Comments Add Comment

विश्वकप र एसिया कप छनोट : कुवेतमा नेपालले खेल्नेछ तीन खेल

१७ जेठ, काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ ।

इराकसँग मैत्रीपूर्ण फुटबल खेलेर नेपाल गएराति कुवेत पुगेको हो । जहाँ समूह बी का बाँकी खेल हुनेछ । नेपालले पनि आफ्नो बाँकी तीन खेल कुवेतमै खेल्नेछ ।

शनिबार इराकविरुद्ध भएको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोलले पराजित भएको थियो । कुवेत र इराकको मौसम उस्तै भएकाले पनि नेपाललाई इराकमा खेल्दा केही फाइदा पुगेको छ ।

नेपालले अब जेठ २० गते चाइनिज ताईपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

नेपालले यसअघि अवे लेगको खेल तीनवटै टिमसँग खेलिसकेको छ । खासमा यी सबै खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर कोरोना महामारीले गर्दा त्यो अवसर गुम्यो र एएफसीले समूह बी को बाँकी खेल कुवेतमा गर्ने निर्णय गरेको हो ।

नेपालको स्थिति

समूह बी मा ५ खेल खेल्दा नेपालले १ जितबाट ३ अंक जोडेको छ र ५ टिममा चौथो स्थानमा छ । नेपालले अवे मैदानमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो जुन छनोटमा नेपालको गोल गरेको एक मात्र खेल समेत हो । त्यसबाहेक नेपाल अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो । यस्तै कुवेतसँग अवे मैदानमा ७–० ले पराजित भएको नेपालले होम म्याच भने भुटानको थिम्पुमा खेलेको थियो र त्यसमा १–० ले पराजित भयो ।

२०१९ मा खेलेको कुवेत विरुद्धको त्यही खेलपछि नेपालले छनोटमा खेल्न लागेको हो ।

समूह बी मा चारवटै खेल जितेको अष्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ । कुवेत र जोर्डनको समान १० अंक छ । गोलअन्तरमा कुवेत अगाडि रहँदै दोस्रो स्थानमा छ ।

अबको प्रक्रिया

विश्वकप र एसियन कपको संयुक्त छनोटको रुपमा रहेकाले यसमा दुईवटा बाटो छ । कतार विश्वकपका लागि अर्को चरणमा पुग्ने नेपालको सम्भावना लगभग सकिसकेको छ ।

एसियाली क्षेत्रमा अहिले ४० टिमले छनोट खेलिरहेको छ । जसमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको समूह विजेता ८ र उपविजेता हुनेमध्ये उत्कृष्ट चार टिम गरी कुल १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछ भने एसिया कपका लागि सिधै छनोट हुनेछ ।

नेपालको लागि यो ढोका लगभग बन्द भइसकेको छ । अब नेपालको एक मात्र लक्ष्य एसियन कपका लागि छनोट चरण खेल्ने नै हो । त्यसका लागि पनि दुई बाटा छन् ।

यदि नेपालले समूहमा दोस्रो वा तेस्रो स्थानमा सकाउन सके सिधै एसियन कपको तेस्रो चरणमा छनोट हुनेछ । यस्तै छनोटमा चौथो हुने आठमध्ये उत्कृष्ट चार टिम पनि तेस्रो चरणको छनोटका लागि छनोट हुनेछ । बाँकी चार टिम र अन्तिम हुने चार टिमले भने एसियन कपका लागि छनोट चरणमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।

नेपाल समूहमा चौथो भए पनि चौथोमध्ये उत्कृष्ट चारमा परेमा सिधै तेस्रो चरणमा पुग्नेछ । पाँचौ भएमा भने प्लेअफ खेल्नुपर्नेछ ।

नेपालको लक्ष्य र सम्भावना

नेपालको अन्तिम लक्ष्य एसिया कपमा पुग्नु नै हो । तर त्यो यात्रा त्यति सहज भने छैन । नेपालले अहिलेसम्म एसिया कप खेलेको छैन ।

यस पटक नेपालको नयाँ कुवेती प्रशिक्षकले पनि नेपालको लक्ष्य माथि पुग्ने हुनुपर्ने बताएका छन् । नेपालले अहिलेसम्म साफ समेत जित्न सकेको छैन । तर कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई अहिले नयाँ शैलीमा खेलाइरहेका छन् र युवा खेलाडी तयार पार्दैछन् ।

छनोटमा पनि नेपालको ध्यान एसिया कपमै छ । त्यसैले नेपालले चाइनिज ताइपेई र जोर्डनविरुद्धको खेलमा बढी जोड दिनुपर्नेछ । यदि नेपालले चाइनिज ताइपेईलाई हराएमा र उत्कृष्ट चौथो भित्र अटाएमा सिधै तेस्रो चरणको छनोटमा पुग्नेछ ।

जहाँ २४ टिम हुनेछ र ६ समूहमा विभाजन गरेर दुई लेगको खेल खेलाइनेछ । अनि ६ वटै समूहको विजेता र उपविजेता एसिया कपमा छनोट हुनेछ ।

यदि नेपाल छनोटअन्तर्गत समूहमा पाँचौ भएमा भने प्लेअफ खेल्नुपर्नेछ । त्यस्तो अवस्था आए नेपालले धेरै खेल्नुपर्नेछ ।

छनोटमा ८ समूहमध्ये चौथो हुने कमजोर ४ टिम र पाँचौ हुने ८ टिमले तेस्रो चरणको लागि दुई लेगको प्लेअफ खेल्नेछ । त्यसमा पहिलो चरणको प्लेअफबाट ६ टिम तेस्रो चरणमा छनोट हुनेछ ।

बाँकी ६ मध्ये ३ टिम अर्को प्लेअफबाट तेस्रो चरणको छनोटमा पुग्नेछ । प्लेअफ नकआउट फम्र्याटमा हुनेछ र दुई लेगको खेल हुनेछ । यदि टिमको गोलसंख्या बराबर भएमा अवे गोल गणना हुनेछ ।

नेपालको खेल तालिका

चाइनिज ताइपेई विरुद्ध : जुन ३ मा (जेठ २० गते)

जोर्डन विरुद्ध : जुन ७ मा (जेठ २४ गते)

अष्ट्रेलिया विरुद्ध : जुन ११ मा (जेठ २८ गते)

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गोविन्द नेपाल

ट्रेन्डिङ

Advertisment