Comments Add Comment

बजेटमा कांग्रेसको प्रतिक्रिया : जनताको आँखामा छारो हाली शासन गर्ने मनोकांक्षा

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले हचुवाको भरमा बजेटमा आएका कतिपय कार्यक्रमले दीर्घकालीन दायित्व थपिने र त्यसले अर्थतन्त्रमा गम्भीर क्षति पुग्ने प्रतिक्रिया दिएको छ ।

आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटबारे प्रत्रिक्रिया सार्वजनिक गर्दै नेपाली कांग्रेसले सामाजिक सुरक्षाका कार्यक्रमप्रति लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएको हो ।

‘सामाजिक सुरक्षाको अधिकार सबै नागरिकलाई छ, कोभिडको महामारीमा त यसको आवश्यकता अझ बढी हुन पुगेको छ । यस्तो बेला राहतका कार्यक्रमबारे गम्भीर, दीर्घकालीन र समग्र सोच र दृष्टिकोण आवश्यक छ’ कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘तर हचुवाको भरमा शुरु गरिएका कार्यक्रमको प्रभावकारिता सीमित हुने मात्र होइन, यस्ता कार्यक्रमले सिर्जना गर्ने दीर्घकालीन दायित्वले अर्थतन्त्रमा गम्भीर क्षति पुग्न सक्नेछ ।’

प्रधानमन्त्री, अर्थमन्त्री र पहुँचवाला सरकारी नेताहरुको निर्वाचन क्षेत्रमा अन्यायपूर्ण अत्याधिकरुपमा बजेट विनियोजन भएको भएको समेत कांग्रेसको आरोप छ । यसबाट आहतमा परेका नागरिकको विवेकमा अपमान भएको विज्ञप्तिमा उल्लेख छ । सरकारले आगामी वर्ष सामाजिक सुरक्षा खर्च ९८ अर्ब बाट १९० अर्ब पुग्ने अनुमान गरेको छ ।

चालु खर्चको भार थप्ने कार्यक्रमले पुँजी निर्माणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत साधन सिमित तुल्याउने भन्दै कांग्रेसले देश विकास र जनताका आर्थिक उत्थानका दिशा खासै प्रगती सम्भव नहुने बताएको छ ।

लोकतान्त्रिक मूल्य-मान्यता विपरीत बजेट ल्याइयो

कांग्रेसले प्रतिनिधि सभा विघटन गरेर आफ्नो वैधनिकता गुमाइसकेको सरकारले संसदलाई छलेर ल्याएको बजेट लोकतान्त्रिक मान्यता विपरीत भएको बताएको छ । संसद छलेर राजश्व र व्ययको विनियोजन गर्ने र ऋण उठाउने, सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कार्य लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको कांग्रेसको भनाइ छ ।

त्यस्तै बजेटबाट जनताको आँखामा छारो हाली शासन गर्न सकिन्छ भन्ने सरकारी मनोकांक्षा देखिएको पनि कांग्रेसको भनाइ छ ।

‘झण्डै साढे तीन वर्ष देखिको शासनको असफलता पछि पनि हावादारी गफबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखि बनाउन सकिन्छ भन्ने भ्रमबाट सरकार अझै मुक्त हुन सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ ।

खोप लगाउने, कोभिड संक्रमण फैलिन नदिने, संक्रमितलाई उपचार गरेर जोगाउने सरकारी जिम्मेवारी बजेट किताबमा रकम छुट्याएर मात्र पूरा नहुने कांग्रेसको भनाइ छ ।

देखाउन लायक काम नगरी ८ खर्ब ऋण बढाइयो

कांग्रेसले वर्तमान सरकारले देखाउनलायक कुनै ठोस उपलब्धि बेगर नै सार्वजनिक ऋण ८ खर्ब बढाएको भन्दै असन्तुष्टि जनाएको छ । बहिर्गमनको बेला भइसक्दा पनि गफ र अहंकारमा रमाएको सरकारको चेत अझै नफिरेको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको छ ।

गठनकालदेखि कुनै पनि आर्थिक वर्षमा २५० अर्ब पुँजीगत खर्च गर्न नसकेको यो सरकारले जेठ १५ सम्म १३३ अर्ब पुँजीगत खर्च गरेको तथ्यांक कांग्रेसले आफ्नो विज्ञप्तिमा राखेको छ ।

योजना कार्यान्वयन गर्ने क्षमता नभएको तर ‘आकाशका जुन तारा नै खसाल्न सक्छु’ भन्ने भ्रमको खेती गरी अघिल्लो निर्वाचनमा झैं जनमत प्रभावित गर्ने भन्ने सरकारी दुरासय बजेट वक्तव्यमा प्रष्ट भएको प्रतिक्रिया कांग्रेसको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment