Comments Add Comment

महामारीमा कलाकर्मीको सहयोगी हातः कसले के गरे ?

कोरोना भाइरसको दोश्रो लहर आएसँगै संक्रमितको संख्या ह्वात्तै बढ्यो । हरेक दिनजसो एक सयभन्दा बढी ब्यक्तिले ज्यान गुमाईरहेका छन् । यस्तो विषम परिस्थितिमा विभिन्न क्षेत्रका ब्यक्तिहरुले सहयोगी हात अगाडि बढाएका छन् । यसमा नेपाली कलाकर्मीहरु पनि सक्रिय देखिएका छन् ।

कोही कलाकार बिरामीका लागि अक्सिजन सिलिण्डर जुटाउन लागिपरेका छन् भने कोही कलाकार कोही पनि भोकै बस्नु नपरोस् भनेर राहत वितरणमा लागिपरेका छन् । कोरोनाका कारण काम ठप्प बनेपछि समस्यामा परेका चलचित्र प्राविधिकहरुका लागि पनि कलाकारहरुले सहयोग गरिरहेका छन् ।

सक्रिय पल शाह
कोरोना महामारीमा यो विषम परिस्थितिमा नायक पल शाह सामाजिक काममा सबैभन्दा बढी सक्रिय देखिएका छन् । अक्सिजन सिलिण्डर अभावमा नागरिकले अस्पतालको बेडमा छट्पटाउँदै ज्यान गुमाउनुपरेको समाचारहरु आउन थालेपछि उनी हाम्रो टिम नेपालसँगको सहकार्यमा सिलिण्डरको जोहो गर्दै विभिन्न अस्पतालमा अक्सिजनसहितको सिलिण्डर पुर्याउन लागिपरेका छन् ।

उनले हाम्रो टिम नेपालसँग मिलेर बारा पुगेर अक्सिजन भरेर काठमाडौंका विभिन्न अस्पतालमा सहयोग गरे । हाम्रो टिमले मजदुरहरुलाई निःशुल्क खाना समेत खुवाईरहेको छ । उनले, हाम्रो टिमलाई २ लाख रुपैयाँ सहयोग समेत गरे । उनी हालै अक्सिजन सिलिण्डर लिएर दाङ समेत पुगे । पलले गतवर्ष लकडाउनमा दैनिक मजदुरी गुमाएका चलचित्र प्राविधिकलाई ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका थिए ।

रंगशाला निर्माणसँगै सामाजिक काममा सिताराम
‘धुर्मुस–सुन्तली’ फाउण्डेशनले चितवनमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण गरिरहेको छ । रंगशाला निर्माणको काम अहिलेपनि निरन्तर जारी छ । अहिले १ सय १ कामदार रंगशाला निर्माणमा खटिएका छन् ।

रंगशाला निर्माणको काम अगाडि बढिरहेको अवस्थामा पनि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले कोरोना संक्रमितको उपचारका लागि उत्तिकै सहयोगी भूमिका निर्वाह गरे । रंगशालाको जिम्मेवारी श्रीमती कुञ्जना घिमिरेलाई सुम्पिएर उनी अक्सिजनको ब्यवस्थापनमा लागि परे । चितवनका सक्रिय युवाहरुको टिमसँग जोडिएर धुर्मुसले बारा पुगेर सिलिण्डरमा अक्सिजन भरेर ल्याएर चितवनका अस्पतालहरुमा सहयोग गरे । सक्रिय युवाहरुले आपतकालिन हेल्प डेस्क स्थापना गरी सहयोग गर्दै आइरहेका छन् ।

‘सुरुवातमा ५० वटा अक्सिजन सिलिण्डर बिपी कोइरोला मेमोरियल क्यान्सर अस्पतालमा संचालित कोभिड केन्द्रमा उपलब्ध गरायौं । त्यसपछि निरन्तर बारा पुग्दै अक्सिजन भर्दै ल्याउँदै अस्पतालमा वितरण गर्यौ’– धुर्मुसले अनलाईनखबरसँग सुनाए । उनको टिमले अहिलेसम्म ३ सय अक्सिजन सिलिण्डर चितवनका अस्पतालहरुमा वितरण गरिसकेको छ ।

विभिन्न अस्पतालमा स्वास्थ्य सामाग्रीसमेत हस्तान्तरण गरिएको कट्टेलले बताए । निःशुल्क खाना खुवाउने संस्थाका लागि खाद्य सामाग्री सहयोग गरिएको उनले बताए ।
चितवनका सक्रिय युवाहरुको संलग्नतामा रहेको हेल्प डेस्कमार्फत अप्ठयारोमा परेकाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा, रगतको व्यवस्था गर्नेदेखि मेडिकल काउन्सिलिङसम्मको सेवा दिदै आइरहेको उनको भनाई छ । रंगशाला निर्माणको काम चलिरहेकोले अहिले भने आफू रंगशालामै फर्किएको उनले बताए ।

‘रंगशालाको काम थिएन भने अझै सक्रिय भएर लाग्थेँ होला’ उनले भने, ‘तर यति धेरै जनशक्ति खटिएर रंगशालाको काम चलिरहेको छ । यताको काम पनि हेर्नुपर्यो । कर्मचारीहरुलाई पनि सुरक्षित राख्नुपर्यो ।’ समन्वयकारी भूमिका भने निरन्तर निर्वाह गर्दै आएको उनले जानकारी दिए ।

कलाकार राजाराम पौडेलले संक्रमित नागरिकलाई अक्सिजन जोहोका लागि महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसकेका छन् । उनले दुई साताअघि संक्रमितका लागि अक्सिजन जोहो गरिरहेको उक्त संस्थाको खातामा १ लाख रुपैयाँ जम्मा गरेका हुन् ।

यस्तै, नायक नाजिर हुसेनले पनि कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि महावीरकै संस्थालाई एक लाख रुपैयाँ सहयोग गरे । उनले दुई साताअघि संस्थाको खातामा एक लाख रुपैयाँ जम्मा गरेका हुन् ।

सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेर उही रोकिएका गायक रामकृष्ण ढकालले संक्रमित बिरामीहरुलाई अक्सिजन उपलब्धताकै लागि १८ लाख सहयोग जुटाएर नेपाल पठाएका छन् । उनले सो रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई पठाएका हुन् । अमेरिकामा रहेका नेपाली तथा नेपालीभाषी भुटानीहरुसँग अपिल गरेर उक्त रुपैयाँ सहयोग जुटाएको रामकृष्णले बताएका छन् । अझै पनि केही मनकारी व्यक्तिहरुले सहयोग रकम प्रदान गर्ने बचन दिएको बताउँदै त्यो रकम प्राप्त भएमा नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याइरहेका अन्य संस्थाहरूलाई सहयोगको रकम पठाउने रामकृष्णको तयारी छ ।

यस्तै, नायक पुष्प खड्काले गृहजिल्ला कैलाली लगायत सुदूरपश्चिमबासीका लागि पचास अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । उनले मैनादेवी फाउन्डेसनका केपी खनालको नेतृत्वमा महामारीमा समस्यामा परेकाहरुलाई सहयोग वितरण भइरहेको देखेपछि सोही संस्थामार्फत ५० सिलिन्डर अक्सिजन बराबरको रकम सहयोग गरेको बताएका छन् ।

नायिका मनिषा कोइरालाले बीरगञ्जको नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड, मास्क प्रदान गरेकी छिन् । आगामी दिनमा कोरोनाबाट प्रभावित नागरिकलाई सहयोग गर्न आफू तयार रहेको मनीषाले बताएकी छिन् ।

गायक आशिष सचिनले कोरोना संक्रमितहरुका लागि साढे दुई लाख रुपैयाँ बढीको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । हाल चीनमा रहेका सचिनले अक्सिजन कन्सेन्टरेटर, पीपीइ, मास्क लगायत सामग्री चीनबाट किनेर नेपाल पठाएका हुन् । एक कलाकार र सचेत नागरिकको हैसियतले स्वास्थ्य सामाग्री चीनबाट नेपाल पठाउन पाउँदा साह्रै खुसी महशुस गरेको सचिनले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

केही साता अघिदेखि केदारप्रसाद घिमिरेको टिमले पनि अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा दिईरहेका छन् । निम्न आय भएका सर्वसाधारणको सेवाका लागि भन्दै शुरु गरिएको अभियानमा नायक निखिल उप्रेती, क्याप्टेन तथा कलाकार विजय लामा, अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व आईजीपी सर्वेन्द्र खनाल, सुवास घिमिरे, कर्णबहादुर शाही, अधिवक्ता सन्जयराज अधिकारी, रामहरि शर्मा, देवेन्द्र प्रधान लगायत आबद्ध छन् ।

नायक दीलिप रायमाझी सामाजिक काममा सक्रिय देखिएका छन् । उनी र अर्का नायक रमित ढुंगानाले केही दिनअघि मोरङमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय घरधुरीलाई खाद्यान्न वितरण गरेका थिए । यस्तै, नायक रमितले काठमाडौं जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ लाई एक लाख रुपैयाँ नगद सहयोग गरेका हुन् ।

नायक अनुपविक्रम शाहीले पनि एक अनाथ आश्रमका लागि तीन महिनासम्म पुग्ने एक लाख रुपैयाँ बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेका थिए । कलाकार राज घिमिरे महामारी शुरु भएदेखि सहयोगमा जुटिरहेका छन् । उनी संक्रमित बिरामीलाई अस्पतालसम्म पुर्याउने, अक्सिजन व्यवस्थापन गर्ने लगायतका काममा सक्रिय छन् ।

नायिका श्वेता खड्काले पनि कोरोनाको दोस्रो लहरमा सहयोगी हात बढाएकी छिन् । उनले अक्सिजन खरिद गर्न तथा भोका नागरिकहरुलाई निशुल्क खाना वितरण गर्ने अभियानमा आर्थिक सहयोग गरेकी थिइन् ।

गायिका अञ्जु पन्तले सामाजिक कामका लागि भन्दै एक लाख रुपैयाँ सहयोग गरेकी छिन् । उनले अञ्जु पन्त फाउण्डेशनको तर्फबाट लामो समयदेखि निःशुल्क भोजन सेवा गरिरहेका तुलसी श्रेष्ठलाई उक्त रकम सहयोग गरेकी हुन् । अभिनेता प्रमोद अग्रहरीले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० वटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । कोरोनाका बिरामीले अक्सिजनको अभावमा अकालमा ज्यान गुमाउनु नपरोस् भनेर सहयोगी हात अगाडी बढाएको प्रमोदले बताएका छन् ।

अभिनेता जयकिशान बस्नेत पनि कोरोनाको यो परिस्थितिमा सामाजिक काममा अग्रसर देखिएका छन् । कलाकार शिशिर भण्डारी पनि सहयोगमा जुटिरहेका छन् । उनले केही बाल आश्रममा खाद्यान्न सहयोग गरेका छन् । ‘छक्का पञ्जा’का निर्मातामध्येका एक निशान बजगाइँले आफ्नो गाउँमा १० बेडको अक्सिजन सहितको आईसोलेसन वार्ड तयार गरे । यस्तै, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले कोरोना संक्रमित बिरामीका लागि अक्सिजन सहयोग गरेको थियो । इनासले ५० थान अक्सिजन सिलिण्डर काठमाडौं बालाजुस्थित जनमैत्री अस्पताललाई हस्तान्तरण गरेको थियो ।

चलचित्र प्राविधिकका लागि केही खाद्यान्न त केहीको नगद सहयोग
निषेधाज्ञाका कारण काम ठप्प हुँदा दैनिक मजदुरी गुमाएका चलचित्र प्राविधिकहरुका लागि कलाकर्मीहरुले सहयोग गरिरहेका छन् । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको पहलमा कलाकर्मीहरुले सकेको सहयोग उपलब्ध गराएका हुन् ।

कोही कलाकर्मीले खाद्यान्न सहयोग गरेका छन् भने कोहीले नगद सहयोग गरेका छन् । नगद सहयोग संघको ‘कोभिड १९ विपद् व्यवस्थापन कोष’मा जम्मा गरिएको छ ।
केही दिनअघि कलाकार विजय लामा र लामा नोर्बु पासाङ्ले ५० प्राविधिकका परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । गतसाता नायिका सुमिना घिमिरेले ४० प्राविधिक परिवारहरुका लागि एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरिन् ।

यस्तै, नायिका करिश्मा मानन्धरले आफ्नै उपस्थितिमा ३० प्राविधिक परिवारलाई खाद्यान्नसहित १५ सय रुपैयाँ नगद सहयोग गरिन् ।

समस्यामा परेका चलचित्र प्राविधिकका स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा देश तथा विदेशबाट कलाकारहरुले सहयोग गरिरहेका छन् । कलाकार निर्मल शर्मा, जीवन लुइटेल, राजबल्लभ कोईराला, निरज बराल, गणेश उप्रेती, मुकेश आचार्य, रमेश उप्रेती, प्रज्वल गिरी, रुपा राणा, कलाकार तथा निर्माता अग्रज केसी, निर्देशक महेन्द्र बुढाथोकी, श्याम भट्टराई लगायतले नगद सहयोग गरेका छन् । अहिलेसम्म ५ लाख रुपैयाँ बढी संकलन भएको प्राविधिक संघका अध्यक्ष लामाले जानकारी दिए । त्यस्तै, अहिलेसम्म १ सय ९० प्राविधिक परिवारलाई खाद्य सामाग्री राहत वितरण गरिएको उनले बताए ।

‘आजपनि रमित ढुंगाना, मुकेश ढकाल, जयकिशन बस्नेतको टिमले प्राविधिकलाई राहत वितरण गर्दै हुनुहुन्छ’ पुश्करले भने, ‘प्राविधिकहरु धेरै समस्यामा हुुनुहुन्छ । समस्यामा परेका प्राविधिक छनोट गरेर राहत वितरण गरिरहेका छौं । समस्यामा परेकालाई आर्थिक सहयोग पनि गर्दै जानेछौं । थप सहयोग संकलनका लागि पनि पहल गरिरहेका छौं ।’ पुष्करले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुशील नेपाल

ट्रेन्डिङ

Advertisment