
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले तिहार लक्षित चाँदीका सिक्का मार्फत आइतबारसम्म ४ सय १० किलो चाँदी बिक्री गरेको छ।
- राष्ट्र बैंकले सुनका असर्फी नयाँ नछापेका कारण सर्वसाधारणलाई सुन बिक्री नगरेको जनाएको छ।
- गत वर्ष धनतेरसमा केन्द्रीय बैंकले सर्वसाधारणलाई करिब ११ किलो सुन र १७१.५ किलो चाँदी बिक्री गरेको थियो।
२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारसम्म ४ सय १० किलो चाँदी बेचेको छ ।
केन्द्रीय बैंकले पछिल्लो समय तिहार लक्षित चाँदीका सिक्का मार्फत उक्त परिमाणको चाँदी बिक्री गरेको हो ।
सुनको मूल्य र आपूर्तिका कारण केन्द्रीय बैंकले यसपालि सुनका असर्फी सर्वसाधारणलाई बिक्री गरेन । केन्द्रीय बैंकले सुनका असर्फी नयाँ नछापेका कारण सर्वसाधारणलाई बिक्री नगरेको जनाएको छ ।
राष्ट्र बैंकको टक्सार महाशाखाले तिहार लक्षित १०/१० ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का बिक्री गरेको छ । ती सिक्का बिक्री गर्दा कुल चाँदी परिमाण ४ सय १० किलो बराबर भएको केन्द्रीय बैंकले जनाएको छ ।
गत वर्ष धनतेरसमा केन्द्रीय बैंकले सर्वसाधारणलाई करिब ११ किलो सुन बिक्री गरेको थियो । केन्द्रीय बैंकले यमपञ्चक सुरु हुनुभन्दा अघिल्लो दिन अर्थात् धनतेरसमा ११.३ किलो सुन र १७१.५ किलो चाँदी बेचेको थियो ।
टक्सार महाशाखाका अनुसार २.५ ग्रामका सुनका असर्फी ४ हजार ५ सय २० थान बिक्री भएका थिए । यो वर्ष सुनका सिक्का नदिँदा चाँदीका सिक्का बिक्री बढेको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4