप लिने र कर्जा दिने बैंकहरूको मुख्य काम हो, ग्राहकलाई सेवा दिन छाडेर सेयर किनबेचमा लागेको गुनासो एकदमै बढेको थियो’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘बैंकहरूले आफ्नो मुख्य काममा ध्यान दिउन् भनेर यस्तो निर्देशन जारी भएको हो, कुनै बद्नियतको कुरा छैन ।’

बैंकहरूलाई सेयर बिक्री गर्न ज्यादै छोटो समय दिएकोले निर्णय फिर्ता लिन राष्ट्र बैंकलाई आग्रह गरेको नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताएकी छन् । बैंकहरूले १० जेठ २०७७ सम्म किनेको सेयर पुस मसान्तभित्रै बिक्री गरिसक्नुपर्ने निर्देशन सही नभएको उनको भनाइ छ ।

उनले विज्ञप्तिमा भनेकी छन्, ‘बैंक तथा वित्तीय संस्थाले किनेको लघुवित्तको सेयर बिक्री गर्न कम्तीमा २०८० असार मसान्तसम्मको समय पाउनुपर्छ । आम लगानीकर्ताको यति ठूलो कारोबार पछि राष्ट्र बैंकले ‘खाए खा नखाए घिच्’ भने जस्तो निर्देशन दिएकोमा हाम्रो घोर आपत्ति छ । पछिल्लो समयमा मौलाउँदै गएको सेयर बजारलाई ब्रेक लगाउने राष्ट्र बैंकबाट निर्देशन आएको हो भन्ने हाम्रो संघको धारणा छ ।’

राष्ट्र बैंकको पछिल्लो कदमबाट त्रसित नहुन र विवेकपूर्ण ढंगले आफ्नो कारोबार गर्न आम लगानीकर्तालाई संघको अपील छ ।

किन भयो यस्तो व्यवस्था ?

केही समययता सेयर बजार आक्रामक रूपमा द्रुत गतिले बढिरहेको थियो । केही बैंक तथा वित्तीय संस्थाले निकै सेयर किनबेच गरिरहेका थिए । उनीहरूले आफ्नो मूल उद्देश्य विपरीत सेयर खरीदबिक्री गरिरहेको गुनासो राष्ट्र बैंकमा धेरै पटक पुगेको थियो ।

‘निक्षेप लिने र कर्जा दिने बैंकहरूको मुख्य काम हो, ग्राहकलाई सेवा दिन छाडेर सेयर किनबेचमा लागेको गुनासो एकदमै बढेको थियो’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘बैंकहरूले आफ्नो मुख्य काममा ध्यान दिउन् भनेर यस्तो निर्देशन जारी भएको हो, कुनै बद्नियतको कुरा छैन ।’

बैंकहरूले भने नियामक निकायको निर्देशनमा प्रतिक्रिया दिएका छैनन् । केन्द्रीय बैंकको नीति मान्नैपर्ने भएकाले बैंकरहरू चूपचाप छन् । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले धेरै बैंकलाई असर नपर्ने प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय सेयर कारोबारमा सक्रिय भएर केही बैंक तथा वित्तीय संस्थाले उल्लेख्य नाफा कमाएको तेस्रो त्रैमासिक वित्तीय विवरणमा देखिएको छ । उनीहरूको नाफा वृद्धिमा धेरै हदसम्म सेयर कारोबारले सहयोग गरेको राष्ट्र बैंकको बुझाइ हुनसक्ने नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम सभापति अम्बिका पौडेल बताउँछन् ।

सेयरमा लगानी गर्ने बैंक वित्तीय संस्थाको संख्या पनि बढ्दै गएको थियो । यसबाट आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरू आफ्नो मूल उद्देश्यबाटै विचलित हुने हुन् कि भन्ने विषयले पनि नियामक निकायलाई गम्भीर बनाएको हुनसक्ने पौडेलले बताए ।

उनका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले खोलेका मर्चेन्ट बैंक र तिनीहरूले नै संचालन गरेका म्युचुअल फण्डले समेत सेयर लगानी गर्ने अनुमति लिएका थिए । त्यसैले राष्ट्र बैंकले ‘एक्सन’ लिएको पौडेलको बुझाइ छ ।

बजारमा सम्भावित असर

राष्ट्र बैंकको निर्देशनले केही दिन कारोबारमा असर पार्ने जानकारहरू बताउँछन् । दीर्घकालीन असर भने खासै नपर्ने विश्लेषण उनीहरू सुनाउँछन् ।

पछिल्लो समय सेयर कारोबार रकम उच्च छ । केही दिनअघि १३ अर्ब १७ करोडभन्दा बढी कारोबार भएर नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । पूँजी बजार फोरमका सभापति पौडेल अब बैंक तथा वित्तीय संस्थाहरू प्रत्यक्ष रूपमा कारोबारी बन्न नपाउँदा कारोबार रकममा केही दिन कमी आउन सक्ने बताउँछन् ।

दोस्रो बजारमा दिनानुदिन बढिरहेका लगानीकर्ताको संख्याले त्यो असरलाई छिटै पूरा गर्ने उनको विश्लेषण छ । आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरू ‘कोर बैंकिङ’ केन्द्रित हुने उनी बताउँछन् ।

‘उनीहरूले सहायक कम्पनीलाई सशक्त बनाएर तीमार्फत लगानी र नाफा दुवै वृद्धि गर्छन्’ सभापति पौडेल भन्छन्, ‘त्यसकारण, राष्ट्र बैंकको नयाँ नीति भविष्यको लागि राम्रै देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?