Comments Add Comment

नेपाल भर्सेस इराक : यस्तो छ हेड टु हेड र पछिल्लो ६ खेलको नतिजा

Photo Credit : ANFA

१४ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले २० वर्षपछि इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दा विश्वकप छनोटका खेललाई ध्यानमा राख्नेछ ।

फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको बाँकी तीन खेल नेपालले कुवेतमा खेल्दैछ । समूह ‘बी’ मा नेपालको ५ खेलबाट ३ अंक छ ।

त्यसअघि नेपालले इराकसँग जेठ १५ गते शनिबार मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले २० वर्षअघि २००२ को फिफा विश्वकप छनोटमा इराकसँग दुई खेल खेलेको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो ।

त्यसअघि सन् १९८२ मा पहिलो पटक नेपाल र इराक एसिया कपमा खेलेका थिए । जहाँ नेपाल ३-० ले पराजित भएको थियो । त्यसको १९ वर्षपछि २००१ मा फेरि खेल्दा भने नेपालले दुवै खेल हारे पनि गोल भने फर्कायो ।

इराको बगदादस्थित अल शाब स्टेडियममा भएको पहिलो खेलमा नेपाल ९-१ ले पराजित भयो । तर उक्त खेलमा नेपालका निराजन रायमाझीले गोल गरे । त्यसपछि दोस्रो खेलमा नेपालले गोल अन्तर घटायो र २ गोल गर्‍यो । कजाखस्तानको अलमाटीस्थित अलमाटी सेन्ट्रल स्टेडियममा भएको उक्त खेल नेपालले ४-२ ले हारेको थियो । यस खेलमा निराजनसँगै हरि खड्काले पनि गोल गरेका थिए ।

नेपाल र इराक लगभग दुई दशकको अन्तरमा खेल्दै आएका छन् । यसपटक पनि त्यही भएको छ ।

सन् २००७ को एसियन कप जितिसकेको इराक फिफा बरियतामा नेपाल भन्दा १०३ स्थानले माथि छ । फिफाले बिहीबार जारी गरेको नयाँ बरियतामा इराक ६८औं र नेपाल १७१औं स्थानमा यथावत छन् ।

यसपटक इराकसँग खेल्दा नेपाल फरक अवस्थामा छ । हुनत नेपाल र इराक दुवै विश्वकप छनोटका खेलहरु खेल्नुअघि मैत्रीपूर्ण खेल खेल्दैछन् । नेपालले कुवेतमा बाँकी ३ खेल खेल्नुअघि उस्तै वातावरण रहेको इराकको खेल फाइदा हुन सक्छ ।

उता इराकले हङकङ र कम्बोडियासँग खेल्न बाँकी रहेकाले त्यसका लागि ताजिकिस्तान र नेपालसँग मैत्रीपूर्ण खेल खेल्न खोजेको थियो । जसमा ताजिकिस्तान विरुद्धको खेल गोलरहित बराबरीमा सकियो ।

नेपालले विश्वकप छनोटमा आफूभन्दा बरियतामा माथि रहेको अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्दैछ । त्यसैले इराकसँगको खेलले मद्दत गर्न सक्छ ।

अर्कोतर्फ कुवेती प्रो-लाइसेन्स प्राप्त अब्दुल्लाह अलमुताइरी प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक खेल्न लागेको हो र त्यो खेल नै इराकविरुद्ध हुँदैछ ।

अलमुताइरीले सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायरका लागि मध्यनजर गर्दै यस पटक नेपाली टोलीमा युवा खेलाडीलाई अवसर दिएका छन् । उनले ६ नयाँ खेलाडी राखेका छन् भने गत चैतमा थ्री नेशन्स कप जित्दाको टिमबाट १३ खेलाडी परिवर्तन गरेका छन् ।

पहिलो पटक टिममा परेका गोलकिपर विशाल सुनार, डिफेण्डर गौतम श्रेष्ठ, मिडफिल्डर कमल थापा, सुरजज्यु ठकुरी, आयुष घलान र मनिस डाँगीसँगै गोलकिपर दीप कार्कीले राष्ट्रिय टिममा डेब्यु गर्न बाँकी नै छ ।

अधिकांश खेलाडी युवा र नयाँ रहेकाले पनि नेपालको लागि यो अन्तर्राष्ट्रिय लेभलमा अनुभब बटुल्ने असरको रुपमा रहेको छ । पहिलो पटक राष्ट्रिय टिममा परेका खेलाडीहरु एकै पटक ठूला टिम विरुद्ध खेल्दा दबाब हुन सक्छ । उनीहरुका लागि यो चुनौतीसहित अवसर पनि हो ।

नेपाली टिमको औसत उमेर २३ वर्षको छ । नेपालमा औसत उमेरको हिसाब राख्ने खासै अभ्यास नरहेकाले यो सम्भवत अहिलेसम्मकै सबैभन्दा युवा टिम मान्न सकिन्छ ।

अहिले टिममा रहेका सबैभन्दा सिनियर खेलाडीमा किरण चेम्जोङ र रोहित चन्द छन् । त्यसबाहेक विशाल राई, नवयुग श्रेष्ठ, अन्जन विष्ट, अनन्त तामाङले पनि लामो समयदेखि राष्ट्रिय टिममा खेल्दै आएका छन् ।

नेपाल र इराको पछिल्लो ६ खेलको नतिजा

नेपालले कोरोना अघि २०१९ नोभेम्वरमा कुवेतविरुद्ध विश्वकप छनोट खेल खेलेको थियो । त्यसपछि २०२० नोभेम्बरमा करिब १ वर्षपछि नेपालले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दै पुनरागमन गर्‍यो ।

यस्तै २०२१ मार्चमा घरेलु मैदानमा आयोजना भएको थ्री नेशन्स कपमा नेपालले तीन खेल खेल्यो । बंगलादेश र कीर्गिस्तान यू-२३ टिम सम्मिलित प्रतियोगिताको उपाधि नेपालले नै जितेको थियो ।

नेपालको पछिल्लो ६ खेलको नतिजा

२०१९ नोभेम्वर १९ : विरुद्ध कुवेत १-० ले पराजित, विश्वकप छनोट

२०२० नोभेम्वर १३ : विरुद्ध बंगलादेश २ -० ले पराजित, मैत्रीपूर्ण

२०२० नोभेम्बर १७ : विरुद्ध बंगलादेश ०-० बराबरी, मैत्रीपूर्ण

२०२१ मार्च २५ : विरुद्ध कीर्गिस्तान यू २३, ०-० बराबरी, थ्री नेशन्स कप

२०२१ मार्च २७ : विरुद्ध बंगलादेश ०-० बराबरी, थ्री नेशन्स कप

२०२१ मार्च २९ : विरुद्ध बंगलादेश २-१ ले विजयी, थ्री नेशन्स कप

विश्वकप छनोटको बाँकी ३ खेल

जुन ३ : विरुद्ध चाइनिज ताइपेई

जुन ७ : विरुद्ध जोर्डन

जुन ११ : विरुद्ध अष्ट्रेलिया

इराकको पछिल्लो ६ खेलको नतिजा

२०२० नोभेम्बर १२ : विरुद्ध जोर्डन ०-० बराबरी

२०२० नोभेम्बर १७ : विरुद्ध उज्वेकिस्तान २-१ ले विजयी

२०२१ जनवरी १२ : विरुद्ध युएई ०-० बराबरी

२०२१ जनवरी २७ : विरुद्ध कुवेत २-१ ले विजयी

२०२१ मार्च २९ : विरुद्ध उज्वेकिस्तान १-० ले विजी

२०२१ मे २४ : ताजिकिस्तान ०-० बराबरी

विश्वकप छनोटको बाँकी ३ खेल

जुन ७ विरुद्ध कम्बोडिया

जुन ११ विरुद्ध हङकङ

१५ विरुद्ध इरान

इराकसँग हेड टु हेड

खेल : ३

इराक जित : ३

नेपाल जित : ०

१९९२ एसियम गेम्स : नेपाल ३-० ले पराजित

२००१ विश्वकप छनोट : नेपाल ९-१ ले पराजित

२००१ विश्वकप छनोट : नेपाल ४-२ ले पराजित

इराकले गरेको गोल : १६

नेपालले गरेको गोल : ३

गोलकर्ता : निराजन रायमाझी -२, हरि खड्का -१

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment