Comments Add Comment

कोरोना संक्रमितको उपचारका लागि ललितपुर महानगर र बिध ल्याबबीच समझदारी

तत्काल २ सय सिलिण्डर अक्सिजन उपलब्ध गराउने

काठमाडौं । बिध ल्याब र ललितपुर महानगरपालिकाबीच कोरोना संक्रमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी भएको छ । बिहीबार दिउँसो महानगरपालिकाको कार्यालयमा भएको समझदारीअनुसार युएनपार्कमा रहेको बिध ल्याबले १० लिटर क्षमताको २०० थान अक्सिजनसहितको सिलिण्डर महानगरलाई हस्तान्तरण गर्नेछ ।

बिधले हस्तान्तरण गरेको अक्सिजनसहितको सिलिण्डर आवश्यकताअनुसार ललितपुर महानगर, ललितपुरका अन्य स्थानीय तह तथा काठमाडौँ उपत्यकाका अन्य स्थानीय तह तथा स्वास्थ्य संस्थामा उपलब्ध गराइने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

संक्रमण बढेर भविष्यमा अन्य अक्सिजनसहितको सिलिण्डर आवश्यक परेमा बिध ल्याबले महानगरलाई सिलिण्डर उपलब्ध गराउने सहमति पनि भएको छ । कोभिड–१९ संक्रमण पूर्ण नियन्त्रण भएपश्चात महानगरपालिकालाई आवश्यक परेको खण्डमा पुनः परिचालन गर्न सक्ने गरी ल्याबले फिर्ता लैजाने समझदारी भएको महानगरपालिकाले जनाएको छ ।

समझदारीपत्रमा ललितपुर महानगरपालिका तर्फबाट प्रमुख चिरिबाबु महर्जन र बिध ल्याबको तर्फबाट अध्यक्ष भीमकान्त भण्डारीले बिहीकार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । महानगर क्षेत्रभित्र होम आइसोलेनसमा रहेको संक्रमितलाई बिध ल्याबले स्वास्थ्य सेवा पुर्याउने विषयमा पनि दुई पक्षबीच समझदारी बनेको ल्याबका अध्यक्ष भण्डारीले जानकारी दिए ।

दोस्रो भेरियन्टको संक्रमितको संख्या बढेपछि मुलुकभर अक्सिजन सिलिण्डर अभाव भएपछि बिध ल्याबले चीनबाट १४ हजार सिलिण्डर आयात गरेको थियो । उक्त ल्याबले छिट्टै काठमाडौँ उपत्यकासहित सातै प्रदेशमा ठूला अक्सिजन प्लान सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष भण्डारीले बताए ।

मेयर महर्जनले ल्याबले गरेको सहयोगले महानगरभित्र भएका कोरोना संक्रमितको उपचारमा थप सहयोग पुग्ने बताए । महर्जनले कोभिड महामारीको यो घडिमा आफ्नै महानगरपालिकाभित्र स्थापित यस ल्याबले गरेको सहयोगले अमूल्य रहेको उल्लेख गरे ।

अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्युदर बढ्न थालेपछि जनतालाई बचाउन आफूहरुले सक्दो सहयोग गर्ने ल्याबका सञ्चालक विके भण्डारीले कार्यक्रममा बताए । महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न प्रतिबद्ध भएको भन्दै आगामी दिनमा ल्याबका तर्फबाट अझै सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको भण्डारीले बताए । ‘महानगरापालिकासँग हामीले पहिल्यैदेखि सहकार्य गर्न खोजेका थियौं । अब कोभिड फेरि नियन्त्रणभन्दा बाहिर जाने अवस्था आएको खण्डमा फेरि सहयोग गर्ने कुरामा हामी प्रतिबद्ध छौं ।’ भण्डारीले समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रतिबद्धता गरेका छन् ।

ल्याबले यसअघि पनि स्वास्थ्य सामाग्री नभएर पीसीआर परीक्षण गर्न नसक्ने भएको अवस्थालाई मध्यनजर गर्दै सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment