Comments Add Comment

स्वास्थ्य, सामाजिक परिवर्तन र सेलिब्रिटी

यो साता एउटा भर्खर उदाउँदै गरेको प्रतिभाको परिवारमा घटेको दुखद् घटनाले अहिले हामी गुज्रिरहेको स्वास्थ्य क्षेत्रको कमी–कमजोरीले निम्त्याएको संकट, राजनीतिक काल–वेला र सामाजिक विभेदका मूल्य–मान्यता सबैलाई एउटै मिलनबिन्दुमा ल्याइदिएको छ ।

घटना हास्य कलाकार आदर्श मिश्रसँग जोडिएको छ । आदर्शले भर्खर आफ्नो मिर्गौला रोगबाट पीडित पितालाई गुमाए । हो, चौथो मिर्गौला लिएर राज्य हाँकिरहेको प्रधानमन्त्रीको कार्यकालमा एक डायलासिस लिन नपाएर अस्पताल, अस्पताल चहारिएर, बिग्रेको मेशीन सामना गर्दै, मिर्गौला दानलाई आफ्नै साली तयार रहेको अवस्था छँदाछँदै पनि उनको ज्यान गयो । मिश्र परिवारसँग थिएन त केवल प्रधानमन्त्री पदसँग आर्जित अपार सामाजिक पूँजी, संसारका एक से एक अस्पताल चहारेर विशेषज्ञहरूसँग सल्लाह गर्ने स्रोत र साधन ।

कोरोनाको शुरूआतदेखि नै विशेषज्ञहरूले महामारीमा सबै साधन र स्रोत केन्द्रित भए पनि मिर्गौला रोगीहरूको डायलासिसको महत्वबारे सरकारको ध्यान बारम्बार आकर्षण गरिरहेका थिए । तर सरकारको ध्यान महामारीमा त बल्लबल्ल केन्द्रित भएको स्थितिमा अन्य रोगबाट पीडितको दुःख र आवश्यकता त पाखा लागेको थियो र अझै छ । यो महामारीकालभरिमा धेरै ‘मिश्र’ हरू जो मिर्गौला, क्यान्सर, मुटुका रोगीहरू आवश्यक सेवाबाट वञ्चित भए होलान् । कतिले ज्यान गुमाए होलान् ।

इतिहासको पानामा राजनीतिज्ञको मात्र होइन सामाजिक परिवर्तन ल्याउन हरेक जगतका प्रतिभाहरूको पनि नाम लेखिएको हुन्छ ।

आदर्श आफ्नो पिताको निधन पनि आफ्नो जात र भारतसँगको नाता भएकै प्रतिफल हो भन्छन् । विशुद्ध राजनीतिक चलखेलले प्रेरित भर्खरै कामचलाउ सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश आएकै साता आदर्शले आफू स्वयंले जन्मसिद्ध नेपाली भएर नेपालभित्रै भोगेका विभेद र अपमान बारे पनि दुःख पोखेका छन् ।

उनले सामाजिक संजालमा आफूले सानो छँदा सीमापारिको मामाघर जाँदा नातागोतासँग बुद्धदेखि सगरमाथासम्म लिएर लडेको आफ्नो राष्ट्रियतालाई काठमाडौंमा भोगेको व्यवहार र मधेशी जातिप्रतिको कटुताले मन दुखाएको अनुभव बताएका छन् ।

हुन त उनले भारतीय नागरिक भएकोले आफ्नै सानिमाले मिर्गौला दान गर्न नपाएको यथार्थमा शायद प्रशासनिक र किन–बेचको सुरक्षाको दृष्टिकोणले औचित्य छ होला तर यस नीतिमा केही हदमा नेपाली समाजको मधेशीहरूप्रतिको विभेदी धारणा नलुकेको होला भन्न चाहिं सकिन्न । यस अर्थमा परोक्ष रूपमा पनि जातीय कारण रहेको देखिन्छ ।

तराईवासीहरूको नातागोता सीमा वारि–पारि रहेको तथ्य नयाँ होइन । यदि सरकारलाई सबै नागरिकको स्वास्थ्यको उत्तिकै महत्व भएको भए यो संभावनाको विकल्प किन खोजी भएन ? छिमेकी राष्ट्रमा पनि गैर–नागरिकले प्रत्यारोपण गर्न सजिलो नभए पनि प्रक्रिया चाहिं रहेको छ ।

मिर्गौला प्रत्यारोपण सेवा सम्बन्धी विभिन्न किसिमका विवाद नेपालमा केही वर्षअघिदेखि नै चलिरहेको छ । भर्खरै मात्र पनि एक विशेषज्ञले वीर अस्पतालमा क्षमता छँदाछँदै पनि अनेक प्रशासनिक र ‘राजनीतिक’ बाधा व्यवधानले गर्दा दिन सक्ने सेवा पनि रोकिएको र बिरामीहरू सेवाबाट वञ्चित रहनु परेको गुनासो गरेका छन् । यसले देशको स्वास्थ्य प्रणालीको सुधार अत्यावश्यक रहेको कुरा पुष्टि गर्छ ।

हुन त पितृ शोकको बज्रपात ठूलो पीडा हो तर उनले सामाजिक सञ्जालमै आफूले स्ट्याण्ड अप प्रतियोगिताको दौरानमा वरिष्ठ हास्यकलाकार सन्तोष पन्तले सन्दर्भ बाहिर गएर क्यामेरा पछाडि नितान्त जातसँग जोडिएर गरेको कमेन्टहरू पनि पीडादायी बताएका छन् ।

यदि सत्य हो भने सन्तोषजीले आफ्नो वरिष्ठताले प्राप्त मञ्च र आवाजको सदुपयोग गर्दै आधुनिक र प्रगतिशील समाजको अपेक्षा अनुरूप सामाजिक मूल्यमान्यतालाई समयानुकूल अगाडि बढ्न प्रयोग गर्नुको साटो वितेका कालखण्डको विभेदी मनसायलाई निरन्तरता दिनुभएको रहेछ ।

कलाकारजगतले विश्वभरि सामाजिक परिवर्तनमा रोल खेलेको भए पनि हास्य कलाकारिता क्षेत्रले भने नयाँ युगमा छलाङ मार्न ढिलासुस्ती नै गरेको देखिन्छ । पश्चिमी समाजमा ठूला कलाकारहरूले पनि अल्पसंख्यक र अश्वेत जातिलाई अभिव्यक्ति वा भेषभूषाले गरेको विभेदी वा पूर्वाग्रही चित्रणको भर्खरै मात्र त्यागेर आफ्नो कलामा नयाँ समावेशी समाजको मूल्यमान्यता आत्मसात् गरेका हुन् ।

हाम्रो कलाजगतमा यो ट्रेन अझै आइपुगेको छैन । हुन त सामाजिक सञ्जालले दिएको मञ्चबाट आफ्नो कलाकारिताबाट नयाँ प्रक्रिया अपनाउँदै उन्नति गर्न पछाडि नपरे पनि नेपाली कलाकारहरूले विकसित समाजमा आएको सामाजिक मूल्यमान्यतालाई बुझेर आफ्नो काममा पनि परिवर्तन ल्याउन चाहिं ढिलाइ गरिरहेका छन् ।

नेपाली हास्यजगतमा अझै जातिविशेषको खिसी गरेर बन्ने कन्टेन्ट हाबी छ । चाहे प्रचलित कलाकार सन्दीप क्षेत्रीको मिठाईलाल होस् वा विभिन्न पत्रपत्रिकामा निस्कने कार्टूनको चित्रण होस्, यिनीहरूले कुनै न कुनै जातको पहिचानलाई लिएर मसला बनाएको देखिन्छ ।

कसैको जातीय भिन्नतालाई पुरानो सामाजिक मूल्यमान्यताको टेवा लिएर कन्टेन्ट बनाउनुमा खासै प्रतिभा देखिन्छ जस्तो लाग्दैन । धेरै आफूलाई कलाकारिताले दिएको ‘लाइसेन्स’ ले आफूलाई कलामा स्वतन्त्रता दिन्छ भन्ने पुरानो विचारधारामै अड्किएका छन् ।

आफूले गरेको चित्रण त मञ्चमा क्षणिक मात्र हो तर आफ्नो व्यक्तिगत धारणा विभेदी नभएको बताएर फुत्कन्छन् । तर सेलिब्रिटीलाई नक्कल गर्ने आम दर्शकलाई त्यो सीमाको ख्याल नहुन सक्छ । अझ अनुपालन गर्न नचाहन सक्छन् । अनि अल्पसंख्यकले चाहिं आफ्नो नाम, जात, धर्म, संस्कृतिबाट अरूको कलाकरितालाई साथ दिइरहनुपर्ने ? कसरी समान भयो यो ?

सन्तोष पन्त जस्तो वरिष्ठ कलाकारले समाजमा आफ्नो आवाजको महत्व बुझ्नुभएको छ । यो कुरा उहाँ स्वयंले सन् २०१७ मा एउटा पत्रिकालाई बताउनुभएको रहेछ । लैंगिक परिवर्तन जस्तो संवेदनशील सामाजिक मान्यताको बन्धन तोडेर आफ्नो सन्तानलाई आड दिएको व्यक्ति आफैंले समाज अर्को किसिमको विभेद भोगिरहेको समुदायको लागि आवाज बन्नुको साटो आफैं असंवेदनशील भएको सुन्दा अफसोचको कुरा हो ।

आदर्श मिश्रको कथा एउटा मधेशी व्यक्ति वा उनको परिवारमा सीमित भएको घटना होइन । यो समस्त जातीय र आर्थिक–सामाजिक अल्पसंख्यक वर्गहरूको यथार्थता हो । जसको जातीय पहिचानलाई लिएर दशकौंदेखि समुदायकै राष्ट्रियता माथि आँच उठाइन्छ । जसको सीमित सामाजिक पूँजीले स्वास्थ्य जस्तो अत्यावश्यक सेवामा सहज पहुँच पाउँदैन । यो त्यो नेपालीको व्यथा हो जो नेपालमै जन्मेर पनि नेपालीको पहिचान बार–बार प्रमाणित गरिरहनुपर्छ ।

विश्वमा सामाजिक परिवर्तन ल्याउन कलाकारिता क्षेत्रको देन इतिहासका विभिन्न कालखण्डमा भएका घटनाहरूले पुष्टि गर्छ । कलाकारिताले सामाजिक परिवर्तनमा मात्र होइन बेला बेलामा समाजलाई एक गर्न पनि भूमिका खेलेको हुन्छ । हामीले सुनेर हुर्केको राष्ट्रिय गीतहरूको उद्देश्य पनि त्यही थियो ।

त्यसैले कला क्षेत्रमा लागेका व्यक्तिहरूको सेलिब्रिटी स्ट्याटसले जति प्रतिष्ठा आर्जन गर्छ त्यस स्ट्याटसले दिएको अभिभाराको त्यत्तिकै सकारात्मक योगदान गर्ने लेवेरज पनि हुन्छ । तर सेलिब्रिटीले कहिलेकाहीं आफ्नो काँधमा रहेको जिम्मेवारी उचित रूपमा बहन नगरिदिंदा नकारात्मक असर पनि त्यत्तिकै हुन्छ ।

तसर्थ, समाजका प्रतिष्ठित कलाकारहरूले २१ औं शताब्दीको आधुनिक समाजको मूल्यमान्यतालाई अनुसरण गर्ने बेला आएको छ । आफ्नो प्रतिष्ठाको वजन बुझेर त्यसको शक्ति सामाजिक परिवर्तनमा लगाउनुपर्छ ।

अनि यस्तो विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रको अभाव र आवश्यकतालाई आवाज दिन मद्दत पुग्छ भने सामान्य समयमा कलाकारहरूले हाम्रो जस्तो विकासोन्मुख समाजमा विभिन्न चेतना फैलाउन अहम् भूमिका खेल्नुपर्छ ।

इतिहासको पानामा राजनीतिज्ञको मात्र होइन सामाजिक परिवर्तन ल्याउन हरेक जगतका प्रतिभाहरूको पनि नाम लेखिएको हुन्छ ।

ट्वीटर : @AmPyakuryal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment