Comments Add Comment

विदेशबाट फर्किएका हवाई यात्रुका लागि तोकियो ७८ क्वारेन्टिन होटल

१९ जेठ, काठमाडौं । सरकारले ७ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ । विदेशबाट फर्किएपछि शंकास्पद कोरोना संक्रमित समुदायमा नपुगुन् भन्ने उद्देश्यले क्वारेन्टिन बस्न पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको छ ।

महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा तोकिएको हो । सरकारले खाडीमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने नियम बनाएको छ ।

विभागले सार्वजनिक गरेको सूचीमा रहेका होटललाई यात्रुले क्वारेन्टिनका लागि बुक गर्न सक्नेछन् । विभागले यसअघि भारतबाट आउने यात्रुलाई राख्न तोकेका ८ होटलमा अन्य ७० वटा थप गर्दै ७८ वटाको नाम क्वारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको छ ।

सरकारले ठमेल, सुन्धारा, कलंकी क्षेत्रका होटललाई भने क्वारेन्टिन नबनाउने निर्णय गरेको छ । हाल नेपालले पहिलो चरणमा टर्की, कतार, चीन र भारतमा नियमित हवाई उडान सञ्चालनमा ल्याएको छ ।

कुन–कुन होटलमा बस्छ सकिन्छ क्वारेन्टिन ?

विभागले काठमाडौंका सांग्रिला, होटल र्‍याडिसन, होटल याक एण्ड यती, हायात रिजेन्सी, सोल्टी, अलफ्ट होटल र एभरेष्ट होटल गरी ७ वटा पाँचतारे होटललाई क्वारेन्टिन तोकेको छ ।

यी होटल सञ्चालकले २५ भन्दा बढी कोठा क्वारेन्टिन बनाउन सहमत भएका छन् । चारतारे स्तरका होटल शंकर र होटल हिमालयसमेत क्वारेन्टिन होटलमा सूचीकृत भएका छन् । तीनतारे स्तरका समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्कमा समेत यात्रुले क्वारेन्टिन बस्न सक्ने छन् ।

यसबाहेक पर्यटनस्तरका ५१ होटल र दुई रिसोर्ट पनि क्वारेन्टिन सूचीमा समावेश छन् । रिसोर्टमा बुढानीलकण्ठस्थित पार्क भिलेज र गोकर्ण फरेष्ट रिसोर्ट समावेश छ । पर्यटकस्तरीय होटेलमा धुलिखेल लज रिसोर्टलाई यो सूचिमा राखिएको छ ।

तारे होटलले आफैं शुल्क तोक्ने, अरुको ३ हजार

क्वारेन्टिन बसेवापत लिने शुल्क भने सरकारले तारे होटलको तोकेको छैन । ती होटल स्वयंले मूल्य तोक्न सक्ने जनाएको छ । तर पर्यटनस्तरका होटलको दैनिक शुल्क भने ३ हजार रुपैयाँ तोकिएको छ । यसभित्र बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खानासमेत पर्छ ।

महानिर्देशक तामाङका अनुसार क्वारेन्टिन तोकिएको होटलमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला स्थान र बगैंचा हुनुपर्छ ।

होटल क्वारेन्टिनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमुना संकलनका लागि समेत पर्याप्त स्थान भएको हुनुपर्ने शर्त राखिएको छ ।

होटलको कोठामा टिभी, वाईफाईको सुविधा अनिवार्य गरिएको छ । अट्याच ट्वाइलेट र नुहाउन तथा पिउने तातोपानीको व्यवस्था गर्नुपर्छ । होटलले खाना र अन्य सेवा कोठामा वा प्यासेजमा मात्र प्रदान गर्नुपर्छ ।

होटलले सामूहिक रुपमा खाना खाने स्थान, बुफे, जिम, साउना, इण्डोर तथा आउटडोर गेम भने पूर्ण रुपमा बन्द गरेको हुनुपर्छ । नेपाली तथा विदेशी नागरिक विदेशबाट आउँदा पालना गर्नुपर्ने आदेश २०७८ को भने पूर्ण पालना गर्नुपर्ने गरी नियम बनाइएको छ ।

हेर्नुहोस् क्वारेन्टिन होटलको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

ट्रेन्डिङ

Advertisment