Comments Add Comment

जो मृत्यु जित्नेहरूलाई साथ दिइरहेका छन्

फाइल तस्वीर

१४ जेठ, काठमाडौं । कोरोना महामारी सुरु भएपछि अधिकांशको दैनिकी अस्तव्यस्त भएको छ । मानिसहरूमा विभिन्न कारणले मानसिक तनाव बढिरहेको छ । कैयौँ रोगका कारण, कैयौँ आफन्त बिरामी भएका कारण त कोही आफन्त गुमाएका कारण तनावमा छन् । त्यसबाहेक कतिपय दैनिक गुजारा चलाउन हम्मेहम्मे भएका कारण मानसिक तावमा छन् ।

कतिपयले व्यवस्थापन गर्न सकिरहेका छन् त कतिपय व्यवस्थापन गर्न नसकेर मानसिक स्वास्थ्य समस्या झेलिरहेका छन् । तनाव व्यवस्थापन गर्न नसक्दा त्यसले मानसिक स्वास्थ्य समस्या मात्रै नभएर शारीरिक स्वास्थ्यमा पनि समस्या निम्ताउँछ । मानिसहरू कार्यक्षेत्र अनुसार पनि मानसिक तनाव ब्यहोर्न बाध्य छन् ।

त्यसमध्येका अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् स्वास्थ्यकर्मीहरू पनि हुन । संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने भएकोले संक्रमित हुने जोखिम उच्च हुन्छ ।

पेसागत कर्तव्य बहन गर्ने क्रममा नै संक्रमित भई कतिपय स्वास्थ्यकर्मीले ज्यान समेत गुमाएका छन् । कैयौँ कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुने त्रासका कारण मानसिक तनावमा छन् । तर अधिकांशले तनाव व्यवस्थापन गरेरै काम गरिरहेका छन् । एकदम कमलाई मात्रै मनोपरामर्शको जरुरी परेको पाइएको छ ।

मानसिक तनावकै कारण चिन्ता बढेको, निद्रा नलाग्ने, खाना नरुच्ने जस्ता समस्या भोगिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स विनिता लुईंटेल पनि निद्रा नलाग्ने, चिन्ता लाग्ने जस्ता समस्या भोगिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘यो पटकको भाइरस एकदम घातक छ । अक्सिजन, आईसीयू, भेन्टिलेटर नपाएका कारण धेरैले ज्यान गुमाउनुपरिरहेको छ । यस्तो दृश्यले झन धेरै तनाव हुन्छ ।’

स्टाफ नर्स विनिता लुँईटेल भन्छिन्– अस्पतालमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित भएर अक्सिजन, आईसीयू, भेन्टिलेटरको आवश्यकता परेका पाउन सक्ने अवस्था थिएन । अझै पनि सहजै पाउने वातावरण बनिसकेको छैन । त्यसले पनि मानसिक रुपमा कमजोर र चिन्तित बनाएको छ

एक हप्ता अघिसम्म अस्पतालमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित भएर अक्सिजन, आईसीयू, भेन्टिलेटरको आवश्यकता परेका पाउन सकिने अवस्था थिएन । अझै पनि सहजै पाउन सकिने वातावरण बनिसकेको छैन । त्यसले पनि कार्यरत स्वास्थ्यकर्मीलाई मानसिक रूपमा कमजोर र चिन्तित बनाएको उनको अनुभव छ ।

भन्छिन्, ‘कत्ति जनाले अक्सिजन, आईसीयूको अभावमा ज्यान गुमाउनुभयो । संक्रमित भएको अवस्थामा हाम्रो पनि हाल त्यही हुने हो । यसले मानसिक चिन्ता र कमजोर त बनाउने नै भयो ।’

करिब डेढ महिनाअघि मात्रै विनिताले दाजु गुमाएकी थिइन् । हृदयघात भई उनका दाजु बिते । कामको चापमा उक्त आघात त्यसै सहन पर्‍यो । यसले उनको मानसिक चिन्ता झन् बढायो । तर उनले अहिलेसम्म सकारात्मक तरिकाले व्यवस्थापन गरिरहेकी छिन् ।

दैनिक व्यायाम, संगीत, भजन सुनेर तनाव व्यवस्थापन गरिरहेको सुनाउँछिन् । अस्पतालले मनोविमर्शको सेवा दिएपनि अहिलेसम्म आफैँ व्यवस्थापन गरिरहेको उनले बताइन् ।

उनको भनाइ अनुसार कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी अधिकांश मानसिक तनावमा छन् । त्यसैले उनीहरूको तनाव कम गर्न, प्रोत्साहन गर्नका लागि सम्बन्धित विभाग, संस्था अथवा सरकारले कार्यक्रम गर्न जरुरी छ ।

शिक्षण अस्पतालकी नर्स वर्षा खवास पाँच महिनादेखि कोभिड संक्रमितको उपचारमा संलग्न छिन् । वर्षाको बच्चा सानो भएकोले कोभिड संक्रमित वा सुत्केरी वार्डमध्ये कुनमा काम गर्ने भनेर छनौट सुविधा दिइएको थियो । उनले कोभिड वार्ड छनौट गरिन् । संक्रमित हुने डरभन्दा पनि कामको चापले भने निक्कै मानसिक तनाव भएको उनको अनुभव छ ।

वैशाखअघि संक्रमितहरू कम थिए । कामको चाप थिएन । तर वैशाख लागेसँगै संक्रमित हुने र अस्पताल भर्ना हुनेको संख्या बढ्यो । यसले स्वास्थ्यकर्मीहरूको कामको भार थपियो । गम्भीर बिरामीको चाप, उनीहरूको मृत्युले बेला बेला निक्कै हतास बनाउँथ्यो । तर आफ्नो पेसा र जिम्मेवारी सम्झेर सम्हालिँदै काम गरिरहेकी छिन् ।

भर्ना भएका जत्ति नै गम्भीर अवस्थाका भएपनि घर फर्काउन सकिन्छ कि भन्ने आशा मनमा राखेर स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा लागिपरेका हुन्छन् । कतिपय त्यस्ता व्यक्तिहरू उपचारपछि निको भएर घर फर्किन्छन् । यस्ता क्षणले स्वास्थ्यकर्मीलाई काम गर्ने ऊर्जा दिन्छ । तर कतिपय बिरामी भने अस्पतालमै ज्यान गुमाउँछन् । यसले स्वास्थ्यकर्मीलाई निराश बनाउँछ ।

खवास भन्छिन्, ‘बिरामीलाई निको बनाउन रातदिन मेहनत गर्दा पनि घर फर्काउन नसक्दा साह्रै पीडा हुन्छ । यसले एकैछिन त निक्कै विक्षिप्त बनाउँछ । फेरि यस्तै हो भनेर सम्हालिनुको विकल्प छैन । निक्कै कठिन समय काट्दैछौं ।’

अहिले बिरामीको चाप घट्दै गएकोले केही राहत महशुस गरिरहेको बताउँछिन् । स्वास्थ्यकर्मीलाई परिवारको साथ, सहयोग हुने हो भने पनि मानसिक स्वास्थ्य समस्या कम हुने उनको अनुभव छ ।

केही हप्ता अस्पतालमा बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटरको अभावका कारण वीर अस्पतालले धेरै बिरामी भर्ना गर्न सकेन । यी सबको व्यवस्थापन गर्न नसक्दा डा.अच्युत कार्कीको केही हप्ता निकै तनाव र पीडायुक्त बित्यो । संक्रमितको चाप बढेकोले बढीभन्दा बढी व्यवस्थापन गर्ने दबाब उनले खेप्नुपर्‍यो । उनी हरसम्भव प्रयासमा जुटे ।  अत्यन्तै तनावपूर्ण स्थिति थियो । तर तनावका बीच जिम्मेवारीका कारण धेरै सोच्ने फुर्सद नभएकै कारण ठूलो समस्या नआएको उनको भनाइ छ ।

‘केही हप्ताको तनाव त भनिसाध्य छैन । सुत्नै पाइएन । अक्सिजनको लाइनमा, बेड व्यवस्थापनमा र फोनमा कुरा गर्दै दिनरात बिते,’ उनी भन्छन्, ‘अत्ति नै गाह्रो भएपछि सुत्न खोज्यो । फोन आउँछ । उठाउनैपर्‍यो। अहिले केही हलुका भएको छ ।’

अस्पतालमा कार्यरत अधिकांशलाई मानसिक तनाव बढेको अनुमान गर्छन् उनी । संक्रमितको उपचार व्यवस्थापन टिम, उपचारमा खटिएका डाक्टर, नर्स सबैको अवस्था उस्तै छ ।

 

शिक्षण अस्पतालकी नर्स वर्षा खवास भन्छिन्– बिरामीलाई निको बनाउन रातदिन मेहनत गर्दा पनि घर फर्काउन नसक्दा साह्रै पीडा हुन्छ । यसले एकैछिन त निक्कै विक्षिप्त बनाउँछ । उद्देग लाग्छ । फेरि यस्तै हो भनेर सम्हालिनुको विकल्प हुँदैन । नक्कै कठिन समय काट्दैछौं

वीर अस्पतालको आईसीयूमा कार्यरत स्टाफ नर्स लक्ष्मी मानन्धर योपटक निक्कै कठिन भइरहेको बताउँछिन् । अस्पतालले क्वारेन्टिनको समेत व्यवस्थापन गरेको छैन । घरै जानुपर्दा आफ्ना कारण परिवार संक्रमित हुने जोखिमले पनि मानसिक तनाव बढी हुने गरेको उनले सुनाइन् । उनलाई आईसीयूमा आउने संक्रमितको उमेर समूहले पनि थप त्रसित बनाउने गरेको छ ।

‘पहिलो लहरमा आईसीयूमा उपचार गराउन आउने अधिकांश ५० वर्ष माथिका हुन्थे । यो पटक त अधिकांश २० देखि ३० वर्ष उमेर बीचका छन्,’ उनी भन्छिन्, ‘उनीहरूको परिवार, आफन्तहरूले जीवन रक्षाका लागि गरेको अनुनय,  प्रयास जस्ता कुराहरूले भावानात्मक रूपमा कमजोर बनाउँछ । यो उमेरका लासहरू प्याक गर्दा शरीर काँप्छ ।’

उनी दैनिक यही अवस्थाबाट गुज्रिरहेकी छिन् । यसबाट हुने मानसिक तनाव उनी आफैँ व्यवस्थापन गरिरहेको बताउँछिन् । भन्छिन्, ‘कहिलेकाँही त एकदमै गाह्रो हुन्छ । त्यस्तो बेला अस्पतालले मनोविमर्शको व्यवस्था गरे पनि हुनेझैं लाग्छ ।’

शिक्षण अस्पतालका उप–प्राध्यापक एवं छातीरोग विशेषज्ञ डा.निरज बम गएको वर्षदेखि नै कोभिड संक्रमितको उपचारमा संलग्न हुँदै छन् । पहिलो लहरको केही समय र दोस्रो लहरमा स्वास्थ्यकर्मीलाई एकदमै मानसिक तनाव भएको बताउँछन् ।

वीर अस्पतालको आईसियुमा कार्यरत स्टाफ नर्स लक्ष्मी मानन्धर भन्छिन्– कोरोनाको पहिलो लहरमा आईसियुमा उपचार गराउन आउने अधिकांश ५० वर्ष माथिका हुन्थे । योपटक त अधिकांश २० देखि ३० वर्ष उमेरका छन् । उनीहरूलाई बचाउन आफन्तले गरेको अनुनयले भावानात्मक रुपमा कमजोर बनाउँछ । यो उमेरका लासहरू प्याक गर्दा शरीर काँप्छ । मन रुन्छ

डा.बम भन्छन्, ‘केही समय त निक्कै कहालीलाग्दो अवस्था सिर्जना भयो । संक्रमितहरूको अवस्था देख्दा आफ्नो भविष्य नै होला/नहोला झैं लाग्थ्यो ।’

दोस्रो लहरले धेरैको ज्यान लियो । संक्रमित दर कम भएपनि गम्भीर अवस्थाका बिरामीको संख्या अझै उस्तै छ । कामको चाप बढ्दा मानसिक तनाव भएपनि अन्य मानसिक स्वास्थ्य समस्या कम देखिने डा.बमको अनुभव छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्य अवस्था कस्तो छ भनेर अध्ययन भएको छैन । तर अधिकांश स्वास्थ्यकर्मीले सकारात्मक रुपमा व्यवस्थापन गरी काम गरिरहेको पाइएको र एकदम कम स्वास्थ्यकर्मीहरूमा एन्जाईटीको समस्या देखिएको शिक्षण अस्पतालका मनोरोग तथा मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा.डा.सरोजप्रसाद ओझा बताउँछन् ।

‘अहिले सबैलाई तनाव छ । त्यसमध्ये पनि अग्रपंक्तिमा रहेर संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई मानसिक तनाव हुनु स्वाभाविक हो,’ उनी भन्छन्, ‘अधिकांशले उच्च मनोबलका साथ सकारात्मक रुपमा व्यवस्थापन गरेको देखिन्छ । एकदम कमलाई मात्रै मनोविमर्शकर्ताको आवश्यक परेको छ ।’

प्रा.डा. ओझाका अनुसार विभागले अहिले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सहयोगको लागि छुट्टै हटलाईन उपलब्ध गराएको छ ।

उक्त नम्बरमा फोन गरेर अस्पतालका स्वास्थ्यकर्मीले आफूलाई आवश्यकता परेको खन्डमा तनाव सेयर गर्न, सुझाव लिन, मनोविमर्श लिन सक्नेछन् । विभागले आवश्यकता अनुसार भेटेर पनि मनोविमर्श दिने व्यवस्था गरेको छ । तर अहिलेसम्म भेटेर नै मनोविमर्श दिनुपर्ने अवस्था नआएको प्रा.डा. ‍ओझाले बताए ।

शिक्षण अस्पतालले झैं नेपालभरका स्वास्थ्य संस्थाले यसरी आफ्नो संस्थामा कार्यरत स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था बुझेर सेवा दिन जरुरी छ । यस्तो सेवाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन र आत्मविश्वास बढाउने प्रा.डा. ओझाको दाबी छ ।

भन्छन्, ‘महामारीमा मात्रै नभएर अन्य समयमा पनि सम्बन्धित स्वास्थ्य संस्थाले गर्नुपर्छ । अब राज्यले नै मनोविमर्शलाई सेवाको रूपमा अगाडि बढाउनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment