Comments Add Comment

संसद विघटन मुद्दामा अदालतलाई दबाब दिन खोजियो : महान्यायाधिवक्ता

१६ जेठ, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले संसद विघटनको मुद्दामा अदालतलाई दबाब दिन खोजिएको आरोप लगाएका छन् ।

संसद विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा उनले रिट निवेदक पक्षबाट अदालतलाई दबाब दिने काम भएको आरोप लगाएका हुन् ।

‘मैले बुझेको स्वच्छ सुनुवाइ भइरहेको छैन, मिडिया ट्रायल किन भइरहेको छ ?’ उनले प्रश्न गरे । यसअघिको संसद विघटन मुद्दामा पनि रिट निवेदकले इजलासका विषयमा प्रश्न उठाएको र अहिले पनि त्यस्तै गरिरहेको बडालले बताए ।

‘यदि हामी स्वच्छ सुनुवाइ गर्छौं भने मुद्दाका पक्षले के के पालना गर्ने त्यो पनि आदेश हुनुपर्छ’ उनले भने ‘मुद्दाका पक्षले पालना गनुपर्ने विषयमा बहस पनि सँगसँगै हुनुपर्छ ।’
बडालले अघि भने ‘पक्षका तर्फबाट उपस्थित भएकाहरुले पालना गर्नुपर्ने कुरा के के हो ? फेयर ट्रायलको ग्यारेन्टी हुनुपर्छ ।’

बडालले न्यायाधीशमाथि प्रश्न उठाउनु, प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको खबर सार्वजनिक हुनु र विपक्षी दलहरुको संयुक्त बैठक बसेर गरेको निर्णयले पनि स्वच्छ सुनुवाईमा असर पारेको दावी गरे । उनले अघि भने, ‘मुद्दामा दबाब दिने स्ट्राटेजी अनुसार आउन मिल्छ कि मिल्दैन ?’

रिट निवेदकहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपल, उपेन्द्र यादव र दुर्गा पौडेलले प्रत्येक दिन केही न केही कुरा गरेर मिडिया स्ट्राटेजी चलाउने निर्णय गरेको भन्दै उनले यसले स्वच्छ सुनुवाइमा असर पार्ने जिकिर गरे ।

‘उहाँहरुको बैठकले प्रत्येक दिन केही न केही कुरो गरेर मिडियामा नजाने हो भने मुद्दा कमजोर छ मुद्दा बलियो बनाउन मिडिया स्ट्राटेजी चलाउने निर्णय गर्नुभयो’ बडालले भने ।

महान्यायाधिवक्ता बडालले संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि प्रश्न नउठाउन रिट निवेदकलाई चेतावनी दिए । उनले न्यायाधीशमाथि प्रश्न उठाउने हो भने आफूहरुले पनि निवेदन दिने बताए ।

‘फलानो न्यायाधीश हुन्छ र फलानो न्यायाधीश हुँदैन भन्ने हो भने हाम्रो पक्षबाट पनि यो हुन्न भनेर निवेदन हाल्छौं’ उनले भने ‘एउटा रिटमा १४६ जना निवेदक, अरु २५ जना निवेदक र १०० जना कानुन व्यवसायीको कुनै न कुनै न्यायाधीशलाई नाता पर्छ कि पर्दैन ?’

संवैधानिक इजलासमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि आइतबार रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएका थिए ।

न्यायाधीश श्रेष्ठले नेकपा विभाजनसम्बन्धी मुद्दा हेरेको भन्दै रिट निवेदक पक्षका कानुन व्यवसायीले उनको सहाभगितामा प्रश्न उठाएका छन् । तर महान्यायाधिवक्ता बडालले अहिले नेकपा नभई प्रधानमन्त्री विपक्षी भएकाले उनले हेर्न मिल्ने दावी गरे ।

सर्वोच्च अदालतका न्यायाधीशले सरकार विरुद्धका कुनै न कुनै मुद्दामा हेरेको भन्दै बडालले भने ‘प्रधानमन्त्री विपक्षी भएको कुनै पनि मुद्दा यो अदालतले हेर्न मिल्दैन । श्रीमानहरु सबैले सरकारविरुद्ध कुनै न कुनै मुद्दा हेर्नुभएको छ ।’ उनले अघि भने ‘यदि हेर्न मिल्छ भने यो इजलास कम्पिटेन्ट छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रघुनाथ बजगाईं

ट्रेन्डिङ

Advertisment