Comments Add Comment

मोरङ जिल्ला अदालतमा अनलाइनबाट बयान र बहस

१३ जेठ, विराटनगर । कोरोना महामारीको जोखिम बढेपछि जिल्ला अदालत मोरङले अनलाइनबाटै मुद्दाको सुनुवाइ गरेको छ । बिहीबार जबरजस्ती करणी मुद्दाको सुनुवाइ अनलाइन माध्यमबाट गरेको हो ।

सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएपछि बिहीबार जुम एपमार्फत मुद्दाको सुनुवाइ भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले बताए । उनका अनुसार न्यायाधीश भरत लम्सालको इजलासले जुममार्फत प्रतिवादीको बयान तथा पक्ष र विपक्षका कानून व्यवसायीको बहसपछि करणी मुद्दाका प्रतिवादीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

‘प्रतिवादीको जुमबाट बयानपछि कानून व्यवसायीले अनलाइनबाटै बहस गर्नुभयो,’ दाहालले भने, ‘बहसपछि इजलासबाट पुर्पक्षका लागि आदेश भयो ।’

करणी मुद्दामा पक्राउ परेका मोरङ जहदा गाउँपालिका–३ का इस्लाम मियाँ, महम्मद कबिर र नसरिन मियाँलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । श्रेस्तेदार दाहालका अनुसार नसरिनलाई ५० हजार, इस्लामलाई २५ र कबिरलाई ४० हजार धरौटीमा छाड्ने आदेश भएको हो ।

२०७७ साल जेठ १६ गते भएको घटना सुरुमा गाउँमै मिलापत्र भएको थियो । तर पीडित पक्षले मिलापत्र गराउने ८ जना विरुद्ध जाहेरी दिएको थियो ।

श्रेस्तेदार दाहालका अनुसार अदालतले जुमबाट बयान र बहसका लागि छुट्टाछुट्टै आईडी बनाएको छ । ‘बयानका लागि एउटा आईडी बनाइएको छ, त्यो आईडी बयान दिने र इजलाससँग हुन्छ,’ उनले भने,‘ बहसका लागि छुट्टै आईडी छ, पक्ष र विपक्षका वकिलका लागि इजलासले जुम आईडी दिन्छ ।’

मुद्दामा सरकारी वकिलको तर्फबाट तेजबहादुर मगर, प्रतिवादीको तर्फबाट अधिवक्ता भरतबहादुर थापा र देवेन्द्र कोइरालाले बहस गरेका थिए ।

‘जुमबाट पहिलो पटक बहस गर्दा सहज भयो,’ अधिवक्ता थापाले भने, ‘इजलासमा न्यायाधीशको अगाडि बहस गरिन्थ्यो, अनलाइनमा पनि न्यायाधीशकै अगाडि बहस गरियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment