Comments Add Comment

विश्वकप छनोट : चाइनिज ताइपेईविरुद्ध दोस्रो जितको प्रतीक्षामा नेपाल

१९ जेठ काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण बिहीबार सुरु हुँदैछ ।

कुवेतमा हुने समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले आफ्नो पहिलो खेल बिहीबार चाइनिज ताइपेईसँग खेल्दैछ, त्यसै समयमा अष्ट्रेलिया र घरेलु टोली कुवेतबीच पनि खेल हुँदैछ ।

नेपाल र चाइनिज ताइपेईलाई सन् २०२२ को कतार विश्वकप छनोटको अर्को चरणमा पुग्न कठिन छ । अझ चाइनिज ताइपेई त विश्वकपको तेस्रो चरणमा पुग्ने होडबाट बाहिरिसकेको छ । नेपाल अंकगणितीय रुपमा त्यो होडमा कायम छ तर त्यहाँ पुग्न असम्भवजस्तै छ ।

अष्ट्रेलिया, कुवेत र जोर्डन विश्वकप छनोटको तेस्रो चरण पुग्ने होडमा छन् । अहिलेसम्मको चार खेलमा शतप्रतिशत जितको नतिजासहित अष्ट्रेलिया १२ अंक जोडेर शीर्ष स्थानमा छ । ५ खेलबाट कुवेत र जोर्डनको समान १० अंक छ । नेपालले एक जितबाट ३ अंक जोडेको छ र चाइनिज ताइपेई पाँचै खेल हार्दा अंकविहीन छ ।

समूह बी का शीर्ष ३ टिम समूह विजेता बन्दै विश्वकपको तेस्रो चरणमा पुगेर एसिया कपमा सिधै छनोट हुन चाहन्छन् । नेपाल र चाइनिज ताइपेई भने समूहमा चौथो बन्ने एसियाका ८ टिममध्ये उत्कृष्ट चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने लक्ष्यमा छ ।

एसियामा कुल २४ टिमले अन्तिम चरणको छनोट खेल्नेछ भने त्यसबाट १२ टिम चीनमा हुने एसिया कपमा छनोट हुनेछ । नेपालको अहिलेको लक्ष्य भनेको विश्वकप नभई एसिया कपमा छनोट हुने हो र चाइनिज ताइपेईको चाहना पनि त्यही हो ।

अर्कोतर्फ समूह एमा रहेको उत्तर कोरियाले छनोट चरणका बाँकी खेल नखेल्ने निर्णय गरेपछि यसको पूरा असर बाँकी ७ टिमलाई परेको छ ।

सबै समूहको अंकको हिसाब मिलाउन एएफसीले समूह चरणका सबै खेल सकिएपछि हरेक समूहमा दोस्रो हुने र पाँचौ हुने टिमको खेलको अंक नगन्ने निर्णय गरेको छ । त्यस्तै चौथो हुने र पाँचौ हुने बीचको खेलको नतिजा पनि गणना हुने छैन । उत्तर कोरियाले यसअघि खेलेका सबै खेलको नतिजा रद्द भएको छ भने बाँकी खेल पनि रद्द गरिएको छ ।

यस्तो अवस्थामा अब नेपालले समूहमा चौथो हुँदै ८ मध्ये उत्कृष्ट चारमा पर्न चाइनिज ताइपेईलाई हराएर मात्र हुँदैन जोर्डनलाई समेत हराउनुपर्ने दबाब छ ।

नेपालले आफूसँग भएको ३ अंक समूहको अन्तिममा रहेको चाइनिज ताइपेई विरुद्ध जोडेको थियो । त्यसैले ८ वटै टिमको चौथो स्थानमा रहने टिमहरुमध्ये नेपाल अहिले आठौं स्थानमा छ । शीर्ष चारमा पर्न कम्तीमा पनि नेपालले जोर्डनलाई हराउनैपर्नेछ जुन नेपालको लागि कठिन छ ।

जोर्डनसंग नेपालले अहिलेसम्म ३ खेल खेल्दा २ मा हार बेहोरेको छ भने एक खेल बराबरी गरेको छ ।

अहिले खेल हुने कुवेत जोर्डनको लागि सुहाउँदो छ भने नेपालको लागि उच्च तापक्रममा खेल्नु चुनौती नै छ । भलै नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेर कुवेतको वातावरणमा केही अभ्यस्त हुने अवसर पाएको छ ।

चाइनिज ताइपेईको लागि पनि नेपाललाई हराएर मात्र हुने छैन उत्कृष्ट चौथो हुने हो भने जोर्डनलाई पनि हराउनुपर्नेछ ।

यदि चौथो स्थानमा रहेर सबै समूहको चौथोमध्ये उत्कृष्ट चारमा पर्न नसकेको नेपाल वा चाइनिज ताइपेई जो भएपनि एसिया कपको तेस्रो चरणमा पुग्ने सिधा बाटो बन्द हुनेछ ।

यस्तो अवस्थामा फेरि प्लेअफ खेल्दै तेस्रो चरणको छनोटमा पुग्ने अवसर त हुनेछ तर त्यो उत्तिकै कठिन पनि हुनेछ । प्लेअफका खेलहरु दुई लेगको र नकआउट हुनेछ । प्लेअफ पनि दुई चरणमा हुनेछ । पहिलो चरणमा प्लेअफ हार्नेले अर्को अवसर पनि पाउनेछ ।

चाइनिज ताइपेईसग नेपाल अपराजित

अहिलेसम्म चाइनिज ताइपेइसँग खेलेका दुई खेलमा नेपाल अपराजित छ । नेपालले विश्वकप छनोटको खेलमा चाइनिज ताइपेईलाई हराएको थियो भने एक मैत्रीपूर्ण खेलमा बराबरीको नतिजा निकालेको थियो ।

नेपाल र चाइनिज ताइपेई पहिलो पटक भिड्दा अभिषेक रिजालले डेब्यु गोल गरेका थिए । यस्तै २०१९ मा भएको विश्वकप छनोटमा नेपालले जित्दा अन्जन विष्टले दुवै गोल गरेका थिए । अहिले दुवै जना नेपाली टोलीसँगै कुवेतमा छन् ।

छनोट चरणमा पाँच खेल खेल्दा नेपालले जितेको एक मात्र खेल चाइनिज ताइपेइविरुद्ध नै हो । चाइनिज ताइपेई विरुद्ध खेलेका १० खेलाडी अहिले पनि नेपाली टिममा छन् ।

फिफा वरीयतामा चाइनिज ताइपेई नेपालभन्दा ३० स्थान माथि छ । फिफाले पछिल्लो पटक जारी गरेको वरीयतामा नेपाल १७१ औं स्थानमा छ । चाइनिज ताइपेई १४१ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment