Comments Add Comment

यास चक्रवातको प्रभाव : पाँचवटा प्रदेशका यी स्थानमा भारी वर्षाको सम्भावना

१४ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण शुक्रबार सुदूरपश्चिमबाहेकका प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा भने केही स्थानमा मात्र मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

हाल नेपालमा यास चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । त्यसैले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । यो अवस्थासँगै धेरै स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद् मीन कुमार अर्यालले मौसममा शनिबार अपराह्नबाट क्रमश: सुधार हुँदै जाने जानकारी दिए ।

केही स्थानमा भारी वर्षाको सम्भावना

महाशाखाले जारी गरेको नियमित बुलेटिनमा उल्लेख भएअनुसार शुक्रबार दिउँसो र राति प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ । यसैगरी उच्च हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । केही स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ ।

शनिबार पनि प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुने छ । तर मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मात्र छ । आइतबार राति भने प्रदेश १ र प्रदेश २ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।

यास चक्रवातको प्रभावका कारण परिवर्तन भएको मौसमले क्षति पुर्याउन सक्ने भन्दै मौसमविदहरुले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन र तटीय क्षेत्रमा विशेष सजगता अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment