Comments Add Comment

उपत्यकाको निषेधाज्ञा : खाद्य पसल र पूर्वाधार निर्माण खुल्ने, सार्वजनिक गाडी नचल्ने

१९ जेठ, काठमाडौं । काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ । बुधबार बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अब थपिने निषेधाज्ञामा खाद्यान्न बिक्रीको लागि किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गरिएको जानकारी दिए । बुधबार बिहान १० बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । बैठकले थप एक साता निषेधाज्ञा थप्ने तयारी समेत गरेको छ ।

भट्टराईका अनुसार काठमाडौं उपत्यकामा पूर्वाधार निर्माण पनि खुला गरिने भएको छ । निर्माण क्षेत्रमा नै कर्मचारी राखेर सञ्चालन गरिने पूर्वाधार निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर अघि बढाउन सक्ने निर्णय गर्न लागिएको भट्टराइले बताएका छन् । निर्माण सामग्री ओसार्नको लागि भने रातिको समय तोकिएको छ । हाल उपत्यकामा पूर्वाधार निर्माणमा समेत रोक लगाइएको थियो ।

अब थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक र निजी सवारी भने नखुल्ने भएको छ । भट्टराईले अहिले नै सार्वजनिक सवारी खोल्ने विषयमा छलफल नै नभएको जानकारी दिए । निजी सवारीको हकमा पनि अत्यावश्यक काम बाहेक हिँडडुलमा प्रतिबन्ध नहटाइएको भट्टराईले जानकारी दिए । कोरोनाको महामारी साम्य नभइसकेकोले अहिले नै सवारी साधन खुला गर्दा यसले समस्या जटिल हुने जिल्ला प्रशासनका अधिकारीहरुको बुझाइ छ ।

संक्रमण बढ्ने डरले आन्तरिक हवाई उडान पनि बन्द गरिएको छ । अन्तर्राष्ट्रियतर्फ भने ३ देशका लागि हरेक साता उडानको अनुमति दिइएको छ ।

यो पनि पढ्नुहोस तीन देशमा अब हरेक साता उडान, अनुमति पाए चार एयरलाइन्सले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment