+
+
Shares

पूरा होला दुई वर्षमा लुम्बिनी गुरुयोजना ?

टोपराज शर्मा टोपराज शर्मा
२०७८ जेठ १६ गते ८:५१

१६ जेठ, बुटवल । १७ वर्षमा पूरा गर्ने भनिएपनि ४३ वर्षसम्म पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना अबको दुईदेखि तीन वर्षमा पूरा हुने भएको छ । संघीय सरकारले शनिबार ल्याएको बजेटमा आउँदो आर्थिक वर्षका लागि एक अर्ब ५० करोड बजेट छुट्टाउँदै दुई वर्षमा पूरा हुने घोषणा गरिएसँगै लुम्बिनी गुरुयोजना छिट्टै पूरा हुने आशा पलाएको हो ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले संयुक्त राष्ट्रसंघको पहलमा तयार गरेको गुरुयोजना सन् १९९५ मा सम्पन्न गर्ने भनिएको थियो । तर ४३ वर्षमा ८० प्रतिशत काम मात्र पूरा भएको छ । वजेट वक्तव्यमा दुई वर्षमा पूरा हुने भनिएपनि कोरोना महामारीको अन्त्य भएको खण्डमा अबको तीन वर्षमा गुरुयोजना सम्पन्न हुने लुम्बिनी विकास कोषका पदाधिकारीहरु बताउँछन् ।

गुरुयोजनाका बाँकी काम एकैपटक पूरा गर्नेगरी गत सोमबार ४ अर्ब रुपैयाँ बराबरको ग्लोबल टेण्डर समेत आह्वान भएको छ भने थप ३ अर्बको टेण्डर यही असारभित्रै गर्ने लुम्बिनी विकास कोषको तयारी छ ।  ४ अर्बको बोलपत्रमा सम्झौता भएको २ वर्षभित्र काम सक्नुपर्ने भनिएको छ । ‘ग्लोबल टेण्डर आह्वान र आउँदो आर्थिक वर्षका लागि डेढ अर्ब वजेट विनियोजन हुनुले अब गुरुयोजना छिट्टै पूरा हुन्छ’–लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भने–‘गुरुयोजनाको ८० प्रतिशत भन्दा बढी काम पूरा भइसकेको छ, बाँकी काम साढे दुई वर्षमा पक्कै पूरा हुन्छ ।’

कोषका योजना प्रमुख इन्जिनियर सरोजकुमार भट्टराईले ४ अर्बको टेण्डरमा रोड नेटवर्क अन्तर्गत करिब ६० किलोमिटर आन्तरिक सडक, ढल, पुल, कल्बर्ट, बिहार जोड्ने लिंक रोडहरु, सौन्दर्यीकरण र विद्युतीकरण लगायतका कामहरु हुने बताए ।

असारभित्र गरिने थप ३ अर्ब बराबरको टेण्डरमा नदी नियन्त्रण, फोहोर व्यवस्थापन प्रणाली र ६ वटा भवन निर्माण लगायतका काम हुने इन्जिनियर भट्टराईले बताए । गुरुयोजनाले राष्ट्रिय÷अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्परा झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको संरक्षण गरी अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रूपमा संरक्षण र सम्बद्र्धन गर्ने लक्ष्य राखेको छ ।

लुम्बिनीलाई सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले ११ सय ५५ बिघा (तीन वर्ग माइल) जमिनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय बिहार क्षेत्र, नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरेको छ । तीन वर्ग माइललाई एक÷एक वर्ग माइलमा विभाजन गरी उत्तरतर्फको क्षेत्रलाई लुम्बिनीग्राम, बीचमा रहेको दोस्रो खण्डलाई शैक्षिक, सांस्कृतिक तथा अन्तर्राष्ट्रिय बिहार तथा गुम्बाक्षेत्र भनी नामाकरण गरिएको छ । दक्षिणतर्फको क्षेत्रलाई पवित्र उद्यान भनिएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ । यहाँ बुद्धले पहिलो पटक धर्तीमा पाइला टेकेका थिए ।

लुम्बिनीबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद फखरुद्दिन खानले भने कामचलाउ सरकारका अर्थमन्त्रीले भनेजस्तो दुई वर्षमा गुरुयोजनाका काम पूरा नहुने बताउँछन् । ‘पहिलो कुरा त यो असंवैधानिक सरकारले ल्याएको वजेट हो, यसको कार्यान्वयनै शंका छ’–खानले भने–‘अर्कोतर्फ कोरोना महामारीको असर कहिलेसम्म रहने हो यकिन छैन, त्यसैले कम्तीमा तीन वर्षमा गुरुयोजना सम्पन्न हुने आशा गर्न सकिन्छ ।’

४१ वटा उद्यानका प्लटमध्ये तीनवटा तयार भएका छन् । बाँकी प्लटलाई सौन्दर्यीकरण गर्ने, उद्यान परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ ।

विगतका वर्षहरुमा न्यून वजेट विनियोजन हुंदा गुरुयोजनाका काम उल्लेख्य रुपमा अघि बढ्न नसकेकोमा पछिल्ला वर्षहरुमा वजेटको समस्या नभएकाले अब टेण्डर अवधिमै गुरुयोजना पूरा हुने कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । गुरुयोजनाका सबै काम पूरा गर्न लाग्ने ७ अर्ब वजेटको सुनिश्चितता भइसकेको र काम गर्दै जांदा बाँकी वजेट अर्को आर्थिक वर्षको वजेटमा प्राप्त हुने बताए ।

गुरुयोजनाअनुसार सबै काम पूरा भएपछि लुम्बिनी स्वर्गको टुक्रा जस्तै सुन्दर, शान्त र पवित्रस्थलको रूपमा विकास हुने कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठीले बताउंछन् ।

के के छन् गुरुयोजनामा ?

गुरुयोजनाले पवित्र उद्यान क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । त्यहाँ गौतम बुद्धले पहिलो पाइला टेकेका थिए । यो क्षेत्रलाई चारैतिरबाट पोखरी (सर्कुलर लेबी) ले घेरिएको छ । यहाँ वरिपरि नीलो पानीले घेरिएको सुन्दर बगैँचाको परिकल्पना गरिएको छ । गोलो पोखरीभित्र मायादेवी मन्दिर, पवित्र कुण्ड, अशोक स्तम्भ, पुरातात्विक महत्वका भग्नावशेषहरू, प्राचीन लुम्बिनीग्रामका अवशेषहरू मात्र रहने गरी नयाँ निर्माणका काममा रोक लगाइएको छ ।

उत्तर–पश्चिमबाट आउने बाढीको पानी यो क्षेत्रभित्र पस्न नदिन गोलाकार नहरहरू बनाइएको छ । पवित्र उद्यान क्षेत्र विश्व सम्पदा सूचीमा समावेश छ । यो क्षेत्रमा दायाँ–बायाँ वा पूर्व–पश्चिम गरी दुई क्षेत्रमा दुई/दुई सय जनासम्म साधक साधिका अटाउने ध्यानकुटी र गोलाकार नहरको बाहिर पवित्र पुरातात्विक क्षेत्रको हेरचाहका लागि पुरातात्विक कार्यालय बनाइएको छ । गोलाकार पोखरीबाहिर एउटा विशिष्ट अतिथि गृह र अर्को अति विशिष्ट अतिथि गृह बनाउने योजना छ ।

उद्यान क्षेत्रभित्र बुद्धको जन्म भएको स्थान, मायादेवी मन्दिर, मायादेवीले स्नान गरेका चिसो र तातो पानीयुक्त दुई कुण्ड, अशोक स्तम्भ र त्यसवरिपरि प्राचीन बिहार, चैत्य आदिका भग्नावेशषको संरक्षण गरी बुद्धकालीन प्राचीन बगैँचालाई झल्काउने गरी फूल तथा बिरुवा रोप्ने योजना  पनि गुरुयोजनामा छ ।

४१ वटा उद्यानका प्लटमध्ये तीनवटा तयार भएका छन् । बाँकी प्लटलाई सौन्दर्यीकरण गर्ने, उद्यान परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ ।

अहिलेको पोखरीलाई दोब्बर बढाएर घाँस तथा झार उम्रिन नमिल्ने गरी सफा गर्ने र पोखरी वरिपरिको भिरालो जमिनमा दुबो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम सुरु भएको छ । पोखरीका विभिन्न पाँच स्थानमा पानीका रंगिन फोहरा बनाउने योजना छ । पोखरीमा जलचर प्राणीहरू र चराचुरुड्गीको आगमन वृद्धि गर्न उनीहरूको बासस्थान सुरक्षित गर्दै सौन्दर्यीकरण गर्ने योजना छ ।

नयाँ लुम्बिनी ग्राम

लुम्बिनी गुरुयोजनामा बाँडिएका प्रमुख तीन क्षेत्रमध्ये उत्तरतर्फको एक वर्ग माइल क्षेत्रलाई नयाँ लुम्बिनीग्राम नामाकरण गरिएको छ । गृहस्थ जीवनमा आवश्यक पर्ने सबै प्राविधिक परियोजना समावेश गरिएको क्षेत्रलाई गुरुयोजनामा समावेश गरिएको छ । तीर्थयात्री तथा पर्यटकहरूलाई आवश्यक भौतिक सुविधा पु¥याउने धेरैजसो संरचनाहरू यो क्षेत्रमा निर्माण हुन बाँकी छन् ।

गुरुयोजनाले लुम्बिनी ग्राम क्षेत्रमा चार किसिमका विश्राम गृह बनाउने प्रस्ताव गरेको छ । जसमध्ये  एकसय बेडको सबै सुविधायुक्त विलासी होटल, १ सय ५० बेडको मध्यमस्तरको सुविधायुक्त होटल, २ सय बेडको साधारण आवासगृह र चारवटा क्याम्पिङ निर्माण गर्ने योजना बनाएको थियो । तीनस्तरका होटल सञ्चालनमा आइसकेका छन् भने क्याम्पिङ निर्माण हुन बाँकी छ ।

पर्यटक सूचना केन्द्र र लुम्बिनी विकास कोषको प्रशासनिक भवन निर्माण सम्पन्न भई सञ्चालनमा छन् भने डोम आकारका आठ वटा भवन बन्न बाँकी छन् । कोषले यी भवनलाई लुम्बिनीको धरोहरका रूपमा लिएको छ । बैंक, प्रहरी, उपचार भवन, ट्राभल एजेन्ट र रेस्टुरेन्टका लागि यस्ता भवनहरू बन्नेछन् ।

गुरुयोजना क्षेत्रभित्र नौवटा गेटमा आधुनिक सुरक्षा पोस्टहरूको निर्माण कार्य सकिएको छ  । १६ किलोमिटर लामो सुरक्षा पर्खाल निर्माण कार्य पनि पूरा भएको छ ।

३५ करोडको लागतमा खानेपापानी ट्यांकी निर्माण भइसकेको छ । ३५ करोडकै लागतमा अन्डरग्राउन्ड टेलिकम्युनिकेसन र विद्युतीय विस्तार, ३५ करोडकै लागतमा ढल निकासको काम निर्माणाधीन छन् ।

यीबाहेक केही ठूला पोखरी र केन्द्रीय नहरको विस्तारका काम बाँकी रहेका योजना प्रमुख भट्टराईले बताए । नयाँ लुम्बिनी ग्रामक्षेत्रमा १ हजार क्षमताकोे अस्थायी सभाहल निर्माण भएको छ ।

यसै क्षेत्रमा मावि तहको विद्यालय र अस्पतालको परिकल्पना गुरुयोजनाले गरेको छ । विद्यालयको नाममा लुम्बिनी गुरुयोजनाकै डिजाइनअनुसार लुम्बिनी बौद्ध विश्वविद्यालयको आवास क्षेत्र निर्माण गरिएको छ । यी भवन २० वर्ष विश्वविद्यालयले उपयोग गरेपछि विद्यालय सञ्चालन गर्ने कोषको योजना छ ।

गुरुयोजनाअनुसार पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खनन गर्न, बाँकी नहर निर्माण, नदी डाइभर्सन, सांकेतिक पेभेलियन निर्माण, विद्युतीय व्यवस्थापनका कामहरु बांकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?