Comments Add Comment

स्वास्थ्यकर्मीका लागि महीनावारी पढ्नैपर्ने पाठ मात्रै हो त ?

आज मे २८ । विश्वमा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले विश्व महीनावारी स्वच्छता दिवसका रूपमा मनाउँछन् । ‘महीनावारीमा स्वच्छता, स्वास्थ्यमा कार्य र लगानी’ भन्ने नाराका साथ यस वर्षको विश्व महीनावारी स्वच्छता दिवस मनाइँदैछ ।

यो दिवसले मानिसमा कति प्रभाव पारेको छ वा केवल कर्मकाण्डका रूपमा मात्रै रहेको छ भन्ने फरक विषय हुन सक्ला । मैले भने आफूले देखेको समाज, भोगेको अनुभवलाई प्रस्तुत गर्न यही दिन छानेकी मात्रै हुँ ।

म महिला । पेशाले स्वास्थ्यकर्मी । म आफू स्वयं महीनावारी भोग्दछु र महीनावारी भोग्ने अरूको भोगाइ पनि थाहा पाउँछु । मेरो पदीय जिम्मेवारीले, मैले पढेको शिक्षाले पनि हाम्रा पुरातन मान्यताहरू भत्काउनुपर्छ भन्ने मेरो मान्यता छ । म जस्ता महीनावारी भोग्ने, भोगेका वा भोग्नुपर्ने हरेक नारीहरूले महीनावारीप्रतिको अन्धविश्वास तोड्न सक्दो प्रयत्न गर्नुपर्छ भन्ने मेरो सोचाइ छ ।

तर व्यवहारमा यस्तो कमै मात्र हुन्छ । आम मानिससँग मात्रै होइन कि पढे–लेखेकाहरूसँग पनि महीनावारी बार्नुपर्ने परम्परागत कारणहरू पर्याप्त हुन्छन् भने सबै स्वास्थ्यकर्मीहरू पनि बार्नुपर्ने रुढताबाट बाहिर निस्किन सकेका छैनन् तर हामीले सही मानेका ती कारणहरू कतिको मानव हितमा छन् भन्ने बारेमा हामीले सोचेको देखिंदैन । पहिलेदेखि चलिरहेकै छ, यसैले मान्नुपर्छ भन्ने धारणा व्याप्त छ ।

म तालिमको सिलसिलामा केही वर्ष अगाडि खोटाङमा थिएँ । वागमती प्रदेशका अन्य स्वास्थ्य संस्थाबाट झन्डै एकदर्जन स्वास्थ्यकर्मी पनि सोही तालिमका लागि आएका थिए । तालिमको अवधि दुई महीनाको थियो । हप्तामा एकदिन बिदा हुन्थ्यो । हामी बिदाको दिन घुम्न निस्किन्थ्यौं ।

एकदिन छुट्टीमा हामी हलेसी महादेव दर्शन गर्न जाने योजनामा थियौं । योजना अनुसारको मितिकै दिन मेरो महीनावारी भयो ।

‘पुसको यो चिसोमा केको बिहानै नुहाउन थालेको ?’ मैले बिहानै नुहाउनका लागि पानी तताउन थालेपछि मसँगै कोठामा बस्ने साथीको प्रश्न थियो, ‘मुख धोएर मन्दिर गए हुन्छ यो चिसोमा । मन सफा हुनु प¥यो क्या सिस्टर, होइन र ?’

मैले महीनावारी शुरू भएको सुनाएँ । यसैले नुहाउन लागेको बताएँ । उहाँको अनुहार अँध्यारो भयो ।

‘किन पीर मान्नु भो त ?’ मैले जिस्क्याएकी थिएँ ।

‘ह्या आजकै दिन हुनुपर्ने ।’ उहाँको खिन्नता रोकिएको थिएन, ‘म एक्लै त के जानु ? अरू कुनै दिन जाम्ला । आजको प्लान क्यान्सिल भन्दिम् साथीहरूलाई ।’
तर योजना रोकिएन । म त्यो दिन अरूसँगै मन्दिर गएर दर्शन गरेर फर्किएँ । त्यसमा कसैले केही खराब भनेनन् तर बेलुका मेरो पालो भए पनि मैले खाना बनाउनु परेन ।

त्यसका अरू चार दिन मैले भान्सामा खाना पकाउनु परेन । पछि थाहा पाएँ, पुरुष स्वास्थ्यकर्मी साथीहरूलाई महीनावारी भएकोले पकाएको खाँदा दिङ्दिङ् लाग्छ रे ! या त बाहिर नै खाने अथवा सविनालाई पकाउन नलाउनु भनिदिएछन् । यो एकै घटनाले हाम्रो समाजमा रहेको महीनावारीप्रतिको परम्परा र सोचका बारेमा सकारात्मक र नकारात्मक पाटोहरू देख्न पाएँ ।

यी सबै घटनाको सकारात्मक पाटो हेर्ने हो भने मलाई कसैले मन्दिर जानबाट रोकेनन् । साथीहरू महीनावारीमा मन्दिर जानै हँुदैन भन्ने रुढताबाट अलि परै छन् । अर्थात्, समाज फेरिंदैछ । मन्दिरमा कसैले प्रवेश गर्नुभन्दा पहिले तपाईं महीनावारीमा हुनुहुन्छ भनेर सोधेनन् । अर्थात्, मन्दिरमा त्यस्तो कडिकडाउ छैन । त्यस्तै मैले चार दिनसम्म भान्साको कामबाट आराम पाएँ । यसैले महीनावारी बार्नुका सकारात्मक पाटो पनि हेर्न सकिन्छ भन्ने तर्क गर्न सकिएला । तर ती वास्तवमै सकारात्मक भनिएकै प्रायोजनका लागि भएका हुन् त ?

महीनावारी बार्नुसँग सबैभन्दा पहिले जोडिएर आउने कुरा हो, हाम्रो धर्म । अमूक ऋषिहरूको पाप बोकेर महिला रजस्वला हुन्छे, त्यसैले ती चार दिन ऊ हदैसम्म अपवित्र हुन्छे भनेर कथामा पढाइन्छ । त्यही श्लोकहरू देखाएर मन्दिर जान हुँदैन भनिन्छ । नर्कको डर देखाइन्छ । तर जति नै अपवित्र भनिएको भए पनि रजस्वला प्राकृतिक प्रक्रिया हो र सन्तानोत्पादनका लागि अपरिहार्य हो भन्नेमा चैं शायदै दुईमत होला ।

रजस्वला नहुने हो भने सन्तान प्राप्ति असम्भव छ भने रजस्वला चाहिँ अपवित्र कसरी हुन्छ ? अन्न उब्जाउने भनेर माटो पुज्ने हामी यस्तो प्रकृति विरोधी तर्कलाई कसरी समर्थन गर्न सक्छौं । महीनावारीमा मन्दिर जान्छु भन्नुको अर्थ धर्म नमान्नु हो भन्ने सोचाइ छ तर हामी साना भन्दा साना सफलता र विशेषताका लागि भगवानप्रति आभार व्यक्त गर्दछौं र यति ठूलो विशेषता दिएर महीनावारी नियमित बनाइदिने उनै परमप्रभुलाई कृतज्ञता प्रकट गर्नु चैं गलत कसरी हुन्छ ? यो त झन् धार्मिक र आस्तिक विचारधारा भएन र ?

अर्को तर्क हुन्छ, व्यक्तिगत आराम दिएको भन्ने । त्यो हो भने सबै कामबाट आराम दिनुपर्ने हो त । यसको त महीनावारी चलिरहेको छ भनेर कुनै महिलालाई चार दिनसम्म आरामले बस्न दिइन्छ र ? हामीले गाउँमा देख्छौं कि महीनावारी बार्ने भनेर भान्साको कामबाट निकालिएर त्यही समय डोकामा गोबरमल बोकिरहेका हुन्छन् । भान्साको काममा आराम दिने तर्कले डोकोभरी गोबर मल बोक्न चैं कसरी दिन्छ त ? हामी यतिविघ्न ढोंगी कसरी हुन सक्छौं ?

सँगै आउने अर्को तर्क छ समाज बदलिंदैछ । महीनावारी बार्ने कहिलेदेखि शुरू भयो भन्ने यकिन तथ्यांक पाइँदैन । शायद सयौं वर्ष पहिलेदेखि हो । अहिलेसम्म पनि बार्ने, नछुने हुने र छाउपडी जस्ता प्रथाहरू कायमै छन् । यही कारणले लज्जित भएर कति छात्राहरूले विद्यालय नै छोड्छन्, कतिले शारीरिक र मानसिक अस्वस्थता भोग्नु परेको छ, कतिको वृत्ति–विकासमा नै अवरोध भएको छ तर समाज बदलिंदैछ भनेर अझै कति सय वर्ष पर्खिने ? यदि यो गलत हो भने आजैबाट किन नफ्याल्ने ? यति जटिल प्रश्नको जवाफ हामी कति हलुका ढंगले दिन सक्छौं ।

सबैभन्दा दुखद कुरा त के छ भने हामीले माध्यमिक पढाइ सक्नुभन्दा पहिले नै रजस्वलाका बारेमा पढिरहेका हुन्छौं । कुन ग्रन्थीले कुन हर्मोन निकाल्छ, कुन नसाबाट रगत बगेर रजस्वला हुन्छ भन्ने हामी धेरैलाई मुखाग्र हुन्छ तर व्यवहारमा त्यसको प्रयोग अझै हुनसकेको रहेनछ । हामीले पढेको विज्ञान, हामीले लिएको शिक्षा केवल परीक्षामा पास हुनका लागि मात्रै हो त ? रजस्वला भन्ने पाठ केवल परीक्षामा आउने ५ नम्बरको प्रश्न मात्रै हो त ? यो सबैका लागि महत्वपूर्ण प्रश्न हो । सबैभन्दा धेरै महत्वपूर्ण प्रश्न भने अझै पनि स्वास्थ्यकर्मीकै लागि हो ।

हामीले पढेको कुरा, सिकेको सीप र पाएको ज्ञानले हामीलाई नै परिवर्तन गर्न सक्दैन भने त्यही ज्ञान प्रयोग गरेर हामीले समाजलाई के स्वस्थ बनाउन सकौंला र ?

– स्याफ्रुबेसी स्वास्थ्य चौकी, रसुवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment